काठमाडौं– शिक्षकले दान, उपहार, चन्दा सहयोग लिन नपाउने भएका छन्।
आज (बुधबार) शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयकमा भनिएको छ, ‘विद्यालयको काम र विद्यार्थीको सिकाइ तथा मूल्याङ्कनमा प्रभाव पर्न सक्ने गरी कुनै शिक्षकले स्थानीय तहको पूर्वस्वीकृति बिना आफूले वा आफ्नो परिवारका कुनै सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन हुँदैन।
शिक्षकलाई कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले स्थानीय तहलाई सो विषयको जानकारी दिई स्थानीय तहवाट निर्णय भएबमोजिम गर्नुपर्ने विधेयकमा भनिएको छ। कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था विधेयकमा ल्याइएको छ।
‘शिक्षकले स्थानीय तहको पूर्वस्वीकृति बिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानुनबमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न हुँदैन,’ विधेयकमा भनिएको छ।