भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 11:38:04
  • सोमबार,मंसिर ०१, २०८३
  • भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ : अध्यक्ष नेपाल

    भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ, चीनले चुच्चे नक्सा स्विकार्नुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताएका छन्।

    आज (बिहिबार) सत्तचारकर्मीहरुसँगको कुरा गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने समेत बताए।

    नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ। हाम्रो भूमि फिर्ता गर्नुपर्छ। चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ।

    श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा सङ्घर्ष गरिरहेको उनको भनाइ थियो।

    नेपालले भने, ‘पुँजीपतिको स्वार्थमा मात्र नीति नबनोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ। त्यसका लागि हामीले सङ्घर्ष गरिरहेका छौँ। हामी अहिले मोर्चा र गठबन्धनलाई छोडेर जानेवाला छैनौँ।

    उनले अहिले देशको अर्थतन्त्रमा सङ्कट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए। नेपालले मिटरव्याजपीडितको पक्षमा पार्टी दृढ भएर लागिरहेको समेत बताए।

    उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए।

    उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन। हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’

    सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए।