अछाम २ मा जिते सडक, खानेपानी, बिजुली, कृषिको विकास र रोजगारी सिर्जना गर्छु : पुष्पबहादुर शाह - Chaitanya News
  • 2026-06-01
  • 09:13:07
  • सोमबार,जेठ १८, २०८३
  • अछाम २ मा जिते सडक, खानेपानी, बिजुली, कृषिको विकास र रोजगारी सिर्जना गर्छु : पुष्पबहादुर शाह

    अछाम २ मा जिते सडक, खानेपानी, बिजुली, कृषिको विकास र रोजगारी सिर्जना गर्छु : पुष्पबहादुर शाह

    पुष्पबहादुर शाह नेपाली कांग्रेस अछामका सभापति हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर शाह अछाम कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यस पटक उनै शाहलाई कांग्रेसले अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ। उनले नेकपा एमालेका यज्ञबहादुर बोगटीसँग चुनावी प्रतिस्पर्धा गर्ने छन्। सडक, खानेपानी, बिजुली, कृषि र रोजगारीलाई मुख्य एजेन्डा बनाएका शाहले मुख्य एजेन्डा बनाएका छन्। प्रस्तुत छ, शाहको चुनावी तयारीमा केन्द्रित गरिएको संवादः

    अछाममा यहाँले चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ?

    हामीले चुनावी अभियानलाई युद्ध स्तरमा अघि बढाइरहेका छौं। चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छौं। कांग्रेसका सबै निकाय, भातृ संस्था, सुवेच्छुक संस्थालाई पनि हामीले परिचालन गरिसकेका छौं। हाम्रो साझा गठबन्धन भएको हुनाले गठबन्धनको पनि बैठक आह्वान गरेर गठबन्धनका सबै निकायलाई पनि साझा रूपमा परिचालन गर्ने निर्णय गरेका छौं। हामीले पालिका स्तरको पनि संयुक्त गठबन्धन गरेका छौं। यसका साथै कार्तिक १५ गतेसम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं। १६ गतेबाट आमसभा गर्ने र कोणसभा गर्ने भन्ने सहमति गरेर अघि बढिरहेका छौं।

    तपाईंहरूसँग के–के एजेन्डा छन्?

    जनताले हामीले हालेको मतको सदुपयोग हुन सकेन भनेर गुनासो गरिरहेको सुनेका छौं। जनताको काम हुन नसकेको जनगुनासो छ। जनताको अपेक्षा अनुसारको काम गर्नका लागि मेरो उम्मेदवारी हो। अर्को कुरा जनताप्रति उत्तरदायी जनप्रतिनिधिको खाँचो छ। त्यसका लागि उपयुक्त पात्र म हुँ। जनताका माझमा रहेर उनीहरूका समस्या समाधानका लागि म रातदिन लाग्ने छु। यहाँको जनताको चाहना पनि त्यही हो। मैले जिल्लामा बसेर विभिन्न काम गर्दै जनतासँग रहेर उहाँहरूका चाहनालाई नजिकबाट बुझेको छु। हाम्रो एजेन्डा भनेको जनताको पक्षमा काम गर्ने र अहिलेको अस्थिर राजनीतिलाई स्थिरतातर्फ लैजाने हो। मुलुकमा सधैँ मडारिने संकटको बादल हटाउनका लागि पनि देसैंभर गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक छ। हामीले जनताको माग र आवश्यकता अनुसारको काम गर्ने छौं।

    अछाममा तपाईंले देखेका समस्या के–के हुन्?

    यहाँ थुप्रै समस्या छन्। विकट पहाडी जिल्ला हो। बाटोघाटोको समस्या छ। बिजुलीबत्ति, खानेपानी, सिँचाईलगायत थुप्रै समस्या छन्। यी सबै कमीकमजोरीहरूलाई क्रमशः कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुने छ। सबै काम एकै पटक त गर्न नसकिएला। तर, जनताको चाहना र प्राथमिकताका आधारमा काम गर्दै जाने छु।

    तपाईं कांग्रेस अछामको सभापति पनि हुनुहुन्छ, बलियो एमालेलाई परास्त गर्न कस्तो रणनीति अवलम्बन गर्नु हुन्छ?

    एमाले मात्रै बलियो भन्दा पनि अछाममा कांग्रेसको संगठन कमजोर छैन। एकल किसिमले पनि हामी कांग्रेस एमालेसँग प्रतिस्पर्धा गर्नेस्थितिमा छ। अहिलेको आवश्यकता राष्ट्रिय गठबन्धन नै हो। गठबन्धनका साथ हामी अघि बढेको अवस्थामा हामी गठबन्धनप्रति इमानदार छौं। नत्र हामी एकल रूपमा पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्ने अवस्थामा थियौं। म पार्टी सभापति भइसकेपछि कांग्रेसको संगठन वडासम्मै पुगेको छ। र, वडा तहसम्म नै बलियो छ।

    कांग्रेसको पहलमा अछाममा के–के काम भए?

    सेती लोकमार्गलाई पनि हामीले भित्र्याउनुपर्छ। बीचमै काम अपुरो रहेको छ। मध्य पहाडी राजमार्ग अछाम खण्डमा पूर्ण निर्माण भइसकेको छ। यसले धेरै पालिकालाई जोड्छ। जिल्लाका सबै पालिकामा विद्युतीकरण हुनुपर्छ। जनतालाई कृषिमा कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्नेमा ध्यान दिएका छौं। अन्य विकास निर्माणका कुरा त छदैछन्।