उच्च रक्तचाप र लो ब्लड प्रेसरको लक्षण कसरी छुट्याउने भन्ने महत्त्वपूर्ण विषय हो। सबै समयमा मानिससँग प्रेसर नाप्ने मेसिन हुँदैन। त्यस्तो समयमा लक्षणले पनि केही काम गर्छ। प्रेसरको बिरामीलाई टाउको दुख्नु भनेको उच्च रक्तचापको लक्षण हो। प्रेसर लो हुँदा पनि टाउको दुख्न सक्छ। तर, त्यो अर्कै दुखाइ हुन्छ। टाउको दुखाइसँगै ध्यान केन्द्रित नहुन, दिक्क लाग्नु उच्च रक्तचापको लक्षण हो। रिँगटा लाग्नु भने उच्च रक्तचाप र न्यून रक्तचापको लक्षण हो। तर, यसले शरीरमा देखाउने प्रतिक्रिया भने फरक हुन्छ।
प्रेसर लो हुँदा रिँगटा लाग्यो भने बसेको बेला उठ्दा टाउको झनझनाउनु, अँध्यारो जस्तो हुनु प्रेसर लो भएको लक्षण हो। त्यो भनेको प्रेसरको औषधि घटाउनुस् भन्ने इन्टिकेसन हो। हाइ भएका मानिसमा हिँड्दा ब्यालेन्स बिग्रिए जस्तो हुन्छ। तर, धेरै रिँगटा लाग्यो भने त्यो हाइ प्रेसर बाहेक अन्य कारणले पनि हुनसक्छ। शरीर शिथिल हुनु, थकाइ लाग्नु, धेरै हिँड्न मन नहुनु न्यून रक्तचापको लक्षण हो। ब्लड प्रेसर लो भएपछि दिमागमा, शरीरमा, खुट्टामा रगतै पुगेन भने कमजोरी महसुस हुन्छ। कहिलेकाहीँ मेरो ब्लड प्रेसर ९०/६० पुग्छ। म आत्तिएको हुँदैन। रिल्याक्स हुनुपर्छ। लो हुँदा थप फाइदा हुन्छ। मुटु, मिर्गौला, मस्तिष्क सबेलाई फाइँदा हुन्छ। अलि कमजोरी हुँदा झोलिलो खाने कुरा खानुस्।
तेस्रो कुरा मुटु ढुकढुक भयो भने उच्च रक्तचापको लक्षण हो। यस्तो लक्षण हिँड्दा देखिन्छ। लो ब्लड प्रेसर हुँदा पनि मुटु ढुकढुक हुन्छ। प्रेसर लो भएको मानिस बसेको ठाउँबाट जुरुक्क उठ्दा शरीरमा रक्तसञ्चार घटेको छ भने जोरले मुटु ढुकढुक हुन्छ। स्वा स्वा हुनु हाइ ब्लड प्रेसरको लक्षण हो। थोरै हिँड्दा वा उकालो उक्लिँदा स्वा स्वा हुन थालेको छ भने प्रेसरको समस्या छ भन्ने हो। तर, लो प्रेसरले प्राय स्वा स्वा हुँदैन। छातीमा असजिलो हुनु प्रेसरको लक्षण होइन। त्यो मुटु रोगको लक्षण हुन्छ। तर, प्रेसरको बिरामीले पनि छातीमा असजिलो महसुस गरिरहनु भएको हुन्छ। हाइ प्रेसरका बिरामीमा हिँड्दा असजिलो महसुस हुन्छ।
हाइ प्रेसर भएका मानिसमा हिँड्दा, एक्सरसाइज गर्दा पनि गाह्रो हुन्छ। लो प्रेसरमा भने आराम गर्दा नै गाह्रो हुन्छ। अर्को मुख्य कुरा भनेको बेहोस हुनु पनि हो। प्रेसर लो भएमा मानिस बेहोस हुनसक्छ। उच्च रक्तचाप भएमा मानिस बेहोस हुँदैन। व्रत बसेको समयमा, पानी कम पिएको समयमा, राति अचानक उठेर ट्वाइलेट जाँदा, गर्मीमा ब्लड प्रेसर घट्छ। ब्लड प्रेसर घटेर अचानक उठ्दा ब्रेनमा रगत नपुगेर मानिस ढल्छ। ढलेको केही समयमा नै मानिस होस्मा आउँछ। उठ्दा टाउकोमा रगत नपुगेर ढलेको मानिसमा उसको ब्रेनमा रगत पुग्दा होस् आउँछ। वरपरको मानिसले होस् आउँदा बसाइदिन्छन्। त्यसो गर्दा फेरि दिमागसम्म रक्तसञ्चार सहज हुँदैन। फेरि उसलाई गाह्रो हुन्छ। त्यसैले प्रेसर कम भएको लडेको मानिसलाई केही बेर सुत्न दिनुपर्छ। बरु खुट्टा उचाली दिनुपर्छ। चिसो पानीले मुख सफा गरिदिनुपर्छ।
सहज भइसकेपछि अलि उठाएर देब्रेतिर फर्काएर पानी पिलाउने, नुनिलो र झोलिलो खाने कुरा खुवाउनुपर्छ। यही लक्षणका आधारमा ब्लड प्रेसर लो र हाइ छुट्याउन सकिन्छ। कहिलेकाहीँ मानिसलाई मेरो प्रेसर लो भएको छ लाग्छ। हस्पिटल जाँदा प्रेसर हाइ निस्किन्छ। घरमा नाप्दा ९०/६० छ। प्रेसरको कुनै लक्षण देखियो भने मानिस लक्षणबाट आत्तिन्छ। आत्तिएर अस्पताल पुग्दा प्रेसर हाइ हुन्छ। लो प्रेसर भएको व्यक्तिको पनि हाइ देखियो भने तनावमा आएको हुन्छ। त्यसपछि हामी लक्षण हेरेर उपचार गर्छौं। लोको झन् डोज घटाउन पर्यो। लक्षण बुझिएन भने कहिले कस्तो दुर्घटना हुन्छ भने व्यक्तिलाई प्रेसर लो थियो। घरमा प्रेसर लो थियो, अस्पताल पुग्दा आत्तिएर हाइ भयो। डाक्टरले औषधि थपिदियो। घरमा उसलाई झन् लो हुन्छ। त्यसैले लो र हाइ ब्लड प्रेसरको लक्षण बुझ्न सक्दा सम्भावित जोखिमबाट जोगिन सहयोग पुग्छ।
(डा. ओममूर्ति अनिलले फेसबुक पेजमा राखेको भिडियोबाट उनीसँगको समन्वयमा साभार सामग्री)