लोकसेवा तयारी कसरी गर्ने? यस्तो छ उपसचिव विजय कुमार शर्माको अनुभव - Chaitanya News
  • 2026-09-17
  • 13:17:36
  • बिहिबार,आश्विन ०१, २०८३
  • लोकसेवा तयारी कसरी गर्ने? यस्तो छ उपसचिव विजय कुमार शर्माको अनुभव

    लोकसेवा तयारी कसरी गर्ने? यस्तो छ उपसचिव विजय कुमार शर्माको अनुभव

    विजय कुमार शर्मा भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्। सार्वजनिक सेवामा कार्यरत शर्मा युवा हुन्। केही समय पहिले लोकसेवा आयोगले लिएको उपसचिवको परीक्षामा शर्मा एक नम्बरमै नाम निकाल्न सफल भए। यसले उनको अध्ययनप्रतिको लगाव झल्काउँछ। उनी लोकसेवा तयारी गरिरहेका धेरै विद्यार्थीका लागि प्रेरणा बन्न सक्छन्। शर्माले यो सफलता कसरी प्राप्त गरे त? प्रस्तुत छ, यही पेरिफेरिमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले गरेको संवाद:

    यस पटक उपसचिवको परीक्षामा एक नम्बरमै नाम निकाल्न सफल हुनुभएको छ, यो सफलता कसरी प्राप्त भयो?

    लोकसेवा तयारी गर्दा पाठ्यक्रमबारे राम्रो ज्ञान हुनुपर्छ। पाठ्यक्रम विद्हरूले एउटा कुरा लेख्नु भएको हुन्छ, हामी अर्कैतर्फ बहकिदिन्छौं। यसो गर्दा सफल हुन सकिँदैन। अर्को कुरा लोकसेवाको विषयवस्तुमा हरेक कोणबाट ज्ञान लिनुपर्छ। पाठ्य वस्तुमा उठान गरिएको कन्टेन्ट के हो? यसको अवधारणा कसरी विकास भयो? यसको परिभाषा के हो? यसका प्रकारहरू के-के छन्? सिद्धान्तहरू के-के छन्? यसका लागि नेपालले के प्रयास गरेको छ? विश्वमा के प्रयास भएका छन्? समस्या के होला? समाधानको उपाय के होला? अहिले हामी कहाँ छौं? भनेर समीक्षा गर्‍यौ भने त्यो विषय राम्रो हुन सक्छ। तेस्रो पाटो भनेको अध्ययन गर्दा त्यसलाई निरन्तरता दिने हो। पढ्दै र लेख्दै गर्दा लोकसेवामा सफलता पाउन सकिन्छ। मैले यस्तै गरेँ।

    लोकसेवा तयारी गर्नेहरूले कसरी समय बेवास्तापन गर्नुपर्छ जस्तो लाग्छ?

    म उपसचिवको तयारी गर्दै गर्दा बिहान एक घण्टा बढी र बेलुकी पनि एक घण्टा बढी काम गर्नु पर्ने कार्यालयमा थिए। जसले गर्दा मलाई समय व्यवस्थापनमा समस्या थियो। परिवारमा पनि सदस्यहरू हुनुहुन्छ। छोराछोरीलाई पनि समय दिनुपर्थ्यो। मेरा लागि समय व्यवस्थापन निकै चुनौतीपूर्ण थियो। त्यसैले पढ्ने कुरामा आफूलाई कुन बेला उपयुक्त हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। अध्ययन गर्दा दिमागमा कुनै कुरा खेलाउनु हुँदैन। मैले राति ८ बजेदेखि खाना खाइसकेपछि, छोरा छोरी सुतिसकेपछि अध्ययन गर्ने गरेको थिए। म राति १-२ बजेसम्म नै पढ्थेँ।

    कुन समय अध्ययन गर्दा बढी प्रभावकारी हुन्छ भन्नेमा विद्यार्थीहरू सोचिरहेको पाइन्छ, तपाईं के भन्नुहुन्छ?

    बिहान पढ्दा यसपछिको कुन टास्क हो? जस्तो म बिहान ५ बजेदेखि पढ्दै छु ६ बजे क्लास छ भने दिमागमा एक घण्टामा पढिसक्नुपर्छ भन्ने प्रेसर रहन्छ। त्यसरी पढ्दा प्रभावकारी हुँदैन। बिहान ६/७ बजेसम्म कुनै काम छैन भने बिहानको समय प्रभावकारी हुन्छ। पछाडि गर्नु पर्ने क्रियाकलापले अगाडि नै दिमागलाई प्रभावित पार्नु भएन। दिनभरका सबै क्रियाकलाप सकेर राति खाना खाइसकेपछि फ्री भएर पढ्छु भन्दा पनि भयो। तनाव रहित ढङ्गबाट मनमा अध्ययन बाहेक अन्य कुरा नखेल्ने गरी पढ्नुपर्छ।

    पटक-पटक लोकसेवा तयारी गरिरहँदा पनि सफलता प्राप्तिमा कठिनाइ भइरहेका साथीहरूले सफलता प्राप्तिका लागि कस्तो विधि अपनाउँदा राम्रो हुन्छ? यहाँको सुझाव के छ?

