धार्मिक सहिष्णुता कायम गरौं - Chaitanya News
  • 2026-04-30
  • 15:29:44
  • बिहिबार,बैशाख १७, २०८३
  • धार्मिक सहिष्णुता कायम गरौं

    धार्मिक सहिष्णुता कायम गरौं

    केही दिन यता धर्मका विषयले फेसबुक भित्ताहरू निकै तातेका छन्। धर्म कै विषयलाई लिएर फेसबुकमा अनेक खालका तर्कबितर्क भइरहेका छन्। बहुसंख्यक हिन्दु धर्मावलम्बीहरू भए पनि नेपाल एक धर्म निरपेक्ष मुलुक हो। हरेक नागरिकलाई आ-आफ्नो धर्म मान्ने स्वतन्त्रता छ। पछिल्लो केही दिन यता देखिएका गतिविधिले समाजलाई असहिष्णु बनाइ रहेको भान मलाई भएको छ।

    नेपालको संविधानअनुसार नेपाल धर्म निरपेक्ष मुलुक हो त्यसकारण नेपाल राज्यको कुनै धर्म छैन। धर्मनिरपेक्ष राष्ट्र भइसकेपछि राज्यले सबै धर्मलाई समान दृष्टिकोणले हेर्न जरुरि छ। हरेक नेपाली नागरिकले आफूले मन पराएको धर्म छनोट गर्न पाउने वा धर्म अपनाउन पाउने स्वतन्त्रता छ। नेपाल धर्म निरपेक्ष मुलुक भइसकेपछि नेपाल देश अर्थात राज्य कुनै धर्मबाट निर्देशित हुनु हुँदैन। राज्यले हरेक नागरिकको धार्मिक स्वतन्त्रताको रक्षा गर्नु पर्दछ। सबै धर्मावलम्बीहरूलाई समान व्यबहार गर्नुपर्छ। धर्मका आधारमा सबै नागरिकलाई समान दृष्टिकोणले हेर्नुपर्छ र कसै धर्मलाई पनि राज्यले नकारात्मक दृष्टिले हेर्नु हुँदैन, किनकि राज्यको कुनै धर्म हुँदैन। राज्यले कुनै पनि धर्ममाथि विभेद पनि गर्नु हुदैन। मलाई जहाँसम्म लाग्छ नेपाल धर्म निरपेक्ष मुलुक भइसकेपछि राज्यका कुनै न कुनै निकायमा बसेका व्यक्तिले पनि सबै धर्मावलम्बीलाई राज्यका नजरले अर्थात समान नजरले हेर्नुपर्छ। आफू जुनसुकै धर्ममा आस्था राखेपनि व्यवहार चाहि सबै धर्मावलम्बीलाई समान गर्नुपर्दछ। नेपाली नागरिक भइसके पछि कानुनको पालना गर्नु हामी सबैको कर्तब्य हो। केही धर्म निरपेक्षताको पक्षमा वकालत गर्दै आएकाहरु नेपालमा अल्पसंख्यक छन् तर कानुन निर्माण प्रकृयामा उनिहरुको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। म सही नहुन सक्छु तर मेरो मनमा लागेको कुरा के हो भने हामीले धर्म निरपेक्ष देश बनायौ तर हिन्दुहरूले पुज्ने गरेको गाइलाई राष्ट्रिय जनावर बनायौ। यो आफैमा पनि अस्पष्ट, द्वैतचरीत्र र बिरोधाभाषपूर्ण छ। कानुनमा भएको यस्तो दोभाषे शैलीले गर्दा राज्य स्वयमलाई अफ्ट्यारोमा पारेको छ। हामी एकातिर धर्म निरपेक्ष राष्ट्र भन्ने अर्कोतिर हिन्दुहरुको आक्रोश रोक्न हिन्दुहरुले पुज्ने गाईलाई राष्ट्रिय जनावर बनाउने र गाई गोरुको मासु खान नपाउने कानुन निर्माण गर्ने यो संविधानमा र कानुनमा भएको दोभाषे शैली हो।

