चाडवाडको मुखमा उपभोक्ताको ढाड सेक्ने मूल्यवृद्धि - Chaitanya News
  • 2026-05-26
  • 21:31:20
  • मंगलबार,जेठ १२, २०८३
  • चाडवाडको मुखमा उपभोक्ताको ढाड सेक्ने मूल्यवृद्धि

    चाडवाडको मुखमा उपभोक्ताको ढाड सेक्ने मूल्यवृद्धि

    काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैंको मुखमा मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले सर्वसाधारणलाई भार पर्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै उपभोक्ता मारमा परेका छन्। यसले उनीहरू आक्रोसितसमेत बनेका छन्।

    चाडवाडको मुखमा महँगीको मारमा परेका जनतालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा सरकारले मूल्यवृद्धिलाई नै प्रशय दिने र उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उपभोक्ता अधिकारकर्मी र उपभोक्ता आक्रोसित बनेका छन्। प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढेको टिका टिप्पणी भइरहेको समयमा सरकारले थप मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा पारेको हो।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि पछिल्लो समय बढेको महँगी सबैभन्दा बढी भएको बताउँछन्। व्यवसायीले अनुचित व्यापारिक क्रियाकलाप गरे, कालोबजारी गरे, मुनाफा धेरै खाए भनिरहेको अवस्थामा नेपाल आयल निगमले कालोबजारी गरेर विभिन्न नाकाहरूबाट अनुचित तरीकाले तस्करीबाट आएको पेट्रोलियम पदार्थ समेत विक्री वितरण गर्दै आएको टिप्पणी गरे।

    दसैंको मुखमा ग्यासमा बढाइएको मूल्यवृद्धि पनि व्यवहारिक नभएको उनको तर्क छ। आपूर्ति मन्त्रालयले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू नहुने बताए पनि ग्यासलाई समेत अटो प्राइसिङ सिस्टममा राख्ने नाममा अत्यधिक मूल्य बढाउने काम भएको र त्यो अनुचित भएको उनी बताउँछन्।

    ‘नेपाली जनताको भान्सा अत्यधिक महँगिएको छ। यसमा सरकारको कमजोरी र व्यापारीको मनोमानीकाबीच अहिले आएर निगमले समेत आगोमा घ्यू हाल्ने काम गरेको छ। यसले गर्दा आम उपभोक्ता अत्यन्त आक्रोशित छन्,’ उनले भने। महंगीलाई नियन्त्रण गर्न नसके सरकारकै लागि असहज परिस्थिति सिर्जना हुने उनी बताउँछन्।

    सामाजिक सञ्जालमा समेत सरकारले दसैंको मुखमा मूल्य वृद्धि गरेको भन्दै चर्को आलोचना भइरहेको छ। फेबुक प्रयोगकर्ता दुर्गा भण्डारीले एक महिनामा दुई/दुई पटक मूल्य वृद्धि गरेर सरकारले दसैंको उपहार प्रदान गरेको भन्दै व्यङ्गे गरेकी छन्।

    अर्का फेसबुक प्रयोगकर्ता प्रभात दाहालले पेट्रोलियम पदर्थको मूल्य वृद्धि फिर्ता गरभन्दै सरकारसँग आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘सरकार अब जनताले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले दाहसंस्कारमा आवश्यक पर्ने १/२लिटर डिजेल खरिद गर्ने अवस्था रहेन! जनतालाई बाच्न मात्रै हैन मर्न समेत सोच्ने बनायो,’ उनले भने।

    केही राजनीतिक दल र विद्यार्थी सङ्गठनले सार्वजनिक रूपमा विरोध जनाउँदै आए पनि सरकारले सुनुवाइ गरेको देखिँदैन।

    नेपाल आयल निगमले भने ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८०’ बमोजिम इन्डियन आयल निगमबाट आएको नयाँ मूल्यअनुसार मूल्य अभिवृद्धि कर जोडेर मूल्य समायोजन गरेको बताएको छ। निगमले मूल्यवृद्धिबारे जानकारी दिन शनिबार जारी गरेको विज्ञप्तिमा अझै सरकारलाई ऋण तिरिरहेको उल्लेख छ। निगम पछिल्लो समय नाफामा रहेपनि पुरानो ऋणको तिरिरहेको निगमको भनाइ छ। निगमले एकपछि अर्को गर्दै मूल्य बढाइरहँदा सरकारले उपभोक्तालाई राहत हुनेगरी कार्यक्रम ल्याउन नसकेको सरोकारवालाको जोड छ।

    निगमले साउन १६ यता लगातार पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिसकेको छ। निगमले स्वचालित: प्रणालीअनुसार मूल्य समायोजन गरेको बताउँदै हरेक १५-१५ दिनको अन्तरालमा मूल्यवृद्धि गर्दै आएको हो।

    निगमले पूर्णरुपमा स्वचालित मूल्य प्रणाली अपनाएको भन्दै गत असार ३१ गते पेट्रोलिम पदार्थको मूल्य घटाएको जनाएको थियो। त्यतिबेला पेट्रोलको रु ६ र डिजेल तथा मट्टितेलको रु ४ रुपैयाँ घटाउँदै काठमाडौँमा क्रमशः प्रतिलिटर १६१ रुपैयाँ ५० पैसा र १४३ रुपैयाँ ५० पैसा कायम गरेको थियो। यस्तै एलपी ग्यासको मूल्य पनि १० रुपैयाँ घटाएर १७९० रुपैयाँ कायम गरेको थियो।

    तर, निगमले साउन १६ गते स्वचालित मूल्य प्रणालीको नाममा मूल्यवृद्धि गरेको थियो। जसअनुसार पेट्रोलको ९ र डिजेल तथा मट्टितेलको ७ रुपैयाँ बढेर काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १५० रुपैयाँ ५० पैसा पुग्यो। सो क्रममा निगमले खाना पकाउने ग्यासको मूल्य भने १३० रुपैयाँ घटाएर १ हजार ६६० रुपैयाँ कायम गरेको थियो।

    मूल्यवृद्धिकै शृङ्खलाअनुसार साउन ३० गते निगमले पेट्रोलमा ५ रुपैयाँ मूल्यवृद्धि गर्दा डिजेल र मट्टितेलको मूल्य एकै पटक १४ रुपैयाँ बढायो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम हुन पुग्यो। त्यसपछि भदौ १४ मा फेरि डिजेल र पेट्रोल तथा मट्टितेलको मूल्य क्रमशः ४ र ३ रुपैयाँ बढाउँदै काठमाडौँमा १८२ र १७० कायम भयो। सोही मितिमा निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर एकै पटक २३५ रुपैयाँ बढाएर १८९५ रुपैयाँ पुर्याएको थियो।

    यस्तै चौथो पटक निगमले फेरि भदौ २९ मा पेट्रोलको मूल्य १ रुपैयाँ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गर्यो। बढेको मूल्यअनुसार काठमाडौँका क्रमशः १८३ र १७३ रुपैयाँ प्रतिलिटर कायम भएर पेट्रोलियम पदार्थको कारोबार भएकोमा शनिबार निगमले थप मूल्य बढाएको हो।

    लगातार पाँचौँ पटक मूल्यवृद्धि गर्दा निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएर काठमाडौँमा १८५ रुपैयाँ पुर्याएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँ बढाएर १७९ रुपैयाँ पुगेको छ। यस्तै ग्यासको मूल्य एकै पटक २१५ रुपैयाँ बढाएर २११० पुर्याएको छ।