काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशले भूगोल कमिटीमा रहेका नेताहरु अधिकांश समय काठमाडौँ उपत्यकामै बस्दा समस्या भएको निष्कर्ष निकालेको छ।
प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रथम अधिवेशनमा पेश गरेको प्रतिवेदनमा पार्टीभित्रका समस्या औँल्याइएको छ। पाण्डेको प्रतिवेदनमा १८ समस्या बुँदागत रुपमा समेटिएको छ।
जसमा पार्टी कमिटीहरु ठुला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्यायोजना नबन्नेदेखि कमिटीमा दोहोरो छलफल नै हुन छाडेको उल्लेख छ। त्यस्तै युवा पुस्तामा पार्टी आकर्षण कमजोर रहेकाले आन्दोलनका आगामी दिनहरु चुनौतीपूर्ण रहेको भन्दै राजनीतिक वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्तिमा दिशाहीन बन्ने खतरा रहेको पनि उल्लेख छ।
त्यसैगरी प्राय कमिटीहरु माथि र निर्देशनमुखी हुँदा आफै योजना बनाएर परिचालित हुने अवस्था अत्यन्त कमजोर हुँदै गएको पनि समस्याका रुपमा देखाएको छ।
‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँग नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ’, प्रतिवेदनमा भनिएको छ, ‘उपत्यका बाहिरका कतिपय भूगोल, कमिटी रहेका कमरेडहरु अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको छ।

