कर्म गरौं, कर्मकाण्ड मात्रै होइन - Chaitanya News
  • 2026-04-30
  • 16:56:18
  • बिहिबार,बैशाख १७, २०८३
  • कर्म गरौं, कर्मकाण्ड मात्रै होइन

    कर्म गरौं, कर्मकाण्ड मात्रै होइन

    “तापत्रयाग्नितप्तानां अशान्तप्राणीनां भुवि।
    गुरुरेव परा गंगा तस्मै श्रीगुरवे नमः।।”

    अर्थात्- यस पृथ्वीमा त्रिविध ताप (आधि- व्याधि- उपाधि) रूपी आगोले जली अशान्त भएका प्राणीका लागि शान्ति, शीतलता दिने गुरुदेव नै एकमात्र उत्तम गङ्गाजी हुनुहुन्छ। यस्ता श्रीगुरुदेवलाई नमस्कार छ।

    हामी कर्म गर्छौ तर धेरैजसो अवस्थामा मूल अर्थ नजान्दा गर्नु र नगर्नुको केही फरक पर्दैन। बरु झन् घातक हुन सक्छ। त्यसैले हामीले कर्म गर्नुपूर्व अत्यन्तै सोचविचार गरेर अघि बढ्नुपर्छ। कर्मकाण्ड पछाडि लुकेको जान्नुपर्ने कर्म जानौँ, भाव जानौं। गुरु गोरखनाथ भन्नुहुन्छ-

    “तीरथ बर्त कदै जिनि करौ, गिर परबतां चढि प्रानमति हरौ।
    पूजा पाति जपौ जिनि जाप, जोग माहि विटंबौ आप।।”

    अर्थात्- तीर्थ व्रत जेजति गर्छौ, पहाड पर्वतमा चढेर प्राणत्याग समेत गर्छौ, पूजापाठ आदि लगायत जेजस्ता जप गर्छौ, ती सबै योगमा रहेर आफै प्राप्त गर्न सक्छौं।

    धर्मकर्म वा आत्मसन्तुष्टि वा मोक्षका लागि हामी जेजस्ता कर्म गर्दछौँ त्यसको अर्थ बुझेर गर्नु राम्रो हुन्छ। शरीरलाई दुःख दिएर मात्रै धर्मकर्म हुन्छ वा मोक्ष पाइन्छ भन्ने पनि होइन। केवल शरीरको पोषणमा मात्रै लाग्नु पनि हुँदैन र शरीरलाई दुःख दिनु मात्रै पनि हुँदैन। यसकै लागि विवेक पु¥याउनुपर्छ। तीर्थव्रत आदि गर्न पहाडमा सकी नसकी चढी प्राण गुमाउनु हुँदैन, अनावश्यक सङ्घर्ष गर्नु हुँदैन।

    हामीले आफूलाई चिन्न सकिरहेका छैनौँ, हामीभित्र रहेको चेतनाशक्तिलाई बुझन सकेका छैनौं। मनभित्रको चेतनाशक्तिलाई बुझौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी रहस्यमय हरफलाई बुझौं-

    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
    कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो?
    मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो?
    हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार,
    मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार,

    नशा- नदीका तरल तरङ्ग, मन्दिर आफू अपार,
    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार?
    मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज
    चेतनको यो ज्योति हिरण्मय, उसको शिरको ताज
    शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
    भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिंड्छौ कुन पुर?

    ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर?
    खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर।
    साथी यात्री ! बीच सडकमा, ईश्वर हिंड्दछ साथ
    चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
    छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ।

    सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
    बोल्दछ ईश्वर मानिसहरूको पीडा, दुःखको गानामा
    दर्शन किन्तु कहीँ दिँदैन, चर्म- चक्षुले कानामा
    कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा?
    फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
    मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
    मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ।

    ब्रह्माण्डको निर्माण एक एक एकाइहरूको समष्टिबाट भएको छ। शरीरको निर्माण पनि त्यसरी नै एक एक अङ्गहरूको संयोजनबाट भएको छ। ब्रह्माण्डमा भएका तत्त्वहरू जे जे हुन्, शरीर निर्माणमा पनि उनै तत्त्व विद्यमान छन्। त्यसैले “यत् पिण्डे तत् ब्रह्माण्डे” अर्थात् शरीरमा जे जे छ ब्रह्माण्डमा पनि त्यही छ भनिएको छ। शरीरको सर्वोच्च स्थान मस्तिष्क हो। पृथ्वी एक पिण्ड हो भने ब्रह्माण्ड त्यसको मस्तिष्क हो।

