नेपाली कांग्रेस समय सापेक्ष परिवर्तन हुनुपर्छ, हामी त्यसका लागि उद्दत छौं : नैनसिंह महर - Chaitanya News
  • 2026-11-16
  • 13:14:51
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाली कांग्रेस समय सापेक्ष परिवर्तन हुनुपर्छ, हामी त्यसका लागि उद्दत छौं : नैनसिंह महर

    नेपाली कांग्रेस समय सापेक्ष परिवर्तन हुनुपर्छ, हामी त्यसका लागि उद्दत छौं : नैनसिंह महर

    धुलिखेल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीलाई समय सापेक्ष परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनार अन्तर्गत सुसंस्कृत राजनीति र समृद्ध नेपाल विषयमा धारणा राख्दै पार्टीलाई समय सापेक्ष तथा प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन्।

    ‘अहिले प्रविधिको युग हो। युवाहरूमा समय सापेक्षताको माग हुन्छ। एउटै व्यक्ति एकै पदमा लामो समय बस्दा धेरै काम हुन सक्दैन। नयाँ व्यक्ति आउँदा नयाँ ऊर्जा हुन्छ र कार्यशैली पनि नविन हुन्छ। त्यसैले पार्टीमा धेरै कुरा परिवर्तन हुन आवश्यक छ। हामी त्यो मार्गमा अग्रसर पनि छौं’, उनले भने।

    नेता महरले मुलुकको समृद्धिका लागि कांग्रेसले काम गरिरहेको र पछिल्ला ३४ वर्षमा कांग्रेसकै नेतृत्वमा विकाससँगै थुप्रै परिवर्तन भएको उनले बताए।

    ‘कांग्रेस जनताकै बीचमा छ। असहज परिस्थितिमा मुलुकको हितका लागि धेरै कुराको त्याग गरेर भए पनि कांग्रेसले काम गरिरहेको छ। तर, जुन गतिमा काम हुनुपर्थ्यो त्यो गतिमा भने हुन नसकेकै हो’, उनले भने।

    द्वन्द्वमा रहेको मुलुकलाई त्यसबाट उकास्नका लागि कांग्रेसले कुसल भूमिका निर्वाह गरेको महरले स्मरण गरे। उनले कांग्रेसको सोही भूमिकाका कारण संघीयता, धर्म निरपेक्षता र संविधान जस्ता उपलब्धिहरू प्राप्त भएको उनले बताए।

    बेलायतको उदाहरण दिँदै उनले कुनै कारणले नैतिकताका आभारमा एक दिन राजीनामा दिँदा पनि त्यहाँको राजनीतिज्ञलाई पुनर्वाहलीको सम्भावना नहुने र नेपालमा पनि सोही अनुरुप राजनीतिक संस्कारको विकास हुनुपर्ने बताएका छन्।

    यस्तै उनले मुलुकमा परिवर्तन संसदले गर्ने भए पनि अपेक्षित रूपमा काम हुन नसकेको गुनासो गरे।