काठमाडौँ– कात्तिक महिनाभित्र जनता समाजवादी पार्टी, नेपाललाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने तयारी अगाडि बढेको छ। असार दोस्रो हप्ता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपा नेपालले नयाँ विधान अनुसार पार्टी पुनर्गठन गर्नका लागि तीन महिने अभियान सञ्चालन गरिरहेको छ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले हालसम्म पाँच वटा प्रदेश पुनर्गठन भइसकेको जानकारी दिए। हालसम्म कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश समितिलाई पुनर्गठन गरिसकेको छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समितिलाई पुनर्गठन गर्न छलफलहरू चलिरहेको उनले बताए।
यो महिनाभित्र बाँकी दुईवटा प्रदेश पनि पुनर्गठन हुने उनले बताए। जो समिति पहिला नै बनिसकेका छन्, त्यसलाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने र नबनेका समितिहरू पनि नयाँ विधान अनुसार गठन गरिने जसपाले जनाएको छ।
पाँच वटा राष्ट्रिय समिति पनि पुनर्गठन भएका छन्। प्रमुख बस्नेतका अनुसार किराँत राष्ट्रिय समिति, तम्सालिङ राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति र मगरात राष्ट्रिय समिति पुनर्गठन भएका छन्।
जिल्ला, पालिका तथा भातृ संगठनलगायत अन्य समितिहरूलाई पनि पुनर्गठन गर्ने गृहकार्य सुरु भइसकेको छ। कात्तिकभित्र सबै समिति पुनर्गठन तथा गठन गरिसक्नुपर्ने पार्टीले निर्णय गरेको छ। तीन महिने अभियान समाप्त भएपछि महाधिवेशनको तयारीमा लाग्ने पार्टीका प्रवक्ता मनिष सुमनले बताए।
पार्टीको विधान अनुसार पार्टी पुनर्गठन भएपछि महाधिवेशनमा जाने तयारी भइरहेको छ । छठपछि महाधिवेशन हुने गरी पार्टीभित्र तयारी चलिरहेको छ। नयाँ विधान अनुसार पार्टीलाई चलायमान बनाउनका लागि समयमा महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । नयाँ विधान अनुसार महाधिवेशन सम्पन्न भयो भने पार्टी झन् क्रियाशील हुने उनले बताए।