धेरै सुनौं, थोरै बोलौं - Chaitanya News
  • 2026-04-30
  • 16:57:50
  • बिहिबार,बैशाख १७, २०८३
  • “तार्किकाश्छान्दसाश्चैव दैवज्ञाः कर्मठः प्रिये।
    लौकिकास्ते न जानन्ति गुरुतत्वं निराकुलम्।।” ४८ गुरु गीता

    अर्थात्- हे प्रिये ! तार्किक, वैदिक, ज्योतिषी, कर्मकाण्डी तथा लौकिक जनले निर्मल गुरुत्व जानेका हुँदैनन्- भगवान् शिवले माता पार्वतीलाई भन्नुभयो।
    गुरुतत्वको ज्ञान प्राप्त गर्न लौकिक र व्यावहारिक ज्ञान वा सीपले मात्रै सम्भव हुँदैन। यो त गुरुकै सानिध्यमा रहेर गुरुका मुखबाट सुनेर र गुरुले अभिलिखित गरेका ग्रन्थहरूबाट मात्रै सम्भव हुन्छ। गोरखवाणी भनेको साधारण शब्दका माध्यमबाट शक्तिशाली सन्देश प्रवाह गर्ने सन्देशवाहक हो। यसमा गुरु गोरखनाथ भन्नुहुन्छ-
    “सभा देषि मांडौ मति ग्यांन, गू्ंगा गहिला होइ, रहौ अजांण।।
    छाडव राव रंक कि आस, भिछ्या भोजन परम उदास।।”

    अर्थात्- मानिसको समूह देख्ने बित्तिकै ज्ञान बाँड्न लाग्नु हुँदैन। मूक वा बहिरो जस्तो अनजान भएर बस। राजा वा रङ्कको आशामा पनि नबस। लोभरहित हुँदै भिक्षामा जे जस्तो प्राप्त हुन्छ त्यही खाँदै सन्तोष गर।

    “तित्राको मुखै वैरी” भन्ने हाम्रो पुख्र्यौली उखान नै छ। बोलिसकेपछि सोच्नुभन्दा सोचेर बोल्नु धेरै राम्रो। भनिन्छ नि, पछुताउँदा जुन बुद्धि आउँछ त्यो पहिले नै आइदिएको थियो भने मानिसले गल्ती नै गर्दैन। सभा देख्ने बित्तिकै अर्थात् चार जना देख्ने बित्तिकै जानेको छु भन्दैमा ज्ञान बाँड्ने काम गर्नु हुँदैन, धेरै बोल्नु हुँदैन। बोलेको विषय गरेर देखाउन थालेपछि कम बोल्न कर लाग्छ। केही नजानेको लाटो जस्तो अन्जान बनेर बस, सुन र ज्ञान हासिल गर। जब बोल्न अनुरोध गरिन्छ तब मात्र बोल अन्यथा मौन रहेर बस।

    हाम्रा शरीरमा दुई कान र एक मुख छन्। किनकि धेरै सुनौं र कम बोलौं तर हामी कम सुन्छौं र धेरै बोल्छौं। यो नै आजको मूल समस्या हो। यसबाट बच्न बुझेर, जानेर, पूर्ण ज्ञान लिएर तथ्य, आधार र प्रमाणसहित बोलौं। धेरै बोल्दा बोलाइको पवित्रता गुम्छ। धेरै खाँदा भोजनको स्वाद हराउँछ। धेरै सुत्दा इन्द्रियको शक्ति हराउँछ। समय हेरेर, सत्य बुझेर बोल्ने मानिस विवेकी र चतुर हो भने समय र सत्य अनुसार पनि बोल्न नसक्ने मान्छे मूर्ख र लाटो हो। अनावश्यक नबोल्दा सम्बन्धहरू क्रमशः सुधार हुन सक्छन् भने धेरै बोल्दा भएका सम्बन्ध पनि बिग्रन सक्छन्। जब कोही सुन्न तयार छैन भने सुनाउनुको तात्पर्य के ? जब कोही सुध्रन तयार छैन भने सुधार्न खोज्ने ठेकेदारीको औचित्य के ? मुनिहरूले मौन बसेर नै मौन व्याख्यान दिए र शिष्यहरूका सारा संशय दूर गरे। यही नै आर्ष (ऋषि) परम्परा हो-
    “चित्रं वटतरोर्मूले वृद्धाः शिष्याः गुरुर्युवा।
    गुरोस्तु मौनं व्याख्यानं शिष्यास्तु छिन्नसंशयाः।।”

