विकासको प्रतीक्षामा जनता - Chaitanya News
  • 2026-04-30
  • 15:18:57
  • बिहिबार,बैशाख १७, २०८३
  • भनिन्छ, एउटा आम नेताले अर्को चुनाव को बारेमा सोचेको हुन्छ भने एउटा राज नेताले आगामी पीढीको बारेमा सोचेको हुन्छ। भोलिको नेपाल कस्तो हुने भन्ने एउटा स्पष्ट भिजन भएको नेताको अभावले नै देशले गति लिन सकेको छैन।

    केही वर्ष पहिले कैलाली बहुमुखी क्याम्पसमा दक्षिण कोरियाका राजदूतको भ्रमण थियो। स्वागतको लागि सभा हलमा कार्यक्रम राखिएको थियो। स्वागत पछि राजदूतले म तपाईंहरूलाई एउटा गरिब कोरियन परिवारको कथा सुनाउँछु भनेर पावर प्वाइन्टमा केही तस्बिरहरू देखाए। सुरुमा एउटा गरिब परिवारको फोटो देखिन्छ। फाटेको लुगा लगाएका दुब्ला दुई जना स–साना भाइबहिनी र सँगै उभिएका आमा बुबा। दुरुस्त हाम नेपालको कुनै दुर्गम गाउँको गरिब परिवार जस्तै। अर्को तस्बिरमा आमा बुवाको उमेर ढल्कन लागेको, केटा केटीहरू ठुला भई विवाह भइसकेका। राजदूत कथा भन्दै गए, त्यो परिवारको केटो ठुलो भयो। तर उच्च शिक्षा हासिल गर्ने पैसा थिएन। अतः सैनिक सेवामा जागिर खान थाल्यो। जागिरको तलब थोरै थियो। हप्तामा एक दिन पनि केटाकेटीलाई मासु ख्वाउन नपाएकोमा श्रीमतीले गुनासो गर्थिन। अर्को तस्बिर मा त्यो परिवार बस्ने टोल, ससाना घरहरू फोहर बग्ने नाला थियो। त्यस पछि अर्को तस्बिर देखिन्छ, त्यसमा तत्कालीन राष्ट्रपति रामवरण यादव र कुनै राजदूतबाट ओहदाको प्रमाण पत्र ग्रहण गरिरहेका हुन्छन्। राजदूतले त्यहाँ उपस्थित सबैलाई सोधे– नेपालको राष्ट्रपति त तपाईंले चिनिहाल्नु भो, तपाईंहरू भन्न सक्नु हुन्छ त्यो प्रमाण बुझाउने राजदूत को हो ? एक छिनको मौनता पछि उनले भने- त्यो प्रमाणपत्र दिन लागेको राजदूत सुरुमा देखाएको गरिब कोरियाली केटो हो। र त्यो गरिब केटो म नै हु। त्यहाँ जम्मा भएका सबै आश्चर्य चकित भए। जोडदार ताली बज्यो।। उनले अगाडि भने, मैले देखाएको परिवारको फोटो म केटा केटी हुँदाको मेरै परिवारको हो। राजदूतले भने, यो म र म जस्ता धेरै दक्षिण कोरियालीहरूको कहानी हो। मेरो बाल्यकालमा दक्षिण कोरियामा धेरै गरिबी थियो। मेरै जीवन कालमा मेरै आँखा अगाडि दक्षिण कोरिया संसारका विकसित राष्ट्रमा परिणत भयो। त्यस पछि उनले ठुला ठुला भवन चारै तिर बगैचा र हरियाली भएको सानो नदीको फोटो देखाए, र भने- अगाडिको फोटोमा देखाएको म केटाकेटी हुँदा हामी बस्ने फोहोर बस्ती र फोहर बग्ने नाला आज यस्तो छ। त्यसपछि उनले दक्षिण कोरियाको आर्थिक विकास बारे विभिन्न तथ्याङ्कहरू देखाए। एउटै मानिसको जीवन कालमा, एउटै पुस्तामा कसरी देशको कायापलट हुँदो रहेछ भन्ने दक्षिण कोरिया ज्वलन्त उदाहरण हो। उनले भने, म र म जस्ता लाखौँ दक्षिण कोरियालीहरूले धेरै दुख गरेका थिए। तर आजको पुस्ताले त्यस्तो दुख गर्नु पर्दैन। यदि लागि पर्ने हो भने नेपाल पनि दक्षिण कोरिया जस्तै समृद्ध बन्न सक्छ। कोरियाको कायापलट गर्नमा राष्ट्रपति पार्क चुङको नेतृत्वको प्रमुख भूमिका रहेको छ। यसबाट के स्पष्ट हुन्छ भने देश बनाउन सही नेतृत्व चाहिने रहेछ। नारा र भाषणले देश बन्दो रहेनछ। केही दिन अगाडि आफ्नो कार्यकाल सकेर जाने क्रममा यिनै राजदूतले नेपालमा सबै कुरा राम्रो भएर पनि हरेक क्षेत्रमा राजनीतिकरण भएकोले विकास हुन नसकेको टिप्पणी गरेका थिए।

    छोटो अवधिमा तीव्र आर्थिक विकास गरेका तर केही दशक अघि सम्म नेपालकै हाराहारीका देशहरूको विकासको अध्ययन गर्दा के देखिन्छ भने भिजनरी नेतृत्वको कारणले नै ती देश अल्प अवधिमा नै विकसित भएका रहेछन्। त्यस्तो नेता जसको एउटा सपना हुन्छ। र जसरी भए पनि लक्ष्य प्राप्त गरी छाड्ने र त्यसको लागि मरिमेट्ने प्रवृत्ति विद्यमान हुन्छ।

    सार्वजनिक संस्थानको साथै निजी उद्यमलाई संरक्षण र प्रोत्साहन दिएको भए आज देशको आर्थिक नक्सा नै फरक हुने थियो।

    छोटो अवधिमा चमत्कारिक विकास गरेका देशहरूको अध्ययनले के देखाउँछ भने, त्यहाँ एक कालखण्डमा त्यस्तो नेताको उदय भयो जसले देशको काया पलट गर्‍यो। मलेसियाको रूपान्तरण गर्ने महाँथिर मोहम्मदले औद्येगिकरणमा जोड दिए। १९९० को दशकमा महाँथिरले ‘मलेसिया क्यान’ मलेसियाले गर्न सक्छ, भन्ने नाराका साथ पूर्वाधार निर्माणमा ठूलो लगानी गरे। दक्षिण कोरियाका पार्क चुङ हि ले १९५० को दशकमा जापानी युद्धमा ध्वस्त भएको मुलुकलाई छोटो अवधिमा नै कायापलट गरे। दक्षिण कोरियाको विकासलाई ‘ईकोनोमिक मिराकल’ भन्ने गरिन्छ।

    सिंगापुरमा ली क्यान युले सानो र गरिब बन्दरगाहको सहरलाई विश्वको वित्तीय केन्द्रको रूपमा विकास गरे। किनकि सिंगापुरमा आयको अरू स्रोत नै थिएन। कुनै समयको अति भ्रष्टाचार हुने सिंगापुर ली क्यान युको सुशासन र भ्रष्टाचार विरोधी नीतिका कारण अहिले विश्वकै न्यून भ्रष्टाचार हुने देशमा गनिन्छ।

    चीन १९८० को दशकमा देङ सियाओ पेङको उदय सम्म विकाशशील देश थियो। तर देड सियाओ पेङसँग छोटो अवधिमा नै चीनलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने एउटा स्पष्ट भिजन थियो। परिणाम स्वरूप चीन जो १९८० को दशकमा एउटा विकासशील राष्ट्र थियो, आज अमेरिका पछि विश्वको दोस्रो ठुलो अर्थ व्यवस्था भएको छ।

    विभिन्न प्रकारका उद्योग, व्यवसायको विकास नभईकन देशको आर्थिक विकास हुँदैन। नेपालको सन्दर्भमा कुरा गर्दा हजारौँ मानिसलाई रोजगारी दिएर आर्थिक जग मजबुत बनाउने सम्भावना भएका सरकारी लगानीका दर्जनौँ संस्थानहरूलाई तिनको व्यवस्थापन सुधार्नुको सट्टा कौडीको भाउमा निजी व्यवसायीलाई बेच्ने काम भयो। देशको आर्थिक अधोगतिको त्यो एउटा प्रमुख कारण हो। सार्वजनिक संस्थानको साथै निजी उद्यमलाई संरक्षण र प्रोत्साहन दिएको भए आज देशको आर्थिक नक्सा नै फरक हुने थियो। अरू देशको उदाहरण हेर्दा सरकारी उद्यमहरूले राष्ट्रिय अर्थ तन्त्रमा प्रमुख भूमिका खेलेका छन्। आज चीनका कम्पनीहरूले विश्व भरी धाक जमाएका छन्। नेपालमै पनि अधिकांश ठूला परियोजनाहरूमा चिनिया कम्पनीहरू संलग्न छन्। अधिकांश चिनिया कम्पनीहरू सरकारी लगानीमा सञ्चालित छन्। भारतमा संस्थानहरूको त्यहाँको अर्थतन्त्रमा प्रमुख भूमिका छ। भारतका संस्थानहरूले सरकारी खजानामा हरेक वर्ष अरबौँ रुपैयाँ राजस्व र नाफा बुझाउछँन्। भारतमा सरकारी लगानी भएका सफल कम्पनीहरूलाई कार्य सम्पादन र नाफाको आधारमा विभिन्न नाम दिएर सम्मान गरिएको छ। जस्तै महा रत्न कम्पनी, नव रत्न कम्पनी, मिनी रत्न कम्पनी आदि, भारतमा संस्थान फस्टाउने चीनमा फस्टाउने नेपालमा बेच्नु पर्ने अवस्था किन आयो त? कुनै जमानामा नाम चलेका भृकुटी कागज कारखाना, हेटौंडा कपडा, बाँसबारी जुत्ता कारखाना आदिलाई प्रोत्साहन दिएर यस्तै रत्नको श्रेणीमा राख्नु पर्नेमा आज तिनको नामनिसान छैन। यसको कारण हो राजनीति। संस्थान को अध्यक्षमा पेशेवर व्यवस्थापक नियुक्ति हुनुपर्नेमा पार्टीका कार्यकर्ताहरू नियुक्ति गरियो। तिनको ध्यान कारखानाको विकास भन्दा पनि जग्गा बेचेर कमिसन खानमा गयो। यस बाट नै देशको अधोगति सुर भयो।

    केही दशक अगाडि सम्म रुसको सहायताले स्थापना भएको परवानीपुर कृषि औजार कारखाना स–साना हाते कृषि उपकरणको उत्पादनमा प्रख्यात थियो। सीमावर्ती भारतीयहरू पनि कृषि उपकरण किन्न नेपाल आउँथे। यदि सही नीति भएको भए आज त्यस कारखानाले देशलाई चाहिने कृषि उपकरणहरू र ससाना हाते ट्याक्टर समेत उत्पादन गरिरहेको हुन्थ्यो। अहिले त्यो कारखानाको नाम निसान छैन। देशमा यत्तिका गाडी मोटर छन्। वार्षिक लाखौँ टायरको माग छ। तर हामीले भएको एउटा टायर कारखाना पनि चलाउन सकेनौ। देश कसरी अधोगति तर्फ गयो भन्ने यी केही उदाहरण मात्र हुन्। उत्पादन गर्नु भन्दा आयात गर्ने सजिलो बाटो हामीले रोज्यौं। संविधानमा समाजवाद उन्मुख लेखेको छ, तर जनतालाई आधारभूत सुविधा उपलब्ध गराउने क्षमता भएका सार्वजनिक उद्यम धमाधम बेचिएका छन्।

    हामी कहाँ यस्तो सोच्ने फुर्सद कुनै नेतालाई भएन। देशमा सानै स्तरमा भए पनि केही आधारभूत उद्योगको विकास गर्ने तर्फ कसैको ध्यान गएन। देश सम्पन्न हुने प्राकृतिक सम्पदाको दोहनले हो। नेपालमा प्रशस्त विद्युत् ऊर्जा छ। विद्युत् ऊर्जाको प्रयोग गरेर फलाम,तामा, अभ्रक, सुन आदिका खानीहरू सञ्चालन गर्ने सोच नै आएन। वास्तवमा नेपाल अल्प विकसित ‘अन्डर डेभलप्ड’ भन्दा पनि अल्प व्यवस्थित ‘अन्डर म्यानेड’ देश हो भन्दा फरक नपर्ला।

    नेपाल जस्तो सानो देशमा रोजगारी दिने र आत्मनिर्भर बनाउने प्रशस्त सम्भावना भएका ससाना उद्योग धन्दामा समेत ध्यान गएको छैन। जस्तै नेपालमा झण्डै ७५ लाख विद्यार्थीहरू विभिन्न स्कुलमा पढ्छन्। ती अधिकांश विद्यार्थीले प्रयोग गर्ने औजार बक्स, पेन्सिल, डटपेन, कलम, ईरेजर, नोट बुक जस्ता वस्तुहरू जसको वार्षिक अर्वौको खपत हुन्छ, ती वस्तु को देशभित्र उत्पादन छैन। यस बाट नै हजारौँ रोजगारी सृजना हुन सक्छ। देश भित्र हरेक दिन करोडौँको नुहाउने साबुन, तेल, टुथ पेस्ट, स्याम्पु, बुट पालिस, आदिको खपत छ तर। ती वस्तुको कुनै नेपाली ब्रान्ड छैन। लाज लाग्ने कुरा त के भने यत्तिका बन जंगल भएको देशमा कोदालो बीड र दाँत खोच्ने सिन्का समेत भारतबाट आउँछ। स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा प्रोत्साहन छैन। दैनिक जीवनमा प्रयोग हुने र थोरै पुँजीले स्थापना गर्न सकिने यस्तो सैकडौँ उद्यमहरू छन्। जसबाट देश भित्रै रोजगारी सृजना हुन सक्छ। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन लोकल के लिए भोकल बनना है भने जस्तो सोच हामी कहाँ आएन।

    देश बदल्ने नेताहरूमा ठूला ठूला भाषण गर्ने भन्दा ससाना कुराहरूलाई हेर्ने संवेदनशीलता आवश्यक हुन्छ। भारतमा नेहरुले पहिलो पञ्च वर्षीय योजना लागु गर्दा कल कारखाना र उद्योगहरू भनेका आधुनिक भारतका मन्दिर हुन भनेका थिए। त्यो केवल एउटा भनाई मात्र थिएन। देशलाई कसरी औद्योगीकरण गर्ने भन्ने एउटा सोच र एउटा सपना पनि थियो। जसको फलस्वरूप आज भारत उद्याउँदो अर्थ व्यवस्थामा परिणत भएको छ।

    भारत स्वतन्त्र भएपछि विदेशी सामानमा प्रतिबन्ध लागाइयो। त्यसै क्रममा विदेशी सौन्दर्य प्रसाधन पनि आउन बन्द भयो। विदेशी सौन्दर्य प्रसाधनका सौखिन केही सम्भ्रान्त महिलाहरूको प्रतिनिधि मण्डल प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेटी भारतमा राम्रो सौन्दर्य प्रसाधन उत्पादन नहुने भएकोले आयात खुला गर्नु पर्ने माग राखेछन्। नेहरुले विदेशी सामान खुला गर्न त सम्भव नभएको तर त्यसको विकल्पको बारेमा आफूले बिचार गर्ने आश्वासन दिए। नेहरुले पछि टाटा कम्पनीका मालिक उद्योगपति जे.आर.डी टाटालाई बोलाएर भारतमा स्तरीय सौन्दर्य प्रसाधन उत्पादन गर्न अनुरोध गरेछन्। त्यस बेला टाटा ले अरू वस्तुहरू उत्पादन गरे पनि सौन्दर्य प्रसाधनहरू उत्पादन गर्ने गरेको थिएन। तर नेहरुको अनुरोधलाई स्वीकार गरी केही समय पछि टाटा कम्पनीले लाक्मे ब्रान्ड नाम दिएर विभिन्न प्रकारका स्तरीय सौन्दर्य प्रसाधनहरूको उत्पादन सुरु गरेको थियो।

    संसारभरिका विभिन्न राष्ट्रहरूको विकासको अध्ययनले के देखाउँछ भने एउटा पुस्ताले दु:ख नगरी देश बन्दैन। इजरायलमा बेन गुरियन र गोल्डा मायरको पुस्ताले दुःख गर्‍यो, चीनमा माओ र चाओ एन लाईको पुस्ताले दुःख गर्‍यो, सिंगापुरमा लु क्यान यु पुस्ताले दुःख गर्‍यो।

    नेपालको विकासको सन्दर्भमा एउटा आश्चर्य के पनि छ भने अहिले सम्म विश्वमा प्रचलित विकासका मान्यताहरू यहाँ लागु भएका छैनन्। केही उदाहरण हेरौँ। प्राकृतिक स्रोत विकासको पूर्व सर्त हो भन्ने गरिन्छ तर नेपालमा पर्याप्त श्रोत भईकन पनि विकास भएन। अर्को कुरा, शान्ति र राजनीतिक स्थिरताले विकास हुन्छ भन्ने विश्वव्यापी मान्यता पनि नेपालको सन्दर्भमा सही साबित हुन सकेन। पञ्चायत कालको ३० वर्ष नेपालमा शान्ति र राजनीतिक स्थिरता दुवै थियो। त्यसै काल खण्डमा दक्षिण कोरिया, मलेसिया, सिंगापुर, चीनमा विकासले गति लियो। तर नेपालमा त्यसले काम गरेन। सन १९६० तिर यी देशहरूको र नेपालको प्रति व्यक्ति आय लगभग समान थियो। त्यस्तै विश्वका कतिपय युद्ध ग्रस्त देशहरूमा द्वन्द्व समाप्तिपछि तीव्र गतिमा आर्थिक विकास भएको छ। जस्तै भियतनाम, कम्वोडिया, लिविया, घाना, ईथोपिया यसका उदाहरण हुन। तर नेपालमा द्वन्द्व समाप्ति पछि पनि आर्थिक विकासमा फड्को मार्न सकेको छैन। मेहनती र इमान्दार जनताले विकास हुन्छ भन्ने मान्यता पनि छ। तर संसारभरि मेहेनति, इमान्दार र बहादुरीको लागि कहलिएका नेपालीले आफ्नो देश भित्र भने केही गर्न सकेनन्।

    यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने हाम्रो समस्याको को मूल कारण नेतृत्वको अभाव हो। देश पहिले ‘कन्ट्रि फस्ट’ भन्ने नेता भएन। यहाँ जति आए परिवार पहिले पार्टी पहिले, कार्यकर्ता पहिले, नाता गोत पहिले भन्ने नै आए। ‘कन्ट्रि फस्ट’ भन्ने कोही भएन। देश त्यसै सिंगापुर बन्दैन सिंगापुर बन्नलाई त ली क्यान यु जस्तो सोच हुनु पनि आवश्यक हुँदो रहेछ।

    संसारभरिका विभिन्न राष्ट्रहरूको विकासको अध्ययनले के देखाउँछ भने एउटा पुस्ताले दु:ख नगरी देश बन्दैन। इजरायलमा बेन गुरियन र गोल्डा मायरको पुस्ताले दुःख गर्‍यो, चीनमा माओ र चाओ एन लाईको पुस्ताले दुःख गर्‍यो, सिंगापुरमा लु क्यान यु पुस्ताले दुःख गर्‍यो। ती देशको वर्तमान पीढी सम्पन्न र विकसित भएको छ। एउटा पुस्ताले दु:ख गरे पछि पछिको पुस्ताले सुखभोग गरिरहेको हामी परिवारमा पनि देख्न सक्छौ। कुनै परिवारमा बाजेले दु:ख गरेर गरेर सम्पत्ति छोडेर गएपछि नातिसम्म सम्पन्न भएको हुन्छ। बाजेको मेहनतले नाति सम्पन्न भयो। कसैले न कसैले मेहनत नगरी, दुःख नगरी सम्पन्नता आउँदैन।

    दुर्भाग्यवश हाम्रो देशमा दुख गर्न कुनै पुस्ता तयार भएन। पहिलेको कुरा छोडौँ नयाँ संविधान बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको भन्ने गरिन्छ। राजनीतिमा लागेको अहिलेको पीढीले दुःख गर्नु पर्ने हो। तर दुख गर्ने त छोडौँ गाउँपालिका जसको आन्तरिक आय एक लाख पनि हुँदैन त्यहाँका नेता करोडौँका गाडीमा चढ्छन्। गाउँपालिका देखि माथि सम्मका नेता कोही पनि सार्वजनिक बसमा यात्रा गर्दैनन्। सबैलाई प्लेमा चढ्नु पर्ने। नेताहरूले कहिले काहीँ जनतालाई देखाउनलाई भए पनि बसमा चढी दिए जनतामा सकारात्मक सन्देश जान्थ्यो। देखाउनलाई मात्र भए पनि कहिले काहीँ साइकलमा कार्यालय जानु पर्थ्यो। सत्तामा जना साथ सबैले राष्ट्रिय स्वार्थ भन्दा निजी स्वार्थलाई महत्त्व दिए। आम जनता भन्दा आफूलाई फरक सम्झन थाले त्यसै कारणले देश बनेन।

    अब के डर छ भने जसरी लामो समय सम्म अविकास र गरिबिको कारणले पहिले टर्कीलाई युरोपको बिरामी ‘सिक म्यान अफ युरोप’ भनिन्थ्यो त्यस्तै कतै नेपाललाई पनि एसियाको बिरामी भन्ने बिल्ला नलागोस्। किनकि हाम्रो आस पासका देशहरू विकासमा हामी भन्दा निकै अगाडि गइसके। भुटानको समेत प्रतिव्यक्ति आय हाम्रो भन्दा दोब्बर बढी छ। झण्डै ६ दशक लामो योजना अवधिमा १५ वटा आवधिक योजना कार्यान्वयन भइसके, विकासको नाममा खर्बौ डलर सहायता आयो। त्यस्को बाबजुद हाम्रो प्रतिव्यक्ति आय एक हजार डलरको आसपास मात्रै छ। यसको मतलब के हो भने कहीँ न कहीँ समस्या छ। कि हाम्रो राजनीति गलत छ? कि नेता गलत छन्? कि जनता गलत छन्? या योजनाहरू गलत छन्? यसको खोजी गर्नु आवश्यक भएको छ।

    (शिक्षा विद् पन्तको फेसबुक वालबाट)