संगठनमा वृत्ति विकास योजना राम्रोभन्दा हाम्रोको चौघेरामा - Chaitanya News
  • 2026-04-30
  • 15:19:08
  • बिहिबार,बैशाख १७, २०८३
  • संगठनमा वृत्ति विकास योजना राम्रोभन्दा हाम्रोको चौघेरामा

    संगठनमा वृत्ति विकास योजना राम्रोभन्दा हाम्रोको चौघेरामा

    संगठनको उद्देश्य प्राप्त गर्नको लागी कर्मचारी वृत्ति विकास जरुरी छ। जसमध्ये उनीहरूको उन्नतिको सुरु विन्दुबाट अन्तिम गन्तव्य कहाँ पुर्‍याउने जसले उनीहरूलाई उत्प्रेरित र सन्तुष्ट बनाइराखोस्। यो सबै संगठनको अति नै चुनौतीपूर्ण कार्य भएता पनि संगठनको जग नै कर्मचारी भएको हुँदा उन्नत योजना विना कोही कर्मचारी कार्यालयमा रहने अवस्था देखिँदैन। वृत्ति विकास वा उन्नति योजना भनेको योग्यता अनुसारको नियुक्ति, पदस्थापन, सरुवा, सिपमूलक तालिम, बढुवा हुँदै जाने समष्टिगत व्यवस्था हो। अनुभव, क्रियाकलाप र मनोवृत्तिको क्रमागत वा समष्टिगत रूप वृत्ति हो। यो नै उन्नतिसँग सम्बन्धित छ। वृत्ति विकास योजना कुनै पनि संगठनका कर्मचारीको उत्प्रेरणा जगाउने मूल आधार हो। उचित वृत्ति विकासको अभावमा संगठनको कर्मचारी टर्नओभर मा वृद्धि हुन्छ। अर्को कर्मचारीमा व्यावसायिकताको वृद्धिको साथै ज्ञान, दक्षता र क्षमतामा पनि गिरावट आउने हुँदा कर्मचारी उत्प्रेरणा र दक्षता अभिवृद्धि गर् समेत यथोचित वृद्धि विकास योजना बनाउने र कार्यान्वयन गर्ने कुरामा संगठनले कुनै कसर बाँकी राख्नु हुँदैन।

    हालका दिनमा नेपालका संगठनहरूमा यथोचित वृत्तिविकासको पर्याप्त योजना पनि नभएको र कार्यान्वयन पक्षतर्फ हेर्दा सरुवा, बढुवा, पदस्थापन, स्वदेश तथा विदेशका तालिमलगायतको दक्षता अभिवृद्धि र उत्प्रेरणा अभिवृद्धि गर्ने कार्यमा राम्रोभन्दा हाम्रोको चौघेरामा परेको हुँदा वृत्ति विकास योजनाको कार्यान्वयन अपाङ्ग हुँदै गएको प्रति सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ। नेपालमा एकातर्फ शिक्षित बेरोजगारी बढ्दै गएको अर्कोतर्फ कुनै संगठनमा काम गर्ने अवसर पाइहाले पनि अपेक्षित वृत्तिविकासको अभाव र यसमा नातावाद र कृपावादको बाहुल्यता बढ्दै गएको हुँदा वृत्ति विकास छायामा परेको देखिन्छ भन्नुमा कसैको दुईमत नहोला।

    वृत्ति विकास एक प्रक्रिया भएता पनि कार्यालय स्थापना र कर्मचारीलाई व्यवस्थापन गर्नको लागी मार्ग चित्रमा नै वृत्ति विकासको नक्सा कोरिनु अति जरुरी हुन्छ। वृत्ति विकासलाई उन्नति पनि भन्ने गरिन्छ। यसको चलनचल्तीका विशेषता हेर्ने हो भने उत्प्रेरण बढाउने, बढुवा समय सापेक्ष रूपमा गर्ने, समय-समयमा तालिमको उचित व्यवस्थापन गर्ने, कार्यालयले नयाँ अवसर प्रदान गर्ने, जब रोटेशन अर्थात् काममा फरकपनको अनुभूति दिलाउने, संगठनको क्षमता अनुसारको आर्थिक सुविधा प्रदान गर्ने, अधिकार र जिम्मेवारीको उचित बाँडफाँड गर्ने, कर्मचारीलाई उत्तरदायित्व र जबाफदेहिताको बारेमा जानकारी दिने र तदनुरूपको व्यवस्था गर्नेलगायत छन्। जसबाट नयाँ जाँगर र जोसका साथ काम गर्न हौसला मिल्नुको साथै संगठनको उत्पादकत्व र नाफादायकतामा वृद्धि हुन्छ। उत्नती योजना संगठनमा आवश्यकता पर्नुका कारण तथा उद्देश्यमा संगठनको लक्ष र उद्देश्य प्राप्ति गर्न, कामदारलाई उत्प्रेरणा दिन, पदपूर्ति गर्न, कर्मचारी आकर्षण गर्न, प्राविधिक सामर्थ्य बढाउन र उनीहरूमा प्रवन्धकीय क्षमताको विकास गर्नेसमेत पर्छ। साथै कर्मचारीमा मनोवैज्ञानिक परिवर्तनको लागी पनि वृत्ति विकास योजना उत्तिकै जरुरी छ।