    यसैगरी राजा र रङ्कको आशा छाडेर अघि बढौं। ठूलो व्यक्ति होस् वा सानो, कसैसँग आशा नराखौं। अरुसँग अनावश्यक आशावादी हुनु, स्वयं निराशा र दुःखतर्फ बढ्नु हो। ठूला र साना कसैसँग आशा नगरौं। व्यक्तिसँगको परिचय अनुसार सम्बोधन गरौं, नमस्कार गरौं र आफ्नो कर्ममा लागौं। हामी जोसँग आशा गर्छौं उसैबाट आसक्ति उत्पन्न हुन्छ। उसैबाट आपत्ति र बन्धनको यात्रा सुरु हुन्छ। तसर्थ आशा त्यागेर अघि बढौं। यो युग, यो समय, तपाईंको आफ्नो हो। आफ्नो कल्याण आफैले गर्ने हो। अरु कसैले तपाईंको कल्याण गरेर सुख दिन सक्दैन। आफ्नो मित्र, शत्रु, सुख, दुःख, मान, अपमान, पतन वा उत्थानको कारण तपाईं आफै हुनुहुन्छ। त्यसकारण आफुलाई आफै बुझौं र अघि बढौं। योग अभ्यासद्वारा असम्भव केही छैन भन्ने नभुलौं, युवा होस्, वृद्ध होस्, रोगी होस्, दुर्बल होस् वा जे जस्तो होस्; सबैले योग अभ्यासद्वारा मुक्ति पाउन सक्छन्, सिद्धि पाउन सक्छन् भन्ने कुरा “विवेकमार्तण्ड” मा पनि स्पष्ट भनिएको छ-
    “युवा वृद्धोक्तिवृद्धो वा व्याधितो दुर्बलोक्पि वा।
    अभ्यासात् सिद्धिमाप्नोति सर्वयोगेष्वतन्द्रितः।।”

    योगी/साधकहरूले भिक्षामा जे प्राप्त गर्छन् त्यही सन्तुष्टिका साथ ग्रहण गर्ने हो। सांसारिक विषयमा उदास बन्ने तर आध्यामिक विषयमा उत्साहित बन्ने, जिज्ञासु बन्ने हो। जब योगी साधकहरू भिक्षा माग्न जान्छन् तब अहङ्कार, घमण्ड जस्ता गुण विस्तारै- विस्तारै घट्दै जान्छन्। भिक्षा मागेर जीवन निर्वाह गर्नु आफैलाई सत्मार्गमा हिंडाउने, संयममा राख्ने विशिष्ट चेष्टा हो, साधना हो। भिक्षा माग्न जाँदा जोगीहरूले केही ज्ञान पनि दिएर भिक्षा दिनेलाई सत्मार्गमा हिंड्न प्रेरणा पनि दिन्छन्। भिक्षा लिने भिक्षुकले दुर्भावना, डर, श्रापको भ्रममा राखेर भिक्षा माग्छ भने त्यो रक्त बराबर हो। सुविधासँग बसेर सुख लिने होइन, सुखसँग बसेर सुविधा लिने हो। भिक्षाटन भनेको केवल भिक्षा होइन, केवल उदारपूर्ति होइन। अपितु संयम पनि हो, साधना पनि हो। भिक्षा समाजसँग जोडिने सूत्र पनि हो, आचरणको प्रमाण पनि हो। आफ्नो व्यक्तित्वको परीक्षा पनि हो। भिक्षा लिने र दिने बिचको सम्बन्ध, समभाव र सह- अस्तित्व पनि हो। भिक्षा अन्नदान र ज्ञानदान बिचको पारस्परिक सु- सम्बन्ध पनि हो। भिक्षामा के पाइन्छ ? कति पाइन्छ ? भन्ने चिन्ता वा आशा हुनुहुँदैन। जे मिल्छ, जति मिल्छ, त्यसैमा रम्ने, सन्तुष्ट हुने हो। सन्तोष आफैमा एक ठूलो साधना हो। भिक्षा अहङ्कार त्याग, वैराग्यभाव, समभाव र समर्पणको एक विशिष्टीतम साधना हो, भिक्षा केवल भोजन होइन, महाप्रसाद हो। यसलाई उदास भावले वा विरक्त भावले जसले ग्रहण गर्न सक्छ ऊ परम जोगी हो- “भिछ्या भोजन परम उदास।”

    तसर्थ जीवनमा धेरै सुनौं, कम बोलौँ, आशा/आसक्ति छोडेर कर्ममा विश्वास राखेर अघि बढौँ। केवल बोल्नको लागि नबोलौं, प्रेमभाव र सेवा भावले बोलौं। वाणीको पवित्रता बुझौं। वाणीकै साधना गरौँ। वाणीमै वेद खोजौं, जोडौं। वाणीमै मन्त्र, चेतना, सिद्धि र कल्याण जोडौं। एक असल वाणीले जीवन बदल्न र बचाउन सक्छ भने एक खराब वाणीले सबै बर्बाद गर्न सक्छ, सावधान बनौं। वाणीलाई केवल मुख र मस्तिष्कको विषय बनाउनु हुँदैन, जीवनको अनुभूति र प्रगति बनाऔं। वाणीलाई केवल बुद्धिविनोद होइन, आत्मबोध बनाऔं। सभाको लागि, प्रदर्शनको लागि वाणी होइन, ज्ञान होइन अपितु जीवनका लागि, स्वबोध एवं स्वानुभूतिका लागि हो भन्ने नभुलौं।

    जय गुरु गोरखनाथ।।