यदि तपाईंलाई म किन सफल हुन सकिरहेको छैन ? भन्ने प्रश्नले घच्चघच्याइरहेको छ भने त्यसको जवाफ बाहिर नखोज्नुहोस् किनकि यसको जवाफ तपाईंसँगै छ । यो जवाफ थाहा पाउनका लागि तपाईंले आफूलाई यी ४ वहानाबाट मुक्त बनाउन जरुरी छ ।
यी ४ वहानाबाट मुक्त हुनुहोस्
समय छैन
तपाईंलाई आफ्नो लक्ष्य प्राप्तिका लागि र सफल बन्नका लागि समयको अभाव नहुनु भनेको मात्र वहाना हो । जीवनमा अरूलाई खुसी पार्नका लागि होइन आफ्नो जीवन सफल बनाउनतिर लाग्नुहोस् । भोलिवादलाई त्यागेर आजका लागि मिहिनेत गर्नुहोस्, पक्कै सफल भइन्छ ।
पैसा छैन
धेरैलाई लाग्छ, आफूले चाहेको काम गर्न मसँग पैसा छैन, स्रोत छैन । यदि आफूले खोजेजस्तै पैसा र स्रोत नमिल्दासम्म काम गर्नुहुन्न भने तपाईंको सपना सधैँ सपना नै रहन्छ । त्यसैले आफूसँग तत्काल भएको स्रोतको सक्दो उपयोग गर्नुहोस् । जे जति छ, त्यसैबाट सुरुवात गर्नुहोस् । त्यसपछिका दिनमा स्रोतको पछि तपाईं होइन, तपाईंको पछि स्रोत नै स्रोत हुनेछ ।
सहयोग गर्ने मान्छे छैन
जीवन तपाईंको आफ्नो हो । त्यसैले जीवनमा सफल बन्न आफ्नो सपना पूरा गर्न आफू एक्लै अघि बढ्नुहोस् । जिन्दगी भनेको यात्रा हो, यात्रामा मानिसहरू भेटिन्छन्, छुटिन्छन् । जीवनको यात्रामा धेरै अवरोधहरूको सामना गर्दै अघि बढ्ने साहस तपाईं आफैँले गर्नुपर्छ ।
सायद मैले गर्थें
’त्यस्तो नभएको भए सायद मैले गर्थें’, यो वाक्य धेरै जनाको मुखबाट सुन्ने गरिन्छ । वहाना बनाउनेहरू यो वाक्यलाई आफ्नो मस्तिष्क र जिब्रोमा राखेर हिँड्छन् । त्यसैले यस्तो वहाना बनाउन आजैबाट त्याग्नुहोस् ।