    म सुदूरपश्चिम डोटीको वासिन्दा हुँ। हाम्रो गाउँ घरमा एउटा भनाइ खुब प्रचलित छ। काम नलाग्ने भाडाकुडा र कृषि औजारहरु भएपछि कैल त्योइ ठाणो बाबनका हात दिन्ना भन्छन र काम नगर्ने अशक्त बल्ल (गोरु) लाई गालि गर्दासमेत तु…. हात दिनु होईजायई … तेरा मुन्टाईनी बन्चरा हाणन्ना भन्ने गर्छन् । वास्तवमा भन्ने हो भने माथि उल्लेखित प्रचलित आहानबाट सबै कुरा स्पष्ट नहुन सक्छ तर माथिको कुरालाई हाम्रो समाजमा अर्थात डोटी जिल्ला आसपासमा अहिलेसम्म बल्ल(गोरु)बुढो भएपछि एक जाति विशेषलाई दिने चलन छ। उक्त जातिले गोरू मारेर मासु खाने, छालाबाट कृषिका लागि प्रयोग हुने हलुणा, चाल्ला लगायतका औजार बनाउने चलन छ। कृषि औजार मात्रै होइन बाद्यवादनका परम्परागत बाजा ढोलक , दमाहा, दाईना आदिमा समेत गोरूका छालाको प्रयोग गर्दै आएको पाइन्छ । यो वर्षाैदेखि चल्दै आएको चलन हो। अहिले राष्ट्रिय जनावर गाईको विषयले गर्दा सामाजिक संजालदेखि पत्रपत्रिका र व्यक्तिअनुसार अनेक खालका टिकाटिप्पणी हुन थालेका छन्। गाई हिन्दुहरूको आस्था र नेपालकाे राष्ट्रिय जनावर हो। त्यसैले एकथरी हाम्रो आस्थाको प्रतीक गाईको मासु खाने कुरालाई हिन्दुहरू कल्पना पनि गर्न सक्दैनन् भने अर्कोथरी गाईको मासु खानुपर्छ भन्ने छ यी दुइका बिचको द्वन्दले केही समय पूर्वी धरान धमिलो बन्यो। त्यहीबाट चलेको मतमतान्तर बिस्तारै हामी कहाँ पनि बहसको विषय बनेको छ। यो विषय भित्रभित्रै शितयुद्दका रूपमा पेचिलो बन्दै गएको छ।

