डिल्लीराज पन्त नेपाली कांग्रेस कैलालीका पुराना नेता हुन्। नेपाल विद्यार्थी संघ कैलालीका संस्थापक अध्यक्षसमेत रहेका पन्त निकै मिलनसार र सरल व्यक्तित्वको रुपमा चिनिन्छन्। उनलाई सबैले साधारण जीवनशैली भएको नेताको रुपमा लिन्छन्। निष्ठाको राजनीति गर्ने इमान्दार छवी बनाएका पन्तलाई यस पटक नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा संघको टिकट दिएको छ। यसभन्दा पहिले २०७४ सालको निर्वाचनमा पन्तले कैलाली ५ (ख) मा प्रदेशसभाको टिकट पाएका थिए। जसमा उनले जित समेत हासिल गरेका थिए। यसपटक उनले संघमा टिकट पाउँदा कसरी तयारी गरिरहेका छन्? यही विषयमा केन्द्रित रहेर पन्तसँग चैतन्य खबरले संवाद गरेको छ।
सबैको चासोको रुपमा रहेको कैलाली-५ मा तपाईंका जित्ने आधार के छन्?
मलाई नेपाली कांग्रेसले विश्वास गरेर टिकट दिएको छ। म बलियो र जनप्रिय पार्टीको उम्मेदवार भएकाले पहिलो जित्ने आधार यही नै हो। अर्को कुरा मेरो पारिवारिक र व्यक्तिगत पृष्ठभूमि पनि कांग्रेससँग निकै लामो छ। मैले विगत पाँच वर्ष कैलाली ५ (ख) बाट निर्वाचन जितेर इमान्दारितापूर्वक काम गरेको छु। लामो समय प्रतिपक्षमा हुँदा पनि मैले आफूले सकेका योजना ल्याउने प्रयास सधैँ गरे। हामी लामो समय प्रतिपक्षमा हुँदा जनताको चाहना अनुसार काम गर्न नसकिएको होला। तर, प्रदेश सरकारको असहयोगकैबीच पनि प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत र प्रदेश सरकारसँग मागेका योजना अन्तरगत सधैँ जनतासँग मेरो सम्बन्ध भइरह्यो।
मलाई सत्तामा गएको छु। माननीय भएको छु भन्ने घमण्ड कहिले भएन। मलाई मेरो क्षेत्रका जनताले विश्वास गरेर गत चुनावमा प्रदेशसभामा जिताएका हुन्। उनीहरूसँग मैले घुलमिल हुने हो। माननीय भए भनेर घण्ड गर्ने होइन। जनताको माझमा रहेर उनीहरूका सुखदु:खमा साथ दिनुपर्छ। मैले यसरी सधैँ इमान र स्वाभिमानको राजनीति गरेकाले चुनाव जित्नेमा विश्वस्त छु।
कांग्रेसकै बागी उठेका छन्, उनीहरूबाट कत्तिको चुनौंति देख्नु भएको छ?
चुनावमा प्रतिस्पर्धिलाई कहिले पनि कमजोर ठान्नु हुँदैन। सबै जित्छु भनेर नै चुनावमा होमिएका हुन्छन्। तर, जनताको माझमा रहेर कसैलाई काखापाखा नगरेर मैले काम गरेकाले अरु उम्मेदवारभन्दा म बढी बलियो छु। लामो राजनीतिक जीवनमा महिले विवादित बनिन। यो यहाँकै जनताको विश्वासले हो। यस पटक पनि मलाई जनताले विजयी गराउनेमा विश्वस्त छु।
आफ्नो राजनीतिक पृष्ठभूमिलाई कसरी सम्झिनु हुन्छ?
