नेपालमा भविष्य छैन सोच्थेँ, लोकसेवाले विदेश मोह तोड्दै अधिकृत बनाइदियो - Chaitanya News
  • 2026-04-30
  • 16:57:25
  • बिहिबार,बैशाख १७, २०८३
  • नेपालमा भविष्य छैन सोच्थेँ, लोकसेवाले विदेश मोह तोड्दै अधिकृत बनाइदियो

    नेपालमा भविष्य छैन सोच्थेँ, लोकसेवाले विदेश मोह तोड्दै अधिकृत बनाइदियो

    कुरा २०७२ सालको हो, त्यो बेला विदेश जाने यति धेरै हुटहुटी रहेको थियो। म ११/१२ कक्षा सकेपछि ब्याचलरमा बिएसी एजी पढ्छु अनि इजरायल जान्छु भन्ने मनसायमा थिएँ। र, त्यहाँबाट राम्रो पढाइ पुरा गरेर विदेशतिरै सेटल हुन्छु भन्ने सोच थियो।

    प्रवीणता प्रमाणपत्र तह (+२) को अध्ययन गरेपश्चात् त्यसैको तयारीको लागि १ वर्ष लगाएर स्वअध्ययन गरियो। मिहेनत लगाएर अध्ययन सकेपछि इन्ट्रान्स परीक्षा दिँदा आधा छात्रवितृमा बैतडीमा बिएससी एजी पढ्ने अवसर मिल्यो। घरबाट टाढा भएको र कहिल्यै घर छाडेर नगएको दुर्गम गाउँ कोही आफन्त चिनजानको व्यक्ति पनि नभएको कारणले गर्दा घरबाट पनि नजाऊ भन्ने सल्लाहले मैले उक्त विषय पढिनँ।

    त्यसपछि अब बिएससी नै पढ्नु पर्छ भन्ने सोच राखेर घरबाट नजिकैको सहर बुटवलमा अध्ययनको लागि झरियो। बुटवलमा बिएससी अध्ययन गर्दागर्दै मनोज कँडेल भन्ने साथीसँग भेट भयो। त्यसपछि मेरो जीवनले नयाँ मोड लियो।

    बुटवलमा साथीले लोकसेवा तयारी गरौँ भन्ने सल्लाह अनुसार दुई जना साथी मिलेर स्नातक प्रथम वर्षको कक्षासँगै लोकसेवाको तयारी गर्न थाल्यौँ। सानैदेखि जिके र आइक्युमा राम्रो रुची भएकाले प्रथमपत्र तयारी गर्न धेरै सहज भयो। दोश्रो पत्र केही कठिन पक्कै भयो। दुई जनाले सुरुको वर्ष २०७४ सालमा खरिदार, नेपाल प्रहरीको असई, विद्युत प्राधिकरणको चौथो र पाँचौँ तह, नेपाली सेनाको अधिकृत क्याडेट गरी ५ वटा क्षेत्रमा फर्म भर्यौँ। दुवैजनाले सँगै बसेर तयारी गर्ने, परीक्षा दिनको लागि इन्स्टिच्युट जाने, कलेजमा भने प्राक्टिकल गर्नको लागि मात्रै जाने गर्दथ्यौँ। विस्तारै मैले नेपाल प्रहरीको असई बाहेकका अन्य सबै परीक्षा दिएँ, परीक्षा तयारी गरेजस्तो राम्रो भएको थिएन तथापि २०७४ को फागुनमा पहिलो पटक खरिदारको लिखित र अधिकृत क्याडेटको दोश्रो चरणको रिजल्ट आयो त्यसमा नाम देखेपश्चात जीवनको सबैभन्दा ठूलो खुसी सायद यही हो भन्ने लाग्यो।

    खरिदारको अन्तर्वार्ता र अधिकृत क्याडेटको अन्तिम चरणको परीक्षा एकै दिन जुधेपछि मैले खरिदारमा जाने निधो गरी २०७४÷१२÷०३ गते अन्तिम सूचीमा नेपाल प्रशासन समुहमा आफ्नो नाम देख्दा खुसीको कुनै सिमाना नै थिएन। पहिलो पटक लोकसेवाको परीक्षा दिएको, सोही रिजल्टमा नाम आएको र लोकसेवाप्रति बजारमा देखिएको क्रेजको कारणले गर्दा मन चङ्गा भएको थियो। साथीको पनि नेपाल प्रहरीको असईमा नाम निस्केको थियो। हामी दुवैले सँगै देखेको देशको सेवा गर्ने सपना सँगै पुरा भएको थियो।

    खरिदारको नतिजासँगै नायब सुब्बाको परीक्षा पनि दिएको थिएँ। सोही समयमा नेपाल विद्युत प्राधिकरणको चौथो र पाँचौ तहमा दुवैमा लिखितमा नाम निस्कियो। निजामती सेवामा प्रवेश गरेको र निजामती तिरको बढी लगावले गर्दा विद्युत प्राधिकरणतर्फ जान मन लागेन। जसको कारणले अन्तरवार्तामै समावेश भइनँ। २०७५/०५/२० गते पुनः नायब सुब्बामा नेपाल न्याय सेवामा पोष्टिङ भएँ।

    निजामती सेवामा प्रवेश गर्ने र गरेकाहरूको लागि शाखा अधिकृतको जागिर एउटा सपना नै हुन्छ। मेरो लागि पनि त्यो एउटा सपना नै थियो।

    नायब सुब्बामा पोस्टिङ भएपश्चात् मेरो लागि धेरै चुनौती थिए। बुटवलमा विएससीको दोश्रो वर्ष चलेको थियो जागिर रुकुमकोट जिल्ला अदालतमा पोष्टिङ भएको थियो। जसको कारणले पढाई र जागिरलाई सँगै लैजान गाह्रो महसुस गरी स्नातकमा अलि सहज हुने खालको विषय राजनीतिशास्त्र रोजेर ३ वर्षे स्नातक गर्नको लागि सोहीमा भर्ना भएँ। न्याय सेवामा काम गरिरहेको, आफू भरखर स्नातक पढ्न थालेको हुँदा अबका ३ वर्ष कसरी बस्ने भन्ने थियो। सोही क्रममा मेरो उच्च अदालत तुलसीपुरमा काज सरुवा भई त्यहाँ आएपश्चात् लोकसेवाका इन्स्टिच्युटहरूमा पढाउन सुरु गरेँ जसले मेरो व्यक्तित्व विकासमा धेरै ठूलो योगदान दिएको छ। त्यसपश्चात् बुटवलमा सरुवा भई त्यहाँ पनि लोकसेवाका कक्षाहरू पढाउँदै, आफूले पढ्दै आफ्नो लोकसेवाको अध्ययनलाई निरन्तरता नै दिएको थिएँ। विश्वमा फैलिएको कोभिड–१९ महामारी र त्यसमा थप त्रिभुवन विश्ववविद्यालयको लापरवाही लगायतका कारणले ३ वर्षमा सकिनुपर्ने मेरो स्नातकको पढाई पुरा गर्न ५ वर्ष नै लाग्यो। २०७९ सालमा स्नातक उत्तीर्ण गरेसँगै जसरी हुन्छ शाखा अधिकृतको जागिर खानुपर्छ भन्ने नै मनमा रहेको थियो।

    निजामती सेवामा प्रवेश गर्ने र गरेकाहरूको लागि शाखा अधिकृतको जागिर एउटा सपना नै हुन्छ। मेरो लागि पनि त्यो एउटा सपना नै थियो। सपनालाई पछ्याउँदै म पनि २०७९ पौषमा काठमाडौँमा आउने मौका पाएँ। जागिरसँगै पढाइलाई निरन्तरता दिँदै लोकसेवाले लिएको शाखा अधिकृतको परीक्षामा पहिलो पटकमा आफूले रोजेको समुह सामान्य प्रशासन समूहमा सिफारिस हुन पाएँ। निजामती सेवामा झण्डै साढे पाँच वर्ष काम गर्दा विभिन्न स्थानमा विभिन्न भूमिकामा रहेर काम गर्ने अनुभव मिल्यो। शाखा अधिकृत मेरो एउटा सपना थियो। मेरो मात्रै नभएर मेरो परिवारकै एउटा सपना हो।

    मलाई यो क्षेत्रमा प्रवेश गरेपश्चात सबैभन्दा धेरै सोधिएको प्रश्न छन? जसको उत्तर मलाई यही निजामती सेवामा रहेर खोज्नु छ। मलाई किन यो प्रश्न सोधियो? त्यसको उत्तर पनि जान्न मन छ।

    १.शाखा अधिकृतको परीक्षामा अगाडि नै नाम निकालेर पनि किन राजश्व समूह नरोजेर सामान्य प्रशासन समूह रोज्नु भयो?

    २.अब स्थानीय तहमा अहिले प्रमुख प्रशासकिय अधिकृतको रुपमा तपाईँलाई पठाउँछ होला, अहिले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिहरूको बीचमा टकरावको अवस्था रहेको छ, यस्तो अवस्थामा तपाईँले कसरी काम गर्नुहुन्छ?

    ३.विदेश जाने यस्तो क्रेज छ, विदेश जानेहरूको करियर पनि राम्रो बनेको छ, अनि तपाईँले किन निजामती सेवामा रहने सोच्नुभयो?

