प्रतीक्षारत सुनौलो दिन - Chaitanya News
  • 2026-04-30
  • 15:29:43
  • बिहिबार,बैशाख १७, २०८३
  • कोरोना कालपछि नै होला, नेपाली अर्थतन्त्रले एउटा गति लिन नसकेको। हुन त् त्यो भन्दा अगाडि भूकम्प र नाकाबन्दीले प्रभाव पारेको नेपाली अर्थतन्त्रलाई आजसम्म पनि प्रभाव पारेकै देखिन्छ। एकातर्फ उच्च ब्याजदरको शिकार बनिरहेका ब्यापारी एउटा तनावमा छन भने अर्को तर्फ बेरोजगारीको समस्याले पिल्सिदै गरेका युवा अर्कोतर्फ। अहिले ठुलो युवा जमात नै देशभित्र छैनन, दिनहुँ हजारौं संख्यामा युवाहरू विदेश जाने क्रम बढ्दो छ। हुने खाने जमात – अस्ट्रेलिया, अमेरिका, बेलायत भने गरी खाने वर्ग खाडी जाने संख्या बढ्दो क्रममा रही आएको देख्न सकिन्छ।

    तर, हर एक अँध्यारो पश्चात एउटा उज्यालो क्षण आउँछ। विगतको परिपाटी हेर्ने हो भने जापानमा पनि यस्तै समस्या आएकै थियो, तर बिस्तारै समय संग परिवर्तन सहज हुन थाल्यो। जब त्यहाँ युवाहरू खाट्टिएर १८ घण्टासम्म काम गर्न थाले, सम्बृद्धि सम्पूर्ण विश्वले देख्न पायो। नेपालमा विगतको समय मात्र हेर्ने हो भने पनि धेरै प्रकारको परिवर्तन भएकै हो। नेपालको अवस्था पनि अर्को पक्षबाट नियाल्दा बिस्तारै अवशरपूर्ण हुने पक्ष रहँदै आएको बुझ्न सकिन्छ।

    लोक सेवा आयोगले २०७२ साल पश्चात निजामति मात्र नभएर सम्पूर्ण सरकारी स्वामित्व रहेको संस्थानहरूको जिम्मेवारी लिइसके पश्चात, हिजोझैँ आफ्ना मान्छेले मात्र अवशर प्राप्त गर्ने सम्भावना कम हुँदै गएको प्रत्यक्ष देख्न सकिन्छ। त्यसपछि, साक्षार वर्गहरूको प्राथमिकता नेपाल नभएपछि, लोकसेवाबाट सरकारी सेवा प्रवेश गर्न नै पर्याप्त अवशर हुन् थाल्नेछ। नेपालमा रोजगारी पाइँदैन भन्दै १२ पछि नै विदेशिने लहरले नेपाल बस्छु भन्ने जमातको निमित्त पर्याप्त अवसरहरू दिलाउनेमा निश्चित छ। त्यसमाथि अहिले पनि भारतबाट ल्याएर श्रम गराउनु पर्ने तराइका फ्याक्ट्रीहरूमा बिस्तारै नेपालीहरूले नै अवशर प्राप्त गर्ने छन्। नेपालमै पर्याप्त अवशर रहिरहने छन्। नेपालमा अझै पनि उत्तिकै सम्भावना भएको भनेको नै पर्यटन क्षेत्र हो। जस्तै अवस्था आए नि विश्वको शिखर सगरमाथा नेपालमै रहिरहने छ; प्राकृतिक पक्ष – ती हिमाल, पहाड, ताल, खोला यहि रहिरहने छ! धार्मिकतर्फ गौतम बुद्दको भूमि र पशुपति, पाथिभरादेखि स्वर्गद्वारी, त्रिपुरा सुन्दरी, मालिकार्जुन यही रहेर पर्यटकहरुलाई आकर्षित गरि रहने छ।

    समस्या जता पनि हुन्छन्, तर समस्या कै बीचबाट अवसरहरु भेटिन्छन्। हाम्रो अस्तित्व हिजो के थियो भन्दा पनि भोलि के हुन्छ मा निर्भर गर्ने हो।

    कुरा गर्ने हो भने पनि, नेपालमा उपलब्ध जलश्रोतको गणना गर्ने हो भने, ८३ मेगावाटको क्षमता राख्दछ। आज जसरी ओपेक राष्ट्रहरू तेलको कारण आफ्नो पहिचान र सम्वृद्धि सुनिश्चित गर्न सफल छन, नेपालले आगामी दिनमा जलश्रोतबाट नै आफूलाई प्रमाणित गर्ने अवसर छ। विदधुत प्राधिकरणको नाफा बढ्नु र नेपालले विद्धुत निर्यात गर्न थाल्नु आफँैमा एउटा अवसर सिद्द भैसकेको बुझ्न सकिन्छ। त्यसबाहेक वैदेशिक लगानी बढ्दो क्रममा रहेको बुझ्न सकिन्छ, नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार नेपालमा रहेको वैदेशिक लगानी १।२ प्रतिशतले बृद्दि हुँदै गएको तथ्यांक देख्न सकिन्छ। उदेश्य अनुरुप यसले निजि क्षेत्रमा समेत सहभागिता बढाउने पक्षले मूल्य मान्यता राख्ने गर्दछ र वैदेशिक लगानी सम्बन्धी उत्पादकत्व सुनिश्चित गर्ने हुन्छ। लगानीको अवशर थपिदै जाँदा थप अवसरहरूको चाङ आउने सम्भावना उत्तिकै रहन जान्छ।

