द्वन्द्वबाट उम्कने युक्ति - Chaitanya News
  • 2026-04-30
  • 15:29:24
  • बिहिबार,बैशाख १७, २०८३
  • “एक एव परो बन्धुर्विषमे समुपस्थिते।
    गुरुः सकलधर्मात्मा तस्मै श्रीगुरवे नमः।।”

    अर्थात्- जब विकट परिस्थिति उत्पन्न हुन्छ। त्यति बेला एकमात्र सबै धर्मको आत्मस्वरूप श्रीगुरुदेवले रक्षा गर्नुहुन्छ। उनै गुरुलाई नमस्कार गर्दछु।

    जब हामी सद्गुरु, सद्वाणी, सदाचरण, सत्सङ्ग गर्छौं तब जीवनमा सकारात्मक सोच पैदा हुन्छ। जबसम्म सकारात्मक सोच आउँदैन तबसम्म आफ्नै जीवनको द्वन्द्वबाट उम्कन सकिन्न। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ-

    “छाडौ दंद, रहौ निरदंद, तजौ अल्यंगन, रहौ अबंध।
    सहज जुगति ले आसण करौ, तन मन पवना दिढ करि धरौ।।”

    अर्थात्— द्वन्द्वलाई छाड, निद्र्वन्द्व बन; आलिङ्गन, आसक्ति छाड, बन्धनमुक्त बन। सहज जीवनयापन गर, आसन गर; तन, मन र प्राणलाई स्थिर गर वा संयोग गर।

    हामी कहिले भैतिक द्वन्द्व, कहिले मानसिक द्वन्द्व, भावनात्मक द्वन्द्व, जातीय द्वन्द्व, भाषिक द्वन्द्व, व्यावसायिक द्वन्द्व, शैक्षिक द्वन्द्व, पारिवारिक द्वन्द्व, सामाजिक द्वन्द्व, हुँदाहुँदै धार्मिक द्वन्द्व जस्ता अनेकौँ द्वन्द्वमा अल्मलिएका छौँ। हामी कुविचार र सुविचारको द्वन्द्वभन्दा माथि निर्विकारतर्फ अघि बढौँ। राम्रो र नराम्रोभन्दा माथिको परम सत्यतर्फ बढौँ, द्वन्द्वको बन्धन तोडौँ। सत्य सधैँ तर्कभन्दा माथि हुन्छ, जहाँ कुनै द्वन्द्व हुँदैन। त्यही भएर भनिन्छ, ईश्वर तर्कभन्दा माथि छन्। ईश्वरको महिमाको बारेमा “सिद्धकोष” मा पनि सा¥है सुन्दर व्याख्यान गरिएको छ। ईश्वर सर्वाधार हो, सदाचारस्वरूप छ, पुरुषोत्तमस्वरूप छ, आदिनाथस्वरूप छ, जालन्धरस्वरूप छ, गोरक्षस्वरूप छ, अव्यक्तस्वरूप छ, निराकारस्वरूप छ।

    “आदिनाथो जलन्ध्रोक्थ गोरक्षोक्व्यक्त ईश्वरः।
    निरालम्बो निराधारो महामीनो महेश्वरः।।”

    “सत्यं ज्ञानमनन्तं ब्रò” अनुसार सबै द्वन्द्व र बन्धनभन्दा माथि छ ब्रहमत्त्व। जब हामी द्वन्द्वबाट, बन्धनबाट माथि उठ्नेछौँ, तब जीवनको सही मार्गतर्फ अघि बढ्नेछौँ। हामी नराम्रो काम गर्ने बेलामा नसोचेर, लुकाएर, छुपाएर गर्छौं तर राम्रो कामको लागि चिन्तन पनि गर्दैनौँ ? ऊर्जालाई सकारात्मकतातर्फ किन लादैनौं ? गुरु गोरखनाथ सूक्ष्मवेदमा भन्नुहुन्छ- जसरी कमलपत्र निर्लिप्त हुन्छ, हामीले पनि शुभ- अशुभ कर्मदेखि निर्लिप्त भएर ब्रáमय जीवन, योगी जीवनयापन गर्न सक्नुपर्छ।

    “तथा ब्रह्ममयो योगी कर्मभिर्न शुभाशुभैः।
    देहाभिमानिनो लिङ्गं स्वयमात्मा प्रकाशते।।”