    त्यस्ता साथीहरू पनि फेल हुनु भएको होइन। पास चाहिँ हुनु भएको हो। सिट कम हुन्छ। लोकसेवामा पास भएरमात्र भएन। प्रतिस्पर्धामा आउन सक्नुपर्‍यो। प्रतिस्पर्धामा आउन नसक्दा म किन आउन सकिन भनेर केलाउनुपर्छ। आफूले लेखनशैलीदेखि अन्य कुन कुरामा सुधार गर्नुपर्छ भनेर ध्यान दिनुपर्छ। कन्टेन्ट कहाँ पुगेन?, सन्दर्भ सामग्री थोरै भए कि?, मेरो लेखाइमा के स्पष्टता भएन?, मैले प्रश्न नै बुझिन कि? भन्ने कुरामा ध्यान दिनुपर्छ। लोकसेवाको प्रतिस्पर्धामा सफलता हासिल गर्न सबै भन्दा पहिले प्रश्न बुझ्नुपर्छ। दोस्रो भनेको कति विस्तारित तरिकाले उत्तर दिन सक्छु भन्ने हो। कन्टेन्ट, कन्सेप्ट, समय व्यवस्थापन र आफ्नो लेखाइमा प्रत्येक पटक सुधारसहितको फरक पन दिन सक्नु नै सफलताका आधार हुन्। असफल भएकै लेखन शैलीलाई दोहोर्‍याउँदा सफलता हासिल गर्न सकिँदैन। त्यसैले नयाँ शैली अपनाउनुपर्छ।

    कुशल लेखनको फर्म्याट के हो?

    कुशल उत्तर हुन प्रश्नले कुन-कुन पाटो उजागर गरेको छ भन्ने बुझ्नुपर्छ। प्रश्नले सिद्धान्तका कुरा सोधेको छ कि? कसरी विषय उत्पत्ति भयो? यसका विश्वमा भएका डाइमेन्सनहरू सोधेको छ कि? त्यो बुझेर जानुपर्छ। त्यसको परिभाषा के हो र त्यसको वर्णन कसरी गर्ने भन्ने कुरा पनि प्रमुख कुरा हो। त्यस्तो प्रश्नको उत्तर वर्णनात्मक हुनुपर्छ। नेपालको सन्दर्भमा कुनै कुरा सोध्दा नेपालमा कसरी आयो?, कसरी प्रयोग भइरहेको छ? समीक्षात्मक ढङ्गले उत्तर दिनुपर्छ। सामान्य बुँदाहरू छोइदिएरमात्र उत्तर पूर्ण हुँदैन। प्रश्नप्रतिको बुझाइ के हो? आफ्नो धारणा राख्नुपर्छ। त्यसैले प्रश्नले कुन-कुन र कति पाटो सोधेको छ भन्ने बुझेर कुन क्षेत्रको कुरा मागिरहेको छ भन्ने कुरामा ख्याल गर्नुपर्छ। र, सोही अनुरूप उत्तर दिनुपर्छ।

    सुरुदेखि अन्त्यसम्म प्रश्नको उत्तर कसरी लेख्नुपर्छ?

    पहिले लोकसेवाको लेखाइको आफ्नै फर्म्याट थियो। अहिले त्यस्तो फर्म्याट त छैन। अहिले विभिन्न ढाँचाहरू छन्। अहिले कसैले विषय वस्तुको विषय प्रवेश लेखेर पृष्ठभूमिबाट उठान गरेर प्रश्नको उत्तर दिनुहुन्छ। कसैले सिँधै अलि ब्यागराउन्ड पनि नराखीकन प्वाइन्टबाट उत्तर दिनुहुन्छ। हामी प्रश्नले खोजेको मुख्य कुरा के हो भनेर अन्तिममा लेख्छौं। अगाडि लरोतरो पाराले लेख्छौं। त्यस्तो गर्नु हुँदैन। आफ्नो धारणा सुरुमै प्रस्तुत गर्नुपर्छ। त्यसलाई घटनाक्रम, उदाहरण र तर्कले प्रमाणित गर्दै जाने हो। यसलाई टीआइई भन्छ। त्यो भनेको टाइको फर्मुला हो। टी भनेको थेसिस स्टेटमेन्ट दिने। आई भनेको त्यसलाई इन्टरप्रेड गरेर बुझाउने र ई भनेको उदाहरण, तथ्याङ्क दिएर प्रमाणित गर्ने। यसरी लेख्नुपर्छ जस्तो लाग्छ।

    तपाईं त लोकसेवाका थुप्रै परीक्षामा सफलता हासिल गरेको मान्छे, लोकसेवाको विश्वसनीयताप्रति के भन्नु हुन्छ?

    अहिलेसम्मको उदाहरण हेर्दा लोकसेवाले निष्पक्ष रूपमा योग्यतामा आधारित व्यक्तिहरूलाई छनोट गर्छ। केही एक दुई घटना आए पनि लोकसेवाले आफैँ अनुसन्धान गरेर आफैँ कारबाही गरेको पनि उदाहरण छ। कसैले दुई तीन वर्षा जागिर खाइसकेपछि छलछाम गरेर जागिर खाएको भए त्यस्ता व्यक्ति जागिर नै रद्द गरिएका उदाहरणहरू पनि छन्। कसैले उजुरी गर्नुभन्दा पनि लोकसेवा आयोगले आफैँले पत्ता लगाएर कारबाही गरेको छ। त्यसैले लोकसेवा आयोग विश्वसनीय संस्था हो। त्यसैले लोकसेवाप्रति कुनै शङ्का नगरेर आफ्नो तयारीमा विश्वास गर्न म सबैमा आग्रह गर्दछु। सामान्य गरिब परिवारको मानिसले लोकसेवामा सफलता हासिल गरिरहेको हुन्छ।