    भर्खरै प्रकाशित एक प्रतिवेदन अनुसार नेपालमा सात सय प्रजातिका जडिबुटीहरू औषधिमा प्रयोग भएको बुझिएको छ। यहाँ बाट नेपालमा उपलब्ध जैविक विविधताको कारण जडिबुटीको समेत प्रसस्त सम्भावना रही आएको छ। जडिबुटी कम्पनीहरू नाफामा समेत गई सर्वसाधारणलाई सेयर बाँड्ने नीतिमा पुगिसक्दा यसमा समेत अथाह सम्भावना रहेको स्पष्ट बुझ्न सकिन्छ।

    स्वास्थ क्षेत्रमा नेपालमा प्रचुर अवसरहरू खुल्दै छन्। विगतझैँ केही पर्दा देल्ही, भेल्लोर, चेन्नई जाने क्रम क्रमशः घट्दो क्रममा छ। अहिलेको युवा जमात भोलि बृद्दी हुँदै गर्दा स्वास्थ क्षेत्रमा हुने लगानी समेत सम्भावना युक्त रहेको छ, जसले गर्दा आज महँगोमा पढेका विधार्थीलाई भोलि पर्याप्त सम्भावना रहनेमा दुई मत रहँदैन। बिस्तारै नेपाल एक सहासिक खेलको थलो समेत हुन थालेको छ जहाँ स्वदेशी मात्र नभएर विदेशी आकर्षण समेत बढ्न थालेको छ। जिपलाइन देखि हावामा वेपर्वाह बत्तिन प्याराग्लाइडिङ सम्म; क्यानोनिङ, ¥याफ्टिङ, बन्जी जस्ता सहासिक खेलहरुले नेपालको यस क्षेत्रमा निकै ठुलो सम्भावना खोतलेको सहजै बुझ्न र देख्न सकिन्छ।

    छिमेकी बलियो हुँदै गर्दा आफ्नो स्थान समेत माथी जाने हुन्छ। चन्द्रमा सम्म आफ्नो पहुँच पुर्याएको भारत र विश्व भर प्राविधिक पक्षमा एक क्षत्र राज गर्ने चिन निकट रहंदा हामीले सम्भावना अंगाल्न सकेमा समस्त हित हुने पक्ष भुल्न हुँदैन। अब जति विदेशीने थिए, विदेशी सके – जति नेपालमा छन, जतिको बस्ने रहर छ, इक्षा छ – उनीहरूबाट नै सम्पूर्ण पक्ष खोजी गरी, मुल्यांकन गरी देशलाई आर्थिक, प्राविधिक, सामाजिक रुपान्तरणको निमित्त अगाडि लैजानु पर्ने हुन्छ – यहाँ प्रचुर सम्भावना छँदै छ!

    समस्या जता पनि हुन्छन्, तर समस्या कै बीचबाट अवसरहरु भेटिन्छन्। हाम्रो अस्तित्व हिजो के थियो भन्दा पनि भोलि के हुन्छ मा निर्भर गर्ने हो। वैदेशिक लगानी नेपालमा त्यसै भएका पक्कै हैनन्, यहाँ अवशर भएरै भएको हो! सकारात्मक रुपले सोच्दा, आज म जुन स्थानमा छु, मेरा अब्बल प्रतिस्पर्धी साथीहरू विदेशिएकै कारणले छु – यदि उनीहरू यहाँ हुन्थे भने म सायद आज यस स्थानमा हुने थिइन! म धन्न छु उनीहरू प्रति। अब जित विगतको परिपाटी अँगाल्नेहरू को हैन, भविष्यमा आफ्नो स्थान मुल्यांकन गरि मार्ग चित्रण गर्नेहरू कै हो – फर्केर आउने छन् नेपालमा सुनौलो दिन!

    भारतबाट बाहिरिएका जमात आज विश्वभर छन – अफ्रिकामा, अमेरिकामा, बेलायतमा; तर जब अब सम्भावना भारतमै देखिन थालेको छ, फर्कने जमात पनि उत्तिकै छ! ‘ब्रेन ड्रेन’ को उल्टो ’ब्रेन गेन’ भनिन्छ, र भारतमा टुसो पलाउन थालेको ’ब्रेन गेन’ले सम्भावना भरपुर बोकेको बुझ्न सकिन्छ। नेपालमा पनि यो लय नआउला भन्न सकिन्न, किन भने अहिले पनि विदेशिएका, पीआर पाएका नेपालीहरूको मनमा कतै न कतै त नेपाल फर्किने कि भन्ने सोच आउने नै गरेको देखिन्छ।

    (रेग्मी बैंकर हुन्।)