मेरा बुवाको नाम चेतराज पन्त हो। उहाँ २००६ सालको नेपाली कांग्रेस कैलालीको संस्थापक सदस्य हुनुभएको व्यक्तित्व हो। २००७ सातमा कञ्चनपुरको बेलौरी र बर्मदेवमा भएका आन्दोलनमा उहाँको अग्रणी भूमिका रह्यो। २००७ सालदेखि २०१७ सालसम्म पनि उहाँको भूमिका कैलाली र डोटीमा निकै सक्रिय रह्यो। २०१७ सालदेखि २०४६ सालसम्म मौन रहेर आर्थिक सहयोग गर्ने, मार्गनिर्देशन गर्ने काम गर्नुभयो। २०२९ सालदेखि शेरबहादुर देउवा र मेरोबुवा निकट हुनुहुन्थ्यो। देउवा हाम्रो घरमा आउनेजाने गर्नुहुन्थ्यो।
यसरी बुवाको प्रेरणाले म राजनीतिमा प्रेरित भएको थिए। त्यसपछि २०३१ साल पुस १ गते महेन्द्रजयन्ति मनाइने दिन म गिरफ्तार भए। रामप्रसाद खतिवडा हाम्रो प्रवासित नेता हुनुहुन्थ्यो। पलियामा गएर एउटा सततपत्र भन्ने नेपाली कांग्रेसको पत्रका थियो। त्यो पत्रमा विपी कोइरालाले आह्वान गरेका क्रान्ति र परिवर्तनका कुरामा राजालाई हटाउने, व्यवस्थालाई फाल्ने भनेर सपथ लिनुपर्थ्यो। दुर्भाग्यवस् त्यो पत्र प्रहरीको हात लाग्यो। र, हामी गिरफ्तार भयौं। ६ महिना हामी जेल बस्यौं। त्यो बेला पञ्चायतमा दलहरूका ठूला हस्ति डाक्टर केआई सिंह, पुष्करनाथ उप्रेतीको सहयोगमा तीन जना जेठ १६ गते छुटेका थियौं।
यहाँ कलेज थिएनन्। नेपालगञ्ज वा काठमाडौं जानुपर्ने हुन्थ्यो। तर, म त्यता नगएर देहरादून गए। देहरादून बरेली भएर जानुपर्थ्यो। कहिलेबाहिँ हामी बरेली भएर पनि जान्थ्यौं। हाम्रा नातेदारहरू लखनउमा पढ्ने गर्थे। त्यहाँ जाँदा शेरबहादुर दाइसँग भेट भयो। उहाँ विपी कोइरालाका कितावहरू, नेपाली कांग्रेसले निकालेको तरुण पत्रिका, नेपाल विद्यार्थी संघका पर्चा उहाँले दिने गर्नुहुन्थ्यो। म त्यही पर्चा लगेर २०३३ सालतिर देहरादून गएको हुँ। देहरादूनमा प्रवासी नेपालीको बीचमा नेपाल विद्यार्थी संघको स्थापना गरेँ। म त्यहाँको संस्थापक अध्यक्ष हो। २०३४ सालमा विपी कोइरालाले पटनामा ठूलो सम्मेलन गर्नुभएको थियो। त्यतिबेला त्यहाँका समाजवादी नेता जयप्रकाश नारायणको आथित्यमा कार्यक्रम भएको थियो। म देहरादूनबाट त्यहाँ गएको थिए। त्यहिँबाट तत्कालिन समयका नेपाली कांग्रेस कैलालीका नेता टेकबहादुर चोखालसँग फर्केर धनगढी आएको थिए। नेपालमा २०३६ सालमा विद्यार्थी आन्दोलन सुरु भयो। त्यही आन्दोलनलाई मध्यनजर गरेर म देहरादूनबाट धनगढी आएको थिए। मैले धनगढीमा विद्यार्थी आन्दोलनको आन्दोलनको नेतृत्व गरेको थिए। आन्दोलन सफल भयो। राजाले जनमत संग्रहको घोषणा गरे। बहुदल र निर्दलको पक्षमा जनमत संग्रह हुने भयो। हामी बहुदलको पक्षमा थियौं। त्यहि बहुदलको पक्षमा विपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, पर्शुनारायण चौधरीहरू धनगढी आउनु भएको थियो। उहाँहरूको रोहबरमा धनगढीमा २०३७ सालमा नेविसंघको गठन भयो। र, म नेविसंघ कैलालीको संस्थापक अध्यक्ष बने। त्यसपछि बहुदललाई जिताउनका लागि नेविसंघले कैलाली जिल्लाभरी निकै मेहेनत गरेको थियो। जनमत संग्रह गर्दा बहुदलका पक्षमा कैलाली जिल्लामा १० हजार बढी मत प्राप्त भएको थियो।
