उपप्रधानमन्त्री खड्काले भने: सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 13:54:22
  • सोमबार,मंसिर ०१, २०८३
  • उपप्रधानमन्त्री खड्काले भने: सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ

    उपप्रधानमन्त्री खड्काले भने: सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ

    काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति प्रधानमन्त्री पूर्णबहादुर खड्काले सबै शिक्षकका मागहरूलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताएका छन्।आज (सोमबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो भनेका हुन्।

    यस्तै उनले उनले नेपाल शिक्षक महासङ्घको आन्दोलनपछि शिक्षकहरूको हक अधिकार सुनिश्चित हुने गरी विधेयकमा प्रावधान गर्ने विषयमा धेरै हदसम्म सहमति भइसकेको र अझैपनि केही शिक्षकहरू आन्दोलनमा रहेकोमा विधेयकमा अधिकतम सर्वस्वीकार्यता खोजिने बताए।

    उपप्रधानमन्त्री खड्काले सरकारले शिक्षक महासङ्घको चाहनाबमोजिम नै सहमति गरेर अघि बढेको दाबी गरे। ‘शिक्षकहरू सबैको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घ हो। महासङ्घसँग सरकारले विधेयकको मस्यौदा बनाउने चरणदेखि नै वार्ता गरेर अघि बढेको हो। तथापि केही असमझदारीहरूका कारण आन्दोलन भयो। फेरि सरकारले महासङ्घकै चाहनाबमोजिम छलफल गरेर सहमति भएको हो,’ उनले भने, ‘त्यसैमा सबै शिक्षकहरूको माग सम्बोधन भएको छ।

    उनले अहिले राहत शिक्षकहरूसहितले आन्दोलन जारी राखेकोमा सरकारले सबै शिक्षकहरूको अधिकार सुनिश्चित गर्नका लागि पहल गर्ने बताए।

    ‘उहाँहरू भेट्न आउनुभएको छ। उहाँका कुराहरू सुनेको छ। र मैले उहाँहरूलाई सकारात्मक सन्देश दिएर पठाएको छु। सरकारले त्यसका लागि सबै खालको पहल गर्छ,’ उनले भने, ‘सकेसम्म सबै शिक्षकहरूका मागहरूलाई समेटेर सरकार र संसद्ले विधेयकलाई अन्तिम रूप दिनुपर्नेछ।’

    उनले शिक्षकका कतिपय मागहरू विधेयकमार्फत नभएर अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र सरकारले निर्णय गरेर सम्बोधन गर्न सकिने प्रकृतिका रहेको भन्दै त्यसका लागि समेत प्रयत्न गरिने बताए।