    यताउता भौँतारिनुको अर्थ छैन। जे छ हामीभित्रै छ। त्यही तत्त्वलाई जानेर संसार हँसाउने दिव्य कर्म गरौँ। हाम्रै नेपाली महत्त्व र इतिहास बोकेका तीर्थहरूलाई बुझौँ। पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, पाथीभरा देवी, लुम्बिनी, जनकपुरधाम, केदारनाथ, देवघाट धाम, हलेसी महादेव, स्वर्गद्वारी महाप्रभु, स्वयम्भूको तीर्थस्थलको महत्त्व बुझौँ। यस देवभूमि, ज्ञानभूमि, वेदभूमि, ध्यानभूमिका कर्मयोगी भएर सत्कर्म गरौँ, आफैलाई चिनौं। हामीले रीतिरिवाजको पालना गर्दागर्दै आध्यामिक बन्न सक्नुपर्छ। नत्र ती अर्थहीन चलनको अर्थ छैन। यति धेरै शक्तिपीठ, पूजा, अर्चना, उत्सव भएको देशमा जन्मेका हामी नेपालीले किन सुखी, समृद्ध परिवार र समाजनिर्माण गर्न सकेनौं ? हामीले किन तिनको महत्त्व बुझन सकेनौं ?

    संसारको ज्ञानको केन्द्र नेपाल हो। संसारको उदाहरणीय देश नेपाल हो। संसारमा कति देश छन् तर यति सानो देश नेपालका कैयौँ सम्पदालाई विश्वले नेपालको मात्रै होइन हाम्रो पनि हो भनेको छ। विश्वका सबैले तिनको लाभ र संरक्षण गर्नुपर्छ भनेर नेपालका धेरै सम्पदालाई विश्व सम्पदा सूचीमा राखिएको छ। तर आज हामी आफ्नो मूल छोडेर अरुको देखासिकी गर्दा पतन र सङ्कटको स्थितिमा पुगेका छौँ। हामीले गर्ने कर्मको पछाडि रहस्य बुझौँ। तब मात्रै हाम्रो उन्नति प्रगति हुनेछ। योग गरौँ, अध्यात्म बुझौँ, व्यावहारिक बनौँ।

    योगबाट स्वस्थ व्यक्ति, परिवार, समाज र राज्यको निर्माण हुन्छ। हाम्रा वरिपरि भएका सबै विषयलाई योगको माध्यमबाट बुझौँ। चाहिनेलाई ग्रहण गरौँ र नचाहिनेलाई छोडेर गन्तव्यतर्फ अघि बढौँ। “योगः कर्मसु कौशलम्” योग नै सबै कर्मको सार हो भन्ने यस मन्त्रलाई बुझेमा जीवन सफल बन्छ भन्ने नभुलौं। आफूले गर्ने कामको नतिजा बुझेर मात्रै कर्म गरौँ। देखासिकी मात्रै होइन। बुझेर कर्म गरौँ जसबाट सबैको भला होस्।

    मूल विषय के हो भने तीर्थ, पूजा, व्रत, पाठ आदि साधन हुन्, साध्य होइनन्; माध्यम हुन्, लक्ष्य होइनन्। तीर्थ गर्दागर्दै जीवन तीर्थमय बनोस्। पूजापाठ गर्दागर्दै जीवन पूजामय बनोस्। व्रतद्वारा व्रतशक्तिको विकास होस्। पत्थरपूजनद्वारा पनि पत्थरमा देवता र आनन्दको अनुभूति होस्। तर यी सबै विषय त योग, ध्यान र ज्ञानद्वारा मात्र सम्भव छ।

    योगभाव र ज्ञान बिना गरिएको तीर्थ पनि मात्र एक “टुरिज्म” हो। गिरी, पर्वत आदिको भ्रमण पनि मात्र एक “ट्रेकिङ” हो। व्रत आदि पनि मात्र एक “फास्टिङ्ग” हो। इन्जिन बिना गाडी डब्बासरह हो। प्राण बिना शरीर एक लाससरह हो भने जस्तै योगभाव एवं ज्ञान र ध्यान बिना आदि गरिएका तीर्थादि पनि केवल शुष्क क्रिया र कोरा कर्मकाण्ड हुन्। हुन त कर्मकाण्ड, तीर्थ आदिका पनि आफ्ना केही महत्त्व छन्। पुरातत्त्व, इतिहास, संस्कृति, संस्कार, धार्मिक पर्यटन, मौलिक पहिचान र परम्परा आदिका हिसाबले यी सबैका पनि आ- आफ्नै केही विशेषता छन् तर पूर्णता भने हुँदैन। पूर्णताको लागि त गहन अध्यात्म, दर्शन, ज्ञान, ध्यान र योग नै चाहिन्छ। अन्ततः योगमै जीवन छ, संस्कृति छ, समाज छ, विश्व छ र मानवता छ। त्यसैले शिवपार्वती संवाद प्रसङ्गमा “योगबीजम्” नामक ग्रन्थमा योग भन्दा ठूलो अन्य कुनै पुण्य छैन, सुख छैन, सूक्ष्म शक्ति छैन, मार्ग छैन भनी व्याख्या गरिएको छ–

    “योगात् परतरं पुण्यं योगात् परतरं सुखम्।
    योगात् परतरं सूक्ष्मं योगमार्गात् परं नहि।।”

    जय गुरु गोरखनाथ।।