काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर भएको बताएका छन। आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उाले यस्तो बताएका हुन्।
यस्तै उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकारले नयाँ ढङ्गले निर्णय लिन लागेको बताए।
सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको गृहमन्त्रीको भनाइ थियो।
आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो। ‘प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौँ। यी घटनाबारे गम्भीर छौँ, दृढ भएर जान्छौँ, ’उनले भने।
सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो।
कोसी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो। उनले सुरक्षा संवेदनशीलता बुझ्नका लागि आइतबार कोशी प्रदेश जान लागेको जानकारी दिए।