    नेपालमा अधिकाङ्श हिन्दु धर्मावलम्बी छन्। हिन्दुहरूको आस्थाको प्रतीक र नेपालको राष्ट्रिय जनावर पनि गाई हो। अब कुरा रह्यो राष्ट्रिय जनावरको,अष्ट्रेलियाको राष्ट्रिय जनावर पनि कङ्गारु हो तर पनि उनिहरू कङ्गारु मार्छन्। त्यही कंगारूको मासु , छाला, हड्डी बेचेर देशको आर्थिक बिकासमा ठुलो टेवा पुर्याएका छन्। नेपालीको राष्ट्रिय जनावर गाई हो। अहिले मान्छेहरू गाईले दुध दिनसम्म दुध खाने दुध दिन छोडेपछि गाईलाई सडकमा लगेर छोडिदिने गलत प्रचलन निकै फस्टाएको छ। यसले गर्दा शहर बजारमा गाईहरूको बिगबिगी देखिन्छ। सडकमा अलपत्र छाडेका गाईगोरूका कारणले दुर्घटनासमेत भएको छ। सडकमा मात्रै होइन कहिले गाईलाई भिरबाट खसालेको , कहिले नदिमा बगाएको , कहिले करणी गरेको लगायत गाईसंग सम्बन्धित घटना समाचार बनेका पनि तपाईं हामीले समाचारमार्फत सुनेकै हुन्छौं। आजको समयमा गाई ब्यबस्थापन सामान्य भए पनि अबको केही समयमा बिकराल समस्याको रुपमा देखिने प्रायः निश्चित छ। म पनि हिन्दु परिवारको मानिस हुँ। म गाईको मासु खान सक्दैन तर कसैले खान्छ भने मेरो कुनै आपत्ति पनि छैन यसको अर्थ गाई मारेर खानुहोस भनेको भने पक्कै हाेइन। गाई मारेर भोज भतेर गर्नु राम्रो हैन किनकि संविधान र कानुनमा बर्जित गरेको काम गर्नु कानुन बिपरित हो प्रमाणसहित मुद्दा परे कानुन बमोजिम जो कसैले पनि सहनु नै पर्छ। खाने कुरा सबैलाई थाहा छ भन्दैमा धार्मिक द्वन्द निम्त्याउने गरि भोज भतेर गर्नु गलत हो। श्रिमान र श्रीमती बिच शारीरिक सम्पर्क हुन्छ तर सडकमै गर्नु त भएन नि ! धर्म निरपेक्ष राष्ट्र भई सके पछि गाईलाई राष्ट्रिय जनावर बनाउनु नै गलत ह‍ो जस्तो मलाई लाग्छ। हिन्दु राष्ट्रका विषयमा पनि आ- आफ्नै मत होलान् तर यसका विषयमा मेरो आफ्नो मत चाहिँ कि नेपाललाई हिन्दुराज्य बनाऔं अनि राष्ट्रिय जनावर गाई बनाऔं हैन भने संविधान संशोधन गरेर राष्ट्रिय जनावर परिवर्तन गरौ। जातीय र धार्मिक द्वन्द्व जातीय र धार्मिक द्वन्द्वबाट बच्नका लागि धर्मबाट राज्यलाई छुट्याउनुपर्छ। राज्यले दोहोरो चरीत्र बोक्नु आफैमा बिरोधाभाषपूर्ण हुन्छ।

    विश्वमा धर्मनिरपेक्ष राज्यहरूलाई तटस्थ राज्य भनिन्छ। यस प्रकारका धर्मनिरपेक्ष राज्यहरूले धर्म र राज्यलाई अलग राख्न कोशिश गर्छन् वा देश भित्रका सबै धर्मलाई तटस्थ व्यवहार गर्छन्। फ्रान्स, बेलायत, डेनमार्क लगायतका देशमा धर्मनिरपेक्षताको अभ्यास हुने मुलुक हुन् ती राष्ट्र हरुबाट पनि केही असल अभ्यासहरू हामीले सिक्नुपर्ने हुन्छ। विश्वव्यापी मानव अधिकार र समानताका सिद्धान्तमा आधारित रहेर धार्मिक समूहका बिच धार्मिक सहिष्णुता कायम गरौ। नेपाल र नेपालीको यसैमा भलो छ। नेपालमा हामी स्थापित धार्मिक सहिष्णुताको परम्परा भत्काउँदै छौ। समयमै सचेत बनौ। कसैको उष्काहटमा आफ्नो परम्परा नछोडौ। नेपालमा हाम्रो आफ्नै परम्परा छ। परम्परा भनेको समुदायभित्र पुस्तादेखि पुस्तामा सर्ने सृष्टि, गतिविधि, संस्कार वा चलन हो। त्यहाँ पारिवारिक परम्पराहरू, स्थानीय परम्पराहरू, राष्ट्रिय परम्पराहरू छन् जुन प्रत्येक व्यक्तिको विश्वाससँग जोडिएको छ, हाम्रो परम्परा भनेको एक सिउतो मजेउलो बाडेर खाने हो। सबै नेपाली एक हौं। सबैले एक आपसमा भाइचारा कायम गरौं। धार्मिक सहिष्णुता कायम गरौं।

    (लेखक : नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हुन्)