सुन्दर मुस्कानले मानिसको सुन्दरतालाई बढाउने मात्र होइन, व्यक्तित्वलाई पनि निखार्छ । मुस्कानले सामान्य अनुहारलाई पनि चम्किलो र असाधारण देखाइदिन्छ ।
तपाईं आफैं कल्पनुहोस् त, मुस्कुराइरहेको मान्छे आफैंमा कति कोमल, कति चञ्चल, कति कन्चन, कति रसिलो देखिन्छ । जब कि रिसाएको, क्रोधित मान्छेको रुपरङ भयानक हुन्छ ।
त्यसैगरी, मुस्कानले मानिसको स्वास्थ्यलाई पनि धेरै राम्रो बनाउँछ । मुस्कानले मानिसको आत्मविश्वास र मैत्रीपूर्ण व्यक्तित्वका बारेमा पनि अरुलाई अवगत गराउँछ ।
मुस्कानको यो खजाना हरेक मानिससँग हुन्छ । मात्रै आवश्यकता हुन्छ खुशी रहने र यसलाई अपनाउने ।
स्वस्थ रहन र तनावबाट मुक्त हुनका लागि मुस्कानले हामीलाई मद्दत गर्छ । मनोचिकित्सकका अनुसार मुस्कानले सम्बन्धलाई मजबुत बनाउँछ ।
कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा जब कुनै अन्जान मानिसको अनुहार हामीलाई देखेर मुस्कुराउँछ, त्यतिखेर उनीहरूसँग कुनै सम्बन्ध नभए पनि आत्मीय लाग्छ ।
मुस्कान त्यतिखेर मात्रै पूर्ण हुन्छ जब त्यो दिलबाट सुरु भएर ओठ हुँदै आँखाबाट झल्किएर अरु कसैको अनुहारमा ज्योति बनेर चम्किन्छ । मुस्कानको विशेषता नै यो हो कि यसको माध्यमबाट तपाईं केही पनि नबोली आफ्नो मनका भावनाहरू अरुको अगाडि व्यक्त गर्न सक्नुहुन्छ ।
कसैको रिसाएको अनुहार देखेर तपाईंलाई पनि नराम्रो लाग्न सक्छ र निराशा छाँउछ । तर, कसैको मुस्कुराएको अनुहारले तपाईंलाई खुशी र ताजापन दिन्छ ।
अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन, व्यावसायिक जीवनमा पनि धेरै महत्त्वपूर्ण हुन्छ ।
जब तपाईँ बिहानदेखि नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ, तपाईंको पूरा दिन नै खुशीसँग बित्छ । त्यसैले मुस्कुराइरहनुस् ल !