काठमाडौँ जिल्लामा बैंकिङ कसुरको मुद्दा यस वर्ष दोब्बरले वृद्धि - Chaitanya News
  • 2026-11-19
  • 17:02:49
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँ जिल्लामा बैंकिङ कसुरको मुद्दा यस वर्ष दोब्बरले वृद्धि

    काठमाडौँ जिल्लामा बैंकिङ कसुरको मुद्दा यस वर्ष दोब्बरले वृद्धि

    काठमाडौँ– काठमाडौँ जिल्लामा बैंकिङ कसुरका मुद्दा गत आर्थिक वर्षको तुलनामा यस वर्ष दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७८–०७९ मा भन्दा आर्थिक वर्ष २०७९–०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    गत वर्ष काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७९–०८० मा ७ हजार १०१ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए।

    काठमाडौँमा गत वर्षको तुलनामा यस वर्ष चोरीको घटना बढेको देखिएको छ। यस वर्ष ६४७ वटा चोरीका घटना भएका छन्। आर्थिक वर्ष २०७८–०७९ मा ४६० वटा चोरीजन्य कसुर दर्ता भएका थिए।

    लागुऔषधका मुद्दा थोरै परिमाणमा बढेको देखिएको छ। एसएसपी कार्कीका अनुसार गत वर्ष ३३९ वटा लागुऔषधको मुद्दा दर्ता भएको थियो। यस वर्ष ३६८ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९–०८० मा काठमाडौँ जिल्लामा मात्रै ३५७ जनाले आत्महत्या गरेका छन्। गत वर्ष ३४१ जनाले आत्महत्या गरेका थिए।

    ज्यान सम्बन्धी कसुर गत वर्षको तुलनामा यस वर्ष घटेको छ। आर्थिक वर्ष २०७८–०७९ मा ३७ जनाको हत्या भएको थियो। यस वर्ष २७ जनाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी ठुलो चालु अवस्थामा नरहेको एसएसपी कार्कीले जानकारी दिए। उनले भने–‘काठमाडौँ जिल्लामा जडान भएका मध्ये ५४५ सिसिटिभी चालु अवस्थामा छैनन्।

    चालु नभएका सिसिटिभी मर्मतका लागी सम्बन्धित संघ संस्थाहरूलाई अनुरोध गरिएको उनले बताए। जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका इलाकामा १ हजार ७७ सिसिटिभी जडान भएको तर, ५ सय ३२ वटा मात्रै चालु अवस्थामा छन्।