अर्घाखाँची– अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन्। सन्धिखर्कमा ४ सय ५ जना मानिस डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ। त्यस्तै भूमिकास्थानमा ९९ जना, पाणिनीमा १९, मालारानीमा, ३१ जना, छत्रदेवमा ३७ र अन्य १४ जना गरी ६ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिए।
साथै स्क्रब टाइफसको संक्रमणबाट २ जनाको मृत्यु भएको उनले बताए। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिकाका २ जना पुरुष रहेको उनले बताए। त्यस्तै २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको समेत सूचना अधिकारी बिकले बताए।
जसमध्ये सन्धिखर्कमा १ सय ४, भूमिकास्थानमा ७७, शितगंगामा ३, पाणिनीमा १०, मालारानीमा ९, छत्रदेवमा ७ र अन्य ६ गरी २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उनले बताए।