    गुरु गोरखनाथ भन्नुहुन्छ- कठिन होइन, सजिलो योग साधना गर। गुरु गोरखनाथले जुन हठयोग सिकाए त्यसलाई मानिसहरूले कठिन परिश्रम र पसिना बगाएर गर्ने योग हठयोग हो भनेर गलत अर्थ लगाए तर यहाँ ‘हठ’ को अर्थ विशिष्ट र रहस्यमय छ। ‘ह’ भनेको सूर्य र ‘ठ’ भनेको चन्द्रमा हो, सूर्य र चन्द्रमाको मिलन गराउने प्राणायामपरक विशिष्ट विद्यालाई हठयोग भनिएको हो। हाम्रो तन, मन, पवन (प्राण) स्थिर गराउने योग गरौँ। हाम्रो तन, मन, प्राणलाई सन्तुलित गरौँ र दृढ बनाऔँ। यो कस्तो बेलामा सम्भव हुन्छ भने जब हामी हठयोग गर्छौं। त्यसैले गुरु गोरखनाथ “योगबीजम्” मा भन्नुहुन्छ-

    “हकारेण तु सूर्यः स्यात् सकारेणेन्दुरुच्यते।
    सूर्यचन्द्रमसोरैक्यं हठ इत्यभिधीयते।।”

    सूर्यशक्ति र चन्द्रमाशक्ति, जब यी दुई शक्ति मिल्छन् पूर्ण अवस्था बन्छ। इडा, पिङ्गला र सुषुम्ना शक्ति अर्थात् इडा ऋणात्मक शक्ति र पिङ्गला धनात्मक शक्तिको मिलनबिन्दुलाई सुषुम्ना शक्ति भनिन्छ। जब यिन र यांग शक्तिको (जस्तैः अँध्यारो र उज्यालो शक्तिको सम्बन्ध), सकारात्मक र नकारात्मक शक्तिको, प्रकृति र पुरुषतŒवको संयोग हुन्छ, तब हामी द्वन्द्व र बन्धनमुक्त हुन्छौँ। जीवन सहज हुन्छ, पूर्ण र अर्थपूर्ण बन्छ।

    संसारमा धेरै प्रकारका द्वन्द्व छन् ती सबै द्वन्द्वलाई अहिले राजनीतिक द्वन्द्व, बौद्धिक द्वन्द्व र आर्थिक द्वन्द्व प्रमुख छन्। त्यसमा पनि द्वन्द्वात्मक भौतिकवादले लाखौँलाखको हत्या नै गरिदियो। द्वन्द्वात्मक भौतिकवादी सोचले त मानिसको पूर्णता, दिव्यता र सुन्दरतालाई नै नष्ट पारिदियो; मान्छेलाई पशुजस्तै हिंस्रक बनाइदियो। प्रकृति र मानव बिचको स्वार्थी, दम्भी, लोभी द्वन्द्वले पनि आज मानव जातिलाई नै मृत्युको संघारमा पुर्‍याइदियो तर अध्यात्मको हिसाबले द्वन्द्वको मूल कारण बाहिर होइन, भित्र छ। तन, मन र प्राणको सही ज्ञान र सन्तुलन हुन सकेमा सबै द्वन्द्व हराउँछन्। आसक्ति हराउँदै गएमा बन्धन पनि सबै हराउँदै जान्छन्। आज पारिवारिक वातावरण, सामाजिक वातावरण लगायत राष्ट्र, विश्व आदि सबै क्षेत्रमा भयानक अवस्था सृजित भएको छ। मान्छे मान्छेसँगै भयभीत भएको छ। आफैसँग त्रस्त भएको छ। आफ्नै अन्तरमनको द्वन्द्वमा फसी आत्महत्या गर्न विवश भएको छ।

    प्रकृति मिलन हो। जीवन मिलन हो। सृष्टि मिलन हो। जन्म र मृत्युको चक्र पनि एक अदृश्य मिलन हो। यस अदृश्य मिलनलाई, अद्भुत मिलनलाई, जीवनयोगलाई बुझ्न नसक्दा नै हामी दुःखी भएका छौँ। “सहज जुगति” नबुझदा आफै असहज बन्दै अन्धकारमा भासिंदै गएका छौँ। त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ – “तन मन पवना दिढ करि धरौ।।”

    जय गुरु गोरखनाथ।।