समायोजन पुनरावलोकनसहित अन्तर तह सरुवाको व्यवस्था ऐनमा राख्न माग - Chaitanya News
  • 2026-05-02
  • 22:00:15
  • शनिबार,बैशाख १९, २०८३
  • समायोजन पुनरावलोकनसहित अन्तर तह सरुवाको व्यवस्था ऐनमा राख्न माग

    समायोजन पुनरावलोकनसहित अन्तर तह सरुवाको व्यवस्था ऐनमा राख्न माग

    काठमाडौँ– राजपत्र अनङ्कित कर्मचारी संरक्षण समूहले कर्मचारी समायोजन पुनरावलोकनसहित समायोजित कर्मचारीको अन्तर तह सरुवाको व्यवस्था गर्न माग गरेको छ। आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। यस्तै संरक्षण अभियानले कर्मचारी समायोजनले मर्कामा परेका कर्मचारीलाई समायोजन पुनरावलोकनको व्यवस्थासहित समायोजित कर्मचारीको अन्तर तह सरुवाको व्यवस्था गर्न माग गरेको हो।

    देशको सार्वजनिक प्रशासनको छाता कानुनको रुपमासमेत रहेको संघीय निजामती सेवा ऐन जारी हुन नसक्नु दुःखको विषय रहेको भन्दै अग्रपंक्तिमा रहेर काम गर्ने सबैभन्दा ठुलो सङ्ख्यामा रहेका राजपत्र अनङ्कित कर्मचारीहरूले उठाएका मागहरूको बेवास्ता गरेकोप्रति दुखेसोसमेत कर्मचारीले पोखेका छन्। आफूहरूले पुर्‍याएको योगदानलाई नजरअन्दाज गर्दै, समग्र राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर बनाउने गरी सरकारले सङ्घीय निजामती सेवा ऐन सम्बन्धी विधेयकको मस्यौदा संघीय संसदमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको विषयमासमेत उनीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य बनाउन माग गरेको संरक्षण अभियानले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासनका माध्यमबाट शान्ति, विकास र समृद्धि हासिल गर्न सक्षम निजामती प्रशासनलाई निर्माणका लागि आवश्यक व्यवस्था गर्नसमेत माग गरेका छन्।