काभ्रे- नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिज्ञ उदारमना हुनुपर्ने बताएका छन्। चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारमा आफ्नो धारणा राख्दै कोइरालाले राजनीतिज्ञबीचकै अन्योलताका कारण संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताए।
अधिकार प्रत्यायोजनको कुरामा तीनै तह प्रस्ट नहुँदासम्म संघीयता सफल हुन नसक्ने उनको भनाइ छ।
‘संघीयतामा तीनै तहका सरकार एकअर्काका परिपूरक हुन्। तीनै तह स्वायत्त छन्। यो सबैले बुझ्नुपर्छ। अहिलेसम्म पनि केन्द्रले आदेश गर्ला भनेर कुर्ने गलत मान्यता छ। जुन गलत हो,’ उनले भने।
उनले कर्मचारीको पनि केन्द्राकृत मानसिकता रहेको बताउँदै त्यो मानसिकताबाट बाहिर आउनुपर्ने बताए।
समाज, राजनीति र अर्थतन्त्रलाई तीन कोणमा राखेर हेर्दा यी तीनै तत्व ठिक र समन्वयात्मक ढंगले अगाडि बढेमात्र संघीयता सफल हुने र मुलुक समृद्धिको मार्गमा अगाडि बढ्नसक्ने डा. कोइरालाले बताए।