    संगठनको कर्मचारी माग सम्बन्धी विज्ञापनमा दरखास्त दिनु अगाडि वा परीक्षामा उत्तीर्ण भए पश्चात् पनि हरेक व्यक्तिमा उब्जिने कुरा भनेको उक्त संगठनको नीति के छ, कस्तो खालको सुविधा छ, कति तलब भत्ता छ, कार्य वातावरण कस्तो छ आदि आदि प्रश्न आफूले आफैँलाई सोध्ने वा अरूलाई सोधेर जानकारी लिन उत्सुक हुने प्रचलन व्याप्त छ। जुन स्वाभाविक प्रक्रिया हो । जुन अपेक्षा र क्षतिपूर्ति र कार्यको अपेक्षा गरेर मानिस संगठनमा काम गर्न उत्साहित भएर जान्छ, उक्त संगठनमा तदनुरूपको वातावरण देखेन भने जागिर खाएको केही हप्ता, दिन वा वर्षमा उक्त संगठनलाई छा्डेर अर्कै संगठनमा गएको वा विदेशमा उपयुक्त कामको खोजीमा पलायन भएका प्रशस्त घटना विद्यमान रहेको वर्तमान अवस्थामा यदि वृत्ति विकासमा हामीले के गर्छौ भनेर प्रतिबद्धता राखेको थियो। सो अनुरूप गर्न सकिने अवस्था रहेन र सो कुरा कर्मचारीलाई बुझाउन सकिएन भने अर्थात् कर्मचारीलाई रिटेन्सन गर्न सकिएन भने एकातर्फ सञ्चालन खर्चमा वृद्धि आउँछ भने अर्कोतर्फ उत्प्रेरणामा कमी आई संगठनको समग्र उत्पादकत्व अर्थात प्रति कर्मचारी उत्पादकत्वमा समेत ह्रास आउने कुरामा कसैको दुईमत नहोला।

    फेरी आज भोली नेपालको संगठनात्मक अवस्था हेर्दा एकातर्फ कर्मचारी संगठनको दबाब छ भने अर्कोतर्फ नातावाद र कृपावाद, चाकडी एवं चाप्लुसी जरा गाडेको कारण एक इमानदार र काम गर्ने कर्मचारीको समयमा नै वृत्ति विकास भइहाल्छ भन्नु आकाशको फल आँखा तरी मर भन्ने उखान जस्तै हुने गरेको देखिन्छ। विश्वका कतिपय मुलुकको वृत्ति विकासको योजनालाई हेर्ने हो भने कर्मचारी सन्तुष्टि, उत्पादकत्व र सुविधाको बारेमा रिसर्च नै गरेको पाइन्छ। यदि कर्मचारीलाई हप्तामा पाँच दिन काम गर्दा भन्दा चार दिन काम गर्दा कर्मचारी उत्पादकत्व बढी देखियो भने हप्तामा तीन दिन बिदा दिएर चार दिनमात्र काम लगाई तलब भत्ता भने पुरै दिएको अवस्था देखिन्छ। तसर्थ मुख्य कुरा कर्मचारी कार्यालयमा कति दिन कति घण्टा बस्यो भन्नु भन्दा पनि कति कार्य भयो र कर्मचारी उत्पादकत्व कुन अनुपातले बढ्यो भन्नेसँग सरोकार राख्दछ।

    संगठनले कर्मचारीको उन्नति योजनाको उद्देश्यमात्र लिएर हुँदैन यससँग सम्बन्धित स्रोत तथा साधनको उचित व्यवस्थापनको साथै तालिम, अवलोकन भ्रमण, इन्टर्नसिप, पुस्तकालय तथा पत्रपत्रिकाको समेत यथोचित व्यवस्था गर्नु पर्छ। कार्य अवस्थामा तालिम तथा विभिन्न शैक्षिक डिग्रीको समेत व्यवस्था पर्नुपर्छ। नेपालको सन्दर्भमा हेर्दा उन्नति योजनाको गति निकै मन्द छ। बेरोजगारीको दर एकातर्फ बढिरहेको छ भने अर्कोतर्फ बदलिँदो परिवेश अनुरुपको शिक्षा, तालिम र अवसर को अभाव छ। राम्रो भन्दा हाम्रो भन्ने परिपाटीको विकाससँगै नातावाद र कृपावादले जरो गाडेको छ। यसको अन्त्य नभएसम्म देशको विकास एव प्रशासनिक सुधार एव कर्मचारी उत्प्रेरणासँग सम्बन्धित जति नै नीति र कार्यक्रम बनेता पनि कार्यान्वयनको अभावले उपलब्धिमूलक हुन सकेको देखिँदैन। तलब सुविधाबाटमात्र वा वित्तीय सुविधाबाटमात्र मानिसलाई काम गराउन सकिँदैन। उसलाई गैर वित्तीय सुविधालगायत विशेष गरी वृत्तिविकास समेतको व्यवस्था गर्नु उत्तिकै जरुरी पर्छ। कर्मचारीले मूलतः कार्यालयमा वृत्ति विकासकै भरोसामा काम गर्ने हो नकि आर्थिक उन्नति मात्र। हरेक मानिसको चाहना मस्लोको चक्रीय सिद्धान्त अनुसार अन्तिम उद्देश्य प्राप्त गर् सम्म हुने भएकोले उसको मनोभावना र आवश्यकता अनुसारको अर्थात् कर्मचारीको सल्लाह र सुझाव अनुसारको वृत्ति विकास योजनामा जोड दिनुको विकल्प नरहेको कुराप्रति कसैको विमति नरहला।

    (लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन्।)