धनगढी- धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन्। उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ।
सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेका हुन्। जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ।
फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो। कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ।