दार्चुलाको सदरमुकामका वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ - Chaitanya News
  • 2026-04-24
  • 12:13:10
  • शुक्रबार,बैशाख ११, २०८३
  • दार्चुलाको सदरमुकामका वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ

    दार्चुलाको सदरमुकामका वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ

    दार्चुला — प्रहरीले एकैदिन दार्चुला सदरमुकामका दुई ठाउँमा छापा हान्दा १९ जना जुवाडेलाई पक्राउ गरेको छ। महाकाली नगरपालिका–४ तिंकरखेडा र वडा नम्बर ४ कै बांगाबगरबाट वडाध्यक्षसहित १९ जना पक्राउ परेका हुन्।

    तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका ११ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको तथा बांगाबगरबाट थप ८ जनालाई राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का अध्यक्ष मोहन महरा, व्यास गाउँपालिका कार्यपालिका सदस्य असपाल बुढाथोकीसमेत छन्।

    यस्तै प्रेमसिंह बुढाथोकी, शंकर बुढाथोकी, सुरेन्द्र धामी, कमलसिंह धामी, नरेन्द्र सिंह ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल, इन्टुक लामा, रामसिंह कार्की, चन्द्रसिंह महरा, दानसिंह कार्की, मदनसिंह महरा, सुरेन्द्रसिंह महरा, धिरेन्द्रसिंह महरा र ध्रुवसिंह महरा पक्राउ परेका छन्।

    जुवा खेलिरहेका उनीहरुको साथबाट नगद ४ लाख ५३ हजार ४३० रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक शाहीले बताए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।