काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले फागुन १ गते महान दिन भएको बताएका छन। आज (सोमबार) मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई महान दिनको रुपमा लिनुपर्ने बताए।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई हिंसाको सुरुवात भएको दिनको रुपमा ब्याख्या गरेका थिए। सरकारले उक्त दिनलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि राख्दै उनले त्यो आफूहरुलाई मान्य नभएको ओलीले बताएका थिए।
अध्यक्ष ओलीपछि बोलेका माओवादी केन्द्रका उपमहाचिव शर्माले जनयुद्धकै जगमा राजतन्त्र ढलेको र समानुपातिक समावेशी प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्न सफल भएको बताए।
संविधानमा जनताका जे अधिकारहरु लेखिएका छन्। ती लेखिएका अधिकारहरुलाई यो सार्वभौम संसदसम्म आएर सार्वभौम बनाउने एउटा ऐतिहासिक प्रक्रियाको थालनी भएको दिन हो फागुन १ गते’, शर्माले भने, ‘जहाँ गरिबहरुले उत्पीडकहरु, महिलाहरु, जनजाति, मधेशीहरु, दलित, मुस्लिमहरुले आफ्नो आवाज बुलन्द गरेको महान दिन हो।
जनयुद्धले सात सालदेखि अधुरा रहेका आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधानसभामार्फत नयाँ संविधान दिनका लागि एउटा संकल्प गरेको र त्यसलाई पूरा गरेको शर्माले दाबी गरे।
‘त्यस्तो ऐतिहासिक दिनको लागि सम्मान गर्ने सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। यो जनताको सम्मान हो। परिवर्तनको सम्मान हो। हामीले प्राप्त गरेको अधिकारको सम्मान हो’, सांसद शर्माले भने।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा लेखिएका अधिकारहरुको सही कार्यान्वयनका लागि संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले माओवादीले सशस्त्र युद्ध सुरु भएको दिनको अन्यथा व्याख्या नगर्न समेत आग्रह गरे।