जोखिम व्यवस्थापनको चेपुवामा बैंकिङ क्षेत्र - Chaitanya News
  • 2026-04-30
  • 13:42:47
  • बिहिबार,बैशाख १७, २०८३
  • जोखिम व्यवस्थापनको चेपुवामा बैंकिङ क्षेत्र

    जोखिम व्यवस्थापनको चेपुवामा बैंकिङ क्षेत्र

    सम्भाव्य अवरोध जसले व्यवसायको नियमित सञ्चालनमा हानी नोक्सानी पुर्‍याउँछ। उपभोक्ताको इच्छा, चाहना, वस्तुको मूल्य, प्रतिस्पर्धा जस्ता कुरामा नियमित परिवर्तन भइरहन्छ। जसले जोखिम बढाउँछ। प्रतिफल भनेको जोखिम बहन गरेबापत प्राप्त हुने पुरस्कार भएकोले व्यवसाय गर्नु पूर्व जोखिम निर्धारण अपरिहार्य छ। अपेक्षित प्रतिफल भन्दा वास्तविक प्रतिफल भिन्न हुन सक्ने अवस्था नै जोखिम हो। जोखिमको मात्रा र संपक्तिको प्रकृति अनुसार घटी वा बढी हुने गर्छ। वास्तविक संपक्तिमा घर, जग्गा, मेसिन, ज्ञान र सिपलगायत पर्छन् भने वित्तीय संपक्तिमा वण्ड, शेयर, सुरक्षणपत्र, कर्जा लगानी र वित्तीय उपकरण पर्छन्। हालका दिनमा कोभिड १९ तथा विश्व आर्थिक मन्दिको कारणले एकातर्फ ऋणको आकार बढेको छ भने अर्कोतर्फ व्यक्तिको व्यययोग्य आयमा कमी आइरहेको छ। विश्व परिवेश हेर्दा बैंकिङ भूमिका जोखिम आफैँले नराखी बिमामार्फत अरूलाई पन्छाउने वा ट्रान्सफर गर्ने प्रवृत्ति बढ्दो छ।

    बैंकिङ क्षेत्रमा नयाँ प्रविधिको प्रयोग एवं वित्तीय उपकरणले जोखिमलाई दिनप्रतिदिन बढाउँदै लगेको छ। जसले जोखिम विश्लेषणमा समेत चुनौती थपेको छ। बैंकिङ व्यवसाय एवं उद्देश्यमा अवरोध पुर्‍याउने तत्त्वलाई पत्ता लगाउने र समाधानको उपायसमेत सुझाउने प्रक्रिया नै जोखिम विश्लेषण हो। जोखिम प्राकृतिक, मानवीय र प्राविधिक लगायत विभिन्न कारणबाट सिर्जना हुने गर्छ। कुनै पनि संगठित संस्थाले आफ्नो व्यवसायको सञ्चालनको क्रममा बहन गरेको तथा व्यवसायमा अन्तर्निहित जोखिमको पहिचान गर्ने, त्यसको असर कति छ मापन गर्ने, निगरानी र त्यसको समुचित व्यवस्थापन गर्ने समग्र प्रक्रिया नै जोखिम व्यवस्थापन हो। जोखिम व्यवस्थापनमा संगठित संस्थासँग संलग्न सबैको एकीकृत प्रयास जरुरी पर्छ। बैकिंग क्षेत्रले जोखिम भित्र रहेर अवसरको खोजी गर्नु पर्ने हुन्छ।

    बैंकिङ क्षेत्रमा आइपर्ने जोखिममा कर्जा, बजार, कार्यसञ्चालन, तरलता र ब्याजदर सम्बन्धी जोखिम प्रमुख छन्। विभिन्न जोखिमहरू मध्ये सञ्चालन जोखिम महत्त्वपूर्ण छ। जुन बैंक तथा वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयनको अभावसँग सम्बन्धित छ। जोखिमको सबैभन्दा ठूलो वाहक कर्मचारी हुन्। निरन्तर अनुगमन एवं सुपरिवेक्षणको अभाव र आन्तरिक नियन्त्रणको कार्यान्वयन पक्षमा चुस्त र दुरुस्तताको अभावले हिजोसम्म राम्रो मानिएको मानिस भोली एकाएक अपराधी बन्न सक्छ। कोर बैंकिङको प्रयोगसँगै हालका दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालन जोखिम निरन्तर बढेको हुँदा वित्तीय अपराधले प्रश्नय पाएको छ। यसको स्तर यति नै छ भनेर निक्र्यौल गर्न कठिन छ। जोखिम निवारणको चुनौतीहरूमा कोभिड १९, विश्व आर्थिक मन्दी, व्यक्तिको आम्दानीमा ह्रास, संस्थागत वित्तीय सम्पत्तिमा ह्रास, वित्तीय दायित्व निहित भएको व्यक्तिको अकाल मृत्यु, प्राकृतिक प्रकोप, सुशासनको अभाव, कमजोर आन्तरिक नियन्त्रण, आर्थिक पारदर्शिताको अभाव, बढ्दो राजनीतिक अस्थिरता र हस्तक्षेप, सम्बन्धित ऐन, नियम र कानुन परिपालनाको अभाव, कुशलता र मितव्ययिताको अभाव, लेखा परीक्षणको कैफियत सुधारमा आनाकानी, नियमित सुपरिवेक्षण र अनुगमनको अभावलगायत छन्। वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापनमा हाल देखिएको प्रमुख समस्यामा जोखिमको मापनको अभाव र अनुगमन तथा नियन्त्रण फितलो हुनु नै हो एकातर्फ भने अर्कोतर्फ लेखापरिक्षणको कैफियत सुधारमा आलटाल गर्ने र सुधार नै नगरी सुधार गर्ने छौं भन्ने जवाफ जस्ता पक्ष देखिन्छन्। त्यस्तै नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन नं ५.७५ मा कारोबार मा निहित जोखिम न्यूनीकरण गर्ने सम्बन्धी व्यवस्थाको बढ्दो उलङ्घनले पनि जोखिम बढी रहेको छ फलस्वरूप कालो सूचिमा पर्नेको संख्या र भाखा नाघेको कर्जासमेत बढिरहेको अवस्था छ। जसले बैंकिङ क्षेत्रलाई चेपुवामा पारेको छ।

    बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन कठिनाइ हुने प्रमुख कारणहरूमा कर्जा प्रवाह र निक्षेप संकलनमा हुने बदमासी, सुशासनको पालनाको अभाव, निर्देशनको पालना सम्बन्धी समस्या हो। कुनै पनि संस्थाको लेखापरीक्षणले उक्त संस्थामा भइरहेका विभिन्न प्रकारका त्रुटि पत्ता लगाउने, लेखा अद्मावदिक भए नभएको यकिन गर्ने, संस्थामा भ्रष्टाचार भए नभएको पहिचान गर्ने र यदि भएको रहेछ भने दोषीलाई कारबाही गर्न सिफारिस गर्ने, आर्थिक नियन्त्रण गर्ने, आर्थिक ऐन नियमको पालना गराउन प्रोत्साहन गर्ने, संस्थाको सम्पत्तिको भौतिक अवस्थाको दुरुपयोग भएको नभएको अध्ययन गर्ने आदि काम गर्छ। यसका साथै परीक्षणको माध्यमबाट संस्थाले अवलम्बन गरेका नीति, नियम, विनियम र निर्देशिकाबमोजिम भए/नभएको, कार्यालयमा रहेका विभाग तथा शाखाहरूको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रहे/नरहेको परीक्षण गरी नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन मद्दत गर्ने र संस्थाले उल्लेख गरेका जोखिम र जोखिम न्यूनीकरणका लागि अवलम्बन गरिने उपायहरूको पर्याप्त परीक्षण गर्ने आदि काम गर्छ।

    बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन कठिनाइ हुने प्रमुख कारणहरूमा कर्जा प्रवाह र निक्षेप संकलनमा हुने बदमासी, सुशासनको पालनाको अभाव, निर्देशनको पालना सम्बन्धी समस्या हो।

    बैंक तथा वित्तीय संस्थाहरू जनविश्वासमा सञ्चालन हुने दीर्घकालीन कम्पनी हुन्। विभिन्न प्रकारका व्यवसायहरूको विस्तार, वित्तीय संस्था तथा क्रियाकलापहरूको विश्वव्यापीकरण तथा उदारीकरण, तीव्र गतिमा भएको प्रविधिको विकास, नयाँ-नयाँ वित्तियउपकरणहरूको प्रयोग आदिबाट बैंक तथा वित्तीय संस्थाहरूबीच तीव्र प्रतिस्पर्धा भएबाट जोखिम बढिरहेको छ। जोखिम व्यवस्थापनको खाँचो विश्व व्यापी महसुस भइरहेको छ। जोखिम व्यवस्थापनले बैंकहरूको स्थायित्व र नाफाको सुनिश्चितताको साथै पुँजीको रक्षा गर्छ। जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रण जोखिम व्यवस्थापनका प्रमुख आधार स्तम्भ हुन्। सबै खाले बैंकिङ जोखिमलाई न्यून गर्न नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङमा वासेलको प्रयोग गरेको छ। जोखिम व्यवस्थापन सम्बन्धी ३ खम्बे नीतिसमेत लागू गरेको छ। जसलाई टायर १, २, ३, भनिन्छ। यसमा क्रमशः न्यूनतम पुँजी कोष, सुपरभिजन र बजार अनुशासन पर्छन्। जोखिम व्यवस्थापनलाई बैंकिङ व्यवसायको मेरुदण्डको रूपमा स्वीकार गरी सुशासनको पालना भएमा विश्व अर्थतन्त्र, देशको अर्थतन्त्र र बैंकिङ क्षेत्रसमेत लाभान्वित हुने देखिन्छ।

    बैकिंग जोखिमका चुनौतीको सामना गर्न आन्तरिक नियन्त्रणको निकै महत्त्व रहेको हुन्छ। बैक तथा वित्तीय संस्थाले दैनिक रूपमा धेरै रकमको कारोबार गरेका हुन्छन्। देशका तथा विदेशका विभिन्न स्थानहरूबाट धेरै प्रकारका वित्तीय औजारहरू मार्फत बैंकले कारोबार गरेका हुन्छन्। बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूचना प्रविधिका साधनहरू हरपल ठगीको जोखिममा रहेका हुन्छन्। प्रविधिको प्रयोग गरी विश्वका कुनै पनि ठाउँबाट नयाँ नयाँ प्रकृतिको अपराध र जालसाजीले वित्तीय क्षेत्रलाई गम्भीर समस्या पारेको छ। आधुनिक समयमा बैंकका कार्यहरू बाह्य विशेषज्ञमार्फत पनि गरिने हुँदा त्यस्ता कारोबारहरू बैंकले अवलम्बन गरेका आन्तरिक नियन्त्रण प्रणालीको पहुँच बाहिर रहेका हुन्छन्। यस्तो अवस्थामा बैंकका काम कारबाहीमा निहित जोखिमहरू झन् बढी हुन्छन्। बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नाफा प्रदान गर्न धेरै ऐन नियम वा निर्देशिकाको मर्म विपरीत गएर पनि काम गर्न सक्छन्। कतिपय अवस्थामा बैंकले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्ने, पर्याप्त पुँजीको व्यवस्था नगर्ने, संस्थागत सुशासन कायम नगर्ने, विद्यमान ऐन, नियम, निर्देशिकाको पालना नगर्ने, आफ्ना सेवाग्राहीलाई प्रदान गर्ने सेवामा समानता कायम नगर्ने, बैंकले धान्न सक्ने सीमा भन्दा बढ्ता जोखिम लिने आदि कार्यहरू पनि गरिरहेको हुन