काभ्रे- प्रोफेसर एवम् अर्थविद् डा. अच्युत वाग्लेले सुशासन, दिगो विकास र समृद्धिका लागि दीर्घकालिन योजना ल्याएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रममा मुख्य वक्ताको भूमिकामा रहेका डा. वाग्लेले सरकारको कुरा सुन्दा देशमा समस्या नभए जस्तो देखिए पनि मुलुकमा दीर्घकालिन योजनाको अभाव रहेको बताए। ‘चाडो-चाडो फेरिरहने सरकारका कारण हामी अपेक्षाकृत रूपमा अगाडि बढ्न सकेका छैनौं। ३० वर्षमा हामीले २७ प्रधानमन्त्री पायौं। छिटो छिटो फेरिने सरकारका कारण दीर्कालिन योजना आउने र तिन्को कार्यान्वयन हुने कुरामा समस्या देखिएको छ’, उनले भने।
पछिल्लो समय नेपालको आर्थिक वृद्धिदर ३.९२ प्रतिशतमा मात्रै सिमित रहेको उनले बताए। नेपाल कृषिप्रधान देश रहेको बताउँदै वाग्लेले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले कृषिमा लगानी गर्नुपर्ने धारणा राखे।
सुशासन र समृद्धि ल्याउन विचार पनि राम्रो हुनु पर्ने उनले बताए। जुनसुकै राजनीतिक विचारधाराको व्यक्ति भए पनि विचार राम्रो भएर दीर्घकालिन योजनाका साथ काम गर्दा समृद्धि हालिस गर्न सकिने वाग्लेको भनाइ छ।
यसका साथै राज्यले निजी सम्पत्तिमाथि सधैँ संकाको नजरले हेर्ने गरेको बताउँदै उक्त प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
वाग्लेले दिगो विकासको दुई अर्थ भएको बताएका छन्। एउटा भएको विकासलाई दिगो बनाउने र अर्को गर्नु पर्ने विकासलाई दिगो बनाउने विषयमा सोचिएमात्र दिगो विकास हासिल गर्न सकिने उनले बताए।