नेपालीहरूको महान चाँड बडादसैं अहिले चलिरहेको छ। आश्विन शुक्ल प्रतिपदाका दिन प्रत्येकको घर–घरमा घटस्थापना गरी दसैंको शुरुवात गरिन्छ। यो क्रम नौ दिनसम्म चल्छ। यी नौ दिनमा नवदुर्गाका विभिन्न नौ स्वरुपको पुजाआजाका साथै विभिन्न नामले चर्चा परिचर्चा पनि गरिन्छ। सामाजिक सद्भाव र उमंगको यो पर्वसँग विभिन्न सांस्कृतिक, धार्मिक पक्ष जोडिएको छ। दसैं खासगरी असत्यमाथि सत्यको जीत हुन्छ भन्ने प्रतीकात्मक सन्देशसँगै मनाइन्छ। नवदुर्गाले समग्र नारी शक्तिको समेत प्रतिनिधित्व गर्ने धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ। अर्थात एक स्त्रीको पूरा जीवनको एक जीवनचक्रको बिम्ब र प्रतिबिम्ब हो नारीको नवदुर्गाको नौ स्वरूप। बडा दसैंमा नवदुर्गाका यी नौ रूप पनि वर्तमान नारीले धारण गरेकै रूप हुन्। जसबाट नारीहरू आफैँ अनविज्ञ छन्।
१) शैलपुत्री
जब एक कन्याले जन्मग्रहण गरेको हुन्छ, कन्याको त्यस स्वरूपको अवस्थालाई ‘शैलपुत्री’ भनिन्छ। शैलपुत्री भनेको एउटा छोरीको रूप हो। शास्त्रमा पुजिने नवदुर्गाको पहिलो रूप नवजात शिशु बालिकाको रूप हो। जबकी हाम्रो समाजमा कुनै पनि महिला गर्भवति हुन्छिन् भने उनको घरपरिवार सबैको चाहना छोरा होस् भन्ने हुन्छ। नचाहेरै जन्मिने छोरीलाई पुज्न त का जन्मिने बित्तिकै छोरी भन्दै नाक खुम्च्याउछन्। त्यतिमात्रै होइन एउटी छोरी जन्मिने वित्तिकै अर्कोपटक गर्भमै जाँचेर तुहाउने गरिन्छ। समाज जसिुकै विकसित भए पनि अझैँ तीन प्रतिशत महिला गर्भमा छोरी भए गर्भपतन गर्ने गरेको एक तथ्याँकले देखाएको छ।
२) ‘ब्रह्मचारिणी’
जन्मपछि सबै शीलस्वभावमा शैलपुत्री हुने विस्तारै कौमार्य अवस्थासम्म प्रवेश गरेको हुन्छ। त्यो स्वरूपको अवस्थालाई ‘ब्रह्मचारिणी’ भनिन्छ। यो नवदुर्गाको दोस्रो रूप नारीको किशोरावस्थाको समय हो। यो रूप पनि शास्त्रमा मात्रै पुजिएको छ। हाम्रो समाजमा ‘ब्रह्मचारिणी’हरु उच्च जोखिममा छन्। गर्भैदेखी असुरक्षित हुने छोरी किशोरावस्थामा पुग्दा अझ असुरक्षित हुन्छिन्। जस्तै निर्मला पन्त, सम्झना बिक जस्ता सयौं किशोरीहरू बलात्कार तथा हत्याको शिकार भएका छन्। नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार हुने गरेका छन्। नजीकको छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरू बलात्कार शिकार हुने गरेको तथ्याङ्क छ।
३) ‘चन्द्रघण्टा’
ब्रह्मचारिणी नियमदेखि विवाह पूर्वसम्म एक कन्या चन्द्रमा जस्तै निर्मल हुने भएको हुनाले त्यो स्वरूपको अवस्थामा नारीलाई ‘चन्द्रघण्टा’ भनिन्छ। यो नवदुर्गाको तेस्रो रुप हो। यो अवस्था भनेको नारीको यौवनको अवस्था हो। जुन अवस्थामा उनी रूप र गुणले भरिपूर्ण हुन्छिन्। उनी कसैकी धर्मपत्नी बन्न योग्य हुन्छिन्। यो उमेरका महिलाहरूलाई हाम्रो समाजमा फूलको संज्ञा दिइन्छ। जसले पनि चुँडेर लैजान सक्ने। थोरै युवतिहरू मात्रै आफ्नो रोजाइमा बिहे गरेर सुखी जीवन विताइरहेका छन्। पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जाल फेसबुकका कारण पुरुषहरूको झुटो मायाजालमा परी धोका खाएका छन्। कति युवती कसैको प्रेम प्रस्ताव स्विकार नगर्दा एसिड आक्रमणको सिकार भएका छन्। जस्तै मुसकान खातुन, पवित्रा कार्कीलगायतका युवतिहरू अर्थात चन्द्रघण्टाहरू यहाँ पुजिनुको साँटो अनेक थरी हिँसा सहन बाध्य छन्।
४) ‘कूष्माण्डा’
चन्द्रघण्टाको नियमदेखी विवाह सम्पन्न भए पश्चातको ब्रह्मविधान अनुसार नयाँ सृष्टि को लागि गर्भधारण गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कूष्माण्डा’ भनिन्छ। यो नवदुर्गाको चौथो रूप हो। यो अवस्था भनेको नारीको गर्भावस्था हो। जुन अवस्थामा उनी आमा बन्न योग्य हुन्छिन्।
५. स्कन्दमाता’
कुष्माण्डा नियमदेखी गर्भधारण गर्ने र गर्भधारणपछि सन्तानलाई जन्मदिन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘स्कन्दमाता’ भनिन्छ। यो नवदुर्गाको पाँचौं रूप हो। यो अवस्था भनेको नारीको आमा बन्ने अवस्था हो। जुन अवस्थामा उनी ठूलो दुःख पीडा सहेर अर्को प्राणीलाई जन्म दिन्छिन्।
६. ‘कात्यायनी’
आफ्नो सन्तानलाई जन्म दिएर सन्तानको रेखदेख र सम्पूर्ण परिवारलाई रेखदेख गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कात्यायनी’ भनिन्छ। यो नवदुर्गाको छैठौं रूप हो। यो अवस्था भनेको नारीको आमा भइसकेपछिको अवस्था हो। जुन अवस्थामा उनी आमासँगै एउटा धर्मपत्नी, बुहारी, भाउजु, जेठानी, देउरानी, छोरीलगायत सम्पूर्ण जिम्मेवारीले घेरिएकी हुन्छिन् र पनि सजिलै जिम्मेवारी पुरा गर्न सक्ने क्षमता उनीमा हुन्छ।
७. ‘कालरात्री’
सन्तानको रेखदेख र संरक्षण गर्नसक्ने क्षमतादेखी लिएर कुनै समस्या परेमा, आफ्नो पतिलाई पनि आफ्नो दृढ संकल्पद्वारा नै अकाल मृत्यु हुनबाट बचाउन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कालरात्री’ भनिन्छ। यो नवदुर्गाको सातौं रूप हो। यो अवस्था भनेको नारीको सन्तान हुर्काउँदै भविष्यको बारेमा सोच्ने समय हो। जुन अवस्थामा उनी आफ्नो पतिको रक्षा गर्छिन्। भविष्यको बारेमा पतिलाई सल्लाह दिन्छिन्, उसको हरेक सुख दुःखमा साथ दिन्छन्, यदि पति कुनै अप्ठेरो अवस्थामा छ भने उसको कठिन परिस्थितिमा काली बनेर लड्न तयार हुन्छिन्।
८.‘महांगौरी’
आफ्नो पतिको संरक्षणको लागि मृत्युसँग पनि लड्ने क्षमतादेखी लिएर यस संसारको आफू र आफ्नो पतिको (नाता आफन्त नै उसको लागि संसार हो) उपकार गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘महांगौरी’ भनिन्छ। यो नवदुर्गाको आठौं रूप हो। यो अवस्था भनेको नारीले आफ्नो सबै समय घरपविारका लागि खर्च गर्ने समय हो। जुन रूपमा उनी आफैँलाई नै भुलेर सासु, ससुरा, जेठानी देउरानी, नन्द आमाजू, भाञ्जा, भाञ्जीलगायत आफ्नो पतिको नाता गोतालाई आफ्नो संसार ठानेर रमाउछिन्। त्यो क्षमता उनीसँग हुन्छ।
९. ‘सिद्धिदात्री’
पतिको सम्पूर्ण कार्य सम्हाल्ने क्षमतादेखी लिएर यस संसारको अन्तिम सत्य प्राप्त गरेर मृत्युलोक छोडेर स्वर्ग प्रयाण गर्नु भन्दा पहिले संसारमा आफ्नो सन्तानको सिद्धि (सुख, शान्ति) प्राप्त होस भनेर आशिर्वाद दिने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘सिद्धिदात्री’ भनिन्छ। यो नवदुर्गाको नवौं अर्थात अन्तिम रूप हो। यो अवस्था भनेको नारीको अन्तिम अवस्था हो। जुन रूपमा उनी आफ्नो अवस्थामा पनि आफ्नो परिवारकै बारेमा सोच्छिन्। आफ्ना सन्तानहरू छोरा बुहारी, छोरी–ज्वाइ र नाति नातीनाको शुख, शान्तिका लागि तीर्थब्रत गर्छिन् र आशिस दिन्छिन्।
यो सवै कुराहरू गहिरिएर सोच्ने हो भने आखिर पुजिनु पर्ने त यहाँ नारी नै रैछ नि हैन र? तर, खै त हाम्रो समाजमा शैलपुत्रीको नाममा छोरीहरू पुजिएका, ब्रहमचारीणीको नाममा किशोरीहरू पुजिएका, चन्द्रघण्टाको नाममा धर्मपत्नीहरू पुजिएका, कुष्माण्डाको नाममा गर्भवतीहरू पुजिएका, कात्यायीनीको नाममा आमाहरू पुजिएका, स्कन्द मताको नाममा बुहारीहरु पुजिएका, कालरात्रीको नाममा महिलाहरू पुजिएका, महांगौरीको नाममा भाउजू, जेठानी, देउरानीहरु पुजिएका र सिद्धिदात्रीको नाममा सासुहरू पुजिएका।
तर, यहाँ त शैलपुत्रीहरूलाई गभैमै तुहाइन्छ, राम्रो शिक्षा दिक्षा दिँइदैन, ब्रह्मचारीणीहरू आफन्त भनिने दानवरुपी पुरुषहरूबाट बलात्कृत हुन्छिन्। हजारौं चन्द्रघण्टाहरू आफ्नै पतिबाट पीडत छिन्। कयौं कुष्माण्डाहरू बाध्यताले गर्भ बोकीरहेका छन्। कयौं कात्यायनीहरू समाजमा बाँच्न नसकेर सन्तानसहित मर्न बाध्य छन्। कयौं स्कन्दमाताहरू आफ्नै नातागोतसँग मिलेर बस्न सक्ने अवस्था छैन। कयौं कालीहरू आफ्नो पतिको सुरक्षा गर्न सक्दैनन्। र, सयौं सिद्धदात्रीहरू विभिन्न आश्रममा रुँदै दिन विताइरहेका छन्।
जबसम्म नारीका यी ९ रूपलाई हाम्रो समाजले पुज्दैन र सम्मान गर्दैन तबसम्म यी काल्पनिक नवदर्गाका नौ रूपलाई पुज्नुको कुनै अर्थ छैन। तर, यसको अर्थ नवदुर्गालाई हामीले मान्नु हुँदैन भन्न खोजेको होइन। पुर्खौंदेखी हामीले नवदुर्गालाई पुज्दै आएका छौं र पुज्नु पनि पर्छ। तर, काल्पनिक नवदुर्गाका नौ रुपलाई देवीको रूपमा पुजा गर्न हामीले किन नारीका नौ रूपलाई पुज्न सक्दैनौं त? नवदुर्गाले पनि तिनै काम गरेकी छिन्, जुन वर्तमान नारीले गर्दै आएकी छिन्।
तसर्थ छोरी, श्रीमती, बुहारी, आमा, सासुलगायत नारीका यी सवै रूपलाई हाम्रो समाजमा पनि पुजियोस्। त्यसपछि हाम्रा संस्कृती र परम्पराले पनि सार्थकता पाउनेछ। सम्पूर्ण नेपालीहरूलाई बडा दसैंको शुभकामना।