वाणी सुनौं, बानी सुधारौं - Chaitanya News
  • 2026-04-30
  • 15:19:08
  • बिहिबार,बैशाख १७, २०८३
  • “गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते।
    अज्ञानग्रासकं ब्रह्मा गुरुरेव न संशयः।।”

    अर्थात्- ‘गु’ शब्दको अर्थ अन्धकार (अज्ञान) र ‘रु’ शब्दको अर्थ प्रकाश (ज्ञान) हो। अज्ञानलाई नष्ट गर्ने ब्रह्मारूप प्रकाश नै गुरु हो। यसमा शङ्का छैन।

    वाणी सुन्छौँ, प्रवचन सुन्छौँ तर ती सुनेका विषयलाई व्यवहारमा लागु गरेर हामी हाम्रो बानी सुधार गर्दैनौँ। वाणी सुनेर बानी सुधार गर्नुपर्छ। एउटा उखान छ ‘नानीदेखिको बानी छुट्दैन।’ तर जहिले देखिको खराव बानी भए पनि वाणी सुन्दै बानी सुधार गर्ने प्रयास निरन्तर गर्ने हो भने नानीदेखिको खराब बानी छुटेर जीवन सुन्दर बन्छ।

    हामी सनातनीहरूमा अवतारवादको रोचक शङ्खला छ। जुन बेला बेलामा भइरहन्छ। यसै प्रसङ्गमा गीतामा श्रीकृष्णले भन्नुभएको छ-

    ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
    अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।४-७।।
    परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
    धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।” ४-८।।

    अर्थात्- हे भरतवंशी अर्जुन, जब जब धर्मको पतन र अधर्मको उत्थान हुन्छ त्यस बेलामा म आफूलाई सृजना गर्छु। सज्जनको उद्धार गर्न, दुष्टको विनाश गर्न र धर्मको स्थापना गर्नका लागि म प्रत्येक युगमा अवतार लिन्छु।

    भगवान् ले अर्जुनसँग धर्मको नाश हुँदा र अधर्म बढ्दा म प्रकट हुनेछु भन्नुभएको छ। त्यस्ता बेलामा साधु सज्जनहरूको रक्षा गर्नका लागि दुष्टहरूको विनाश आवश्यक हुन्छ र नाश भएका धर्मको पुनस्र्थापना गर्नुपर्ने हुन्छ। यस्तो अवस्था युगयुगमा धेरै पटक हुन्छ र भगवान् ले अवतार लिइरहन्छन्। जस्तै, श्रीकृष्ण अवतार, राम अवतार, गोरखनाथ अवतार, मछिन्द्रनाथ अवतार आदि। गुरु गोरखनाथ भन्नुहुन्छ-

    “पहले आरंभ छाडौ काम क्रोध अहंकार, मन माया विषै विकार।
    हंसा पकडी घात जिनि करो, तृस्ना तजौ लोभ परहरौ।।”

    अर्थात्- पहिले काम, क्रोध, अहङ्कार, मनको माया र विषयका विकारलाई त्याग्न आरम्भ गर। हंस/आत्मालाई पक्रेर/पाएर घात नगर। तृष्णालाई त्याग, लोभलाई त्याग।

    सबैभन्दा पहिला काम, क्रोध, मोह, लोभ र अहङ्कार मनका विष हुन्। यिनलाई छोड्न नसके जीवन नष्ट हुन्छ। यिनैलाई नियन्त्रण गर्न सके जीवनको उत्थान हुन्छ। हाम्रो मनका यी विकारलाई त्यागौँ। त्यसपछि मात्रै हामी अगाडि जान सक्छौँ। देखावटी अनेकौं कर्म गर्छौं तर मनमा विकार छ भने व्यर्थ छ। ती देखावटी कर्मको फल हानि हो, दुःख हो। हामीले सद्वाणीलाई बानी बनाउन सक्नुपर्छ। त्यसका लागि निरन्तर प्रयास गर्नुपर्छ। भनिन्छ नि, निरन्तरको परिश्रमबाट मात्रै सफलता हातमा पर्छ। “निरन्तर पानीका प्रवाहले घोटिरहँदा पर्वतका कडा चट्टानहरू पनि खिइन्छन्।” हरेक कठिन भनिएका कार्य पनि निरन्तर प्रयासबाट सफल हुन्छन्। गीतामा भनिएको छ —
    “त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः।

    कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्।। १६/२१।।

    अर्थात्- काम, क्रोध र लोभ यी तीन आफूलाई नाश गर्ने र नरकका ढोकामा लैजाने हुन्। त्यसैले यी तीनलाई त्याग्नुपर्छ।

    मानिसको जीवनको उन्नति भनेको केवल शरीरको स्वस्थता मात्रै होइन। त्यसमा शारीरिक र आध्यात्मिक उन्नति दुवै सुदृढ हुनुपर्छ। शरीर स्वस्थ भएपछि बाँच्न सजिलो हुन्छ र स्वस्थ भएपछि आध्यात्मिक उन्नति गर्न सजिलो हुन्छ। आध्यात्मिक उन्नतिबाट नै शत्रुका रूपमा रहेका काम, क्रोध र लोभलाई त्याग्नका लागि बानी बसाउन सकिन्छ।