त्यसपछि २०४६ सालसम्मका कांग्रेसले गरेका आन्दोलनहरूमा मैले सक्रियतापूर्वक भूमिका निर्वाह गरे। २०४६ सालको आन्दोलन हुँदा फागुन ७ गतेदेखि आन्दोलन सुरु गर्नुपर्ने। गणेशमानको घरमा एउटा सम्मेलन भएको थियो। त्यहाँ चन्द्रशेखर लगायतका नेताहरू आएर सम्बोधन गर्नु भएको थियो। त्यो २०४६ सालको आन्दोलनमा धेरै नेता जेल परे। तर, म बाहिर बसेर आन्दोलन गर्न चाहन्थे। मैले २०४६ सालको आन्दोलनमा गाउँ-गाउँ पुगेर नेतृत्वदायी भूमिका निर्वाह गरे। आन्दोलन सफल भइसकेपछि चैत २७ गते धनगढीमा बहुदलवादीहरूको ठूलो आमसभा भएको थियो। त्यो आन्दोलनको सभापतित्व मेरा बुवाले ग्रहण गर्नु भएको थियो। २०४७ सालको आम निर्वाचन होस् वा २०४८ सालको आम निर्वाचन अथवा त्यसपछिका सबै गतिविधिमा मैले सक्रियतापूर्वक भाग लिएको छु। २०४७ सालदेखि २०७४ सालसम्म बीचमा एक पटक कांग्रेस कैलाली जिल्ला सदस्य बाहेक कुनै पदको लोभ गरिन। २०७४ सालमा दलले याद गरेर कैलाली ५ (ख) मा प्रदेशसभाको टिक दियो। मैले जनताको मायाले जित हासिल गरे। र, पाँच वर्षे कार्यकाल धेरै काम गर्न नसके पनि इमान्दारितापूर्वक जतिकाम गरे उत्कृष्ठ काम गरेर बिताए। मेरो काम देखेर नै दलले नै मलाई टिकट दिएको विश्वास छ।
धेरै मान्छे शक्तिको पेरिफेरिमा रहन चाहन्छन्, तपाईं लामो समय शक्ति दौडको पेरिफेरिबाट टाढा रहनुभयो किन?
म आस्था र सिद्धान्तको राजनीति गर्ने मान्छे हो। शक्ति भनेको मेरो व्यवहार र रचित्र कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ। सत्तामा गएर मात्र होइन बाहिर रहेर पनि धेरै सेवा गर्न सकिन्छ भन्ने मान्यता भएको मान्छे हुँ म। त्रिनगर स्कुलमा मैले ६ वर्ष व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे। स्कुलको मेनरोडसँग जोडिएको जमिनमा सपिङ कम्प्लेक्स बनाउनका लागि आफ्नो जमिन धितो राखेर त्यो समयमा बैंकबाट साढे ६ लाख निकालेर काम गरेको थिए। रेडक्रसमा आठ वर्ष बसेर काम गरे। उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य भएर काम गरे। हृदयरोग निवारण प्रतिष्ठानको सभापति भएर काम गरे। कैलाली जनपुस्तकालयमा एक कार्यकाल बसेर काम गरे। यसरी विभिन्न संघ संस्थामा बसेर मैले थुप्रै काम गरेको छु। सेवा गर्नका लागि राजनीति नै चाहिन्छ भन्ने होइन। इच्छाशक्ति भए बाहिरै बसेर पनि समाजसेवाका क्षेत्रमा काम गर्न सकिन्छ।
तपाईंसँग विकासको मोडालिटी केछ?
मैले प्रदेशसभामा जित हासिल गरिसकेपछि थुप्रै काम गर्ने योजना बनाएको थिए। बाम गठबन्धनको सुरुवाति बहुमतको सरकारले हाम्रा कुरा नै सुनेन। हामी निकै अल्पमतमा भयौं। जसले गर्दा हामीले जनचाहना अनुसार काम गर्न सकेनौं। यहाँ सेती प्रादेशिक अस्पताल छ। यो रेफ्रल अस्पताल हो। यसलाई आधुनिक बनाएर यसको राम्रो व्यवस्थापन हुनुपर्छ भन्ने मेरो योजना छ। जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले मेरो ठूलो योजना यो हो। धनगढी एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन नसकिए पनि क्षेत्रीय स्तरको बनाउन स्तरोन्नति गर्ने योजना छ। गेटा मेडिकल कलेजलाई चाँडो सञ्चालनका लागि पहल गर्ने, गौरिफन्टा नाकाको स्तरोन्नति गर्दै आयात निर्यातलाई सहज बनाउने योजना छ। प्रादेशीक विश्व विद्यालयको कल्पना गरेको छु। प्रादेशिक विश्वविद्यालय बनाउन पाएपछि हामीले प्रदेशमै गुणस्तरिय शिक्षा दिनसक्नेमा म विश्वस्त छु। मलखादका लागि कैलालीमा एउटा उद्योग खोल्न पाए हुन्थ्यो भन्ने लागेको छ। यस्ता मेरा थुप्रै योजना छन्। म सधैँ यी योजना पुरा गर्न सक्रिय रहने छु। म चुनाव जित्नकै लागि ठूला झुटा सपना देखाउँदैन। यहाँका जनताले जे चाहेका छन् ती कुरालाई नै पुर्ति गर्दै लैजाने छु।