काठमाडौँ– शिक्षकहरुको आन्दोलनका बीच राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर बिहीबार सधैँझै विद्यालय समयमा पुगे। तर, विद्यालयको गेट बन्द नै थियो। अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए।
तर, विद्यालय खुला नभएपछि उनीहरु निराश हुँदै घर पर्किएका छन्। ललितपुरको मदनस्मारक विद्यालयका कतिपय विद्यार्थीहरु अध्ययनका लागि विद्यालय त पुगे तर गेट नै बन्द थियो। ‘बिद्यालय बन्द छ भनेर खबर थिएन। तैपनि खुला छ कि भनेर आयौँ तर गेट नै बन्द रहेछ’, एक विद्यार्थीले गुनासो पोखिन्। शिक्षकहरुको आन्दोलनले पढ्न नपाएको भन्दै उनले आक्रोश पोखिन्।
यसैगरी पाटक ढोकास्थित पाटन हाइस्कुलको पनि ताल उस्तै थियो। सो स्कुलमा मदनस्मारकमा जस्तो गेट त थिएन तर त्यहाँका कर्मचारीले विद्यालय नखुल्ने भन्दै विद्यार्थीहरुलाई घर पठाइदिए।
उसैगरी काठमाडौँ महानगर मातहका सामुदायिक विद्यालयहरु पनि आज बन्द नै छन्। महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनीका बीच पठनपाठन नभएको हो।
विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको आह्वानमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो। शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दवाव दिइरहेका छन्।
गत वर्षको तथ्याङ्अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन्। त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ।
यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन्। महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।
![]()
![]()