    आफ्नो शरीर अनुसारको उपयुक्त बानीको विकास गर। तृष्णालाई त्याग, मनलाई नियन्त्रण गर, संयम गर। गौतम बुद्धले चार आर्य सत्य भन्नुभएको छ- दुःख छ, दुःखको कारण छ, दुःख हटाउन सकिन्छ, दुःख हटाउने उपाय पनि छ। आर्य शब्दलाई लिएर नेपाल र विश्वमा धेरै घटना भएका छन् नबुझेर। आर्य गुणवाचक शब्द हो, जातिवाचक होइन। वस्तुतः राम्रा कर्म गर्ने सबै आर्य हुन्।

    गुरु गोरखनाथले दिनुभएको ज्ञानको अनुसरण गरेर हामीले पनि नराम्रो वाणी र बानी छोडेर राम्रो बानीको श्रवण र असल बानीको विकास गरेर मानव बन्न सक्नुपर्छ। हामीले मृत्युलाई जित्न सक्दैनौँ, बढ्दो उमेरलाई जित्न सक्दैनौँ तर मनका विकारलाई त्यागेर सुखी र आनन्दित भएर सुन्दर आचरणमा रहेर स्वर्गीय आनन्द यही धर्तीमा प्राप्त गर्न सक्छौँ। मनका विकार त्यागेर असल बानीको विकासमा हरपल अग्रसर बनौँ। वास्तवमा नराम्रो बन्न कोही चाहँदैन, नराम्रो बोल्न, सुन्न, लेख्न, गर्न चाहँदैन तर नराम्रो भैहाल्छ। किन त ? विष भित्रै लुकेर बसेको छ, मनमै जमेर बसेको छ- “मन माया विषै विकार।”

    मुहान नै अपवित्र र दुर्गन्धित र फोहोर छ भने सम्पूर्ण जलधारा दूषित र फोहोर हुने नै भयो। मनमै दोष छ भने जति दबाए पनि, जति लुकाए पनि, काम, क्रोध आदि प्रकट हुने नै भए। मनमै विष घोलिए पछि सम्पूर्ण ज्ञानेन्द्रिय र कर्मेन्द्रिय र व्यवहारबाट विष प्रकट हुने नै भए। मनको यही विषाक्तताले गर्दा आफ्नो मूल स्वरूप हंस/आत्मा स्वरूपलाई बुझन सकेनौं; घात गर्यौं, आत्मघाती नै भयौं। वासनाको यस्तो जालमा फस्यौं जहाँबाट उम्किने विषय त पर जाओस्, उल्टै झनझन् जेलिदै गयौं। जीवन त सुन्दर छ तर नर्क बनायौँ। जीवन त पवित्र छ तर दूषित बनायौँ। जीवनमै आत्मतत्त्व/अमृततत्त्व/हंसतत्त्व छ तर मनको विषद्वारा आफ्नो जीवनलाई आफै जलायौं। दोष अर्कालाई दियौं तर भित्रको दोषलाई आफै खोज्न चाहेनौं। शत्रु अर्कालाई बनायौँ तर भित्र लुकेको शत्रुलाई चिन्न चाहेनौं। आफ्नो अमृत आफै भुलायौं; मन— मायाको विषले, विकारले जीवन जलायौं।

    शास्त्र जति भए पनि, गुरु/सम्प्रदाय आदि जति भएपनि तथा विधि- विधान, उपासना, मार्ग, ध्यान आदि जति भए पनि निष्कर्षमा सबैको मूल विषय उही एकै छ– मनरूपी विषदेखि बच्ने र आत्मामृत पान गर्ने। तर जति सुने पनि, पढे पनि, गरे पनि मूल परिवर्तन भने भएन। “अद्वैत वेदान्त पढ्यौं तर अद्वैत व्यवहार भएन।” मनका गति, वृत्ति, विकृतिका बारेमा पढ्यौं, बुझयौं तर मनको निर्मलीकरण भएन, उन्मनीकरण भएन। त्यसकारण गुरु गोरखनाथ “नाथसिद्धान्तडिण्डिमः” मा भन्नुहुन्छ — केवल त्यागद्वारा, केवल याग(यज्ञ) द्वारा, केवल भक्तिद्वारा, केवल कर्मद्वारा, केवल विद्याद्वारा मुक्ति मिल्दैन-

    अलं त्यागैरलं यागैरलं भोगैरलं वनैः।
    विज्ञाते परमाद्वैत इति सिद्धान्तडिण्डिमः।
    न सा भक्तिर्न सोपास्तिर्न सा विद्या न सा क्रिया।
    योगसिद्धिं विना पुंसामिति सिद्धान्तडिण्डिमः।।’

    जय गुरु गोरखनाथ