    यी ३ प्रश्नहरू म सिफारिस भएको दिनदेखि सुनिरहेको छु। यी प्रश्न स्वभाविक नै हो। मेरो नजर र मेरो विचारमा मैले यी प्रश्नहरूको उत्तर दिने प्रयत्न पनि गरेको छु।

    चुनौतीलाई हटाउँदै, अवसरको सदुपयोग गरी स्थानीय तहमा काम गर्न मन छ।

    पहिलो प्रश्नः शाखा अधिकृतमा अगाडि नै नाम निकालेर पनि किन राजश्व नरोजेको भन्ने प्रश्नका सन्दर्भमा मैले ५ वर्ष न्याय सेवामा काम गरेको छु। मलाई सबैभन्दा धेरै जनतासँग मिलेर काम गर्न मनपर्छ, ग्राउण्ड लेभलका नागरिकसँग साक्षात्कार गर्न मन पर्छ, उनीहरूलाई राज्यले पु¥याउनुपर्ने सेवा पुर्‍याई ओठमा आएको हाँसो हेर्न मनपर्छ, गोजीबाट निस्किएको बक्सिस भन्दा मुखबाट दिएको आशिष मनपर्छ त्यसैले मलाई प्रशासन समूह मनपर्छ। म आफूले रोजेको विषयमा कन्फिडेन्ट नै थिएँ तर हरेक बधाईसँगै आउने एउटै प्रश्न “अनि किन राजश्व छाडेर प्रशासन रोजेको?……….” यो प्रश्नले मलाई सोँच्न बाध्य बनाएको छ। आखिर तलब, सेवा, सुविधा एउटै हो किन त्यो प्रश्न राखियो भन्ने विषयमा सोच्न बाध्य तुल्यायो। केही समय यो सेवामा बसेर काम गरेपश्चात अवश्य नै पत्ता लगाउने छु अनि त्यसको बारेमा अर्को लेखमा भन्ने नै छु।

    दोश्रो प्रश्नः हामी भन्दा अघिल्लो द्यब्त्–३६ का सबै प्रशासन समूहका साथीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतमा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति गरी पठाएको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दा यो वर्षका सबै अधिकृतहरूलाई पनि स्थानीय तहमा नपठाउला भन्न सकिँदैन। अहिले स्थानीय तहमा गएका कतिपय अधिकृतहरूलाई हाजिर नगराउने, निमित्तको भरमा स्थानीय तह सञ्चालन गर्दै आउने, संघिय अधिकृतहरूलाई स्थानिय तहमा बस्न नदिने, जनप्रतिनिधिहरूले दबाब दिने लगायतका कार्य हुँदै आएका छन्। नेपाल संघियतामा प्रवेश गरेको ७–८ वर्ष भइसक्यो। यो अवधिमा स्थानीय तह भनेको संघियताको सबैभन्दा तल्लो सरकार सबैभन्दा धेरै सेवा प्रवाह गर्नुपर्ने र स्थानिय जनतासँग सबैभन्दा नजिक भएर काम गर्ने सरकार हो। यो सरकार सफल भएमा मात्र संघियता र देश सफल बन्छ। यस्तो अवस्थामा स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको भूमिकामा जान पाउनु आफैँमा एउटा अवसर र चुनौती हो। स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको पद समन्वयकारी भूमिकामा रहेको छ। जसमा काम गर्न र राजनीतिक दलसँग मिलेर स्थानिय जनताको मन जित्न केही कठिन भएता पनि असम्भव छैन। जहाँ अवसर हुन्छ त्यहाँ चुनौती अवश्य हुन्छ। चुनौतीलाई हटाउँदै, अवसरको सदुपयोग गरी स्थानीय तहमा काम गर्न मन छ। बाँकी समय अनि कार्यले बताउँछ।

    तेस्रो प्रश्नः नेपालमा नेपाली बस्न चाँहदैनन्। हाल नयाँ +२ गरेका विद्यार्थीहरू उच्च शिक्षाको नाउँमा, केही राम्रो भविष्यको कल्पनामा लाखौ रकम दलाललाई बुझाई शरणार्थीको रुपमा युरोप तथा अमेरिकामा तथा अन्य देशहरूमा जाने व्यक्तिहरूको क्रेज बढी नै छ। नेपालमा शिक्षाको अवसरको कमी, रोजगारीका अवसरहरू कमी, भविष्यदर्शी नीतिको अभाव, राजनीतिज्ञमा देशप्रतिको मायाको अभाव, व्यक्तिवादी सोँच लगायतका कारण युवा जनशक्तिलाई देशमा टिकाई राख्न हम्मे हम्मे परेको छ। तथापी नेपालमा नी हामीले गर्न सक्यौँ भने त्यो नेतृत्वमा बसेर भएता पनि देशमा आफु मात्रै होइन अरुलाई पनि बस्ने लायक बनाउनु छ। विदेशमा गएर अन्य देशको गुलाम भएर बाँच्नुभन्दा आफ्नै देशमा गरेर खानको लागि पनि मलाई विदेशमा जानु मन भएन। कुनै दिन मलाई पनि विदेश जाने मन नभएको होइन तथापी त्यो मेरो बालापन नै थियो। म विदेश के को लागि र किन जाने भन्ने स्पष्ट भिजननै थिएन जसको कारण अरुले गरेको कार्य र अरुको देखासिकीको कारण विदेशप्रतिको मोह भएको हो। जब देशलाई बुझ्दै गएँ, देशप्रतिको माया बढ्दै गयो जसको कारण म अब देश छाडेर विदेश नजाने सोच बनाएको हुँ।