काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर ४ गने हुने निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका ५५० जनाको उमेदवारी रद्द गरेको छ। बन्दसूचीमा रहेका ६ हजार ४५७ उमेदवारमध्ये आयोगले ५५० जनाको उमेदवारी रद्द गरेको हो।
राजीनिक दलले पेस गरेको बन्दसूची उपर जाँचबुझ गरेर आसोज २२ गते आयोगले पहिलो चरणको बन्दसूची प्रकाशन गरेको थियो। २३ देखि २९ गतेसम्म दाबी विरोध र उजुरीका लागि समय तोकिएको थियो। उक्त सयमा आएका दाबी विरोध र उजुरीको छानबिन तथा अध्ययन गरेर निर्वाचन अधिकृतको कार्यालयले गरेको सिफारिका आधारमा आयोगले मादण्डभित्र नपरेका उमेदवारको नाम बन्दसूचीबाट हटाएको हो।
जसमध्ये उमेर नपुगेका ५२ जना, प्रदेशसभा र प्रतिनिधिसभा दुवैतार्फ दोहोरो उमेदवारी दिने अथवा एकै व्यक्तिको नाम दुई वा सोभन्दा धेरै दलमा उमेदवारी दिने ६६ जना रहेका निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।
उनका अनुसार मतदाता नामावलीमा नाम नभएका ६ जना, सम्बन्धित प्रदेशको मतदाता भएको आवश्यक पर्ने तर सम्बन्धित प्रदेशभन्दा बाहिरका १२ जना, लैंगिक पहिचान फरक परेका अथवा महिलालाई पुरुष र पुरुषलाई महिला भनेर उल्लेख गर्ने ३७ जनाको नाम बन्दसूचीबाट हटाइएको हो।
कागजात नभएका ६ जना, स्थानीय तहको निर्वाचनमा उठेर निर्वाचन खर्च विवरण नबुझाउने ३६९, लाभको पदमा रहने १ जना, कालोसूचीमा रहेका १ गरी कूल ५५० जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको सचिव दुवाडीले स्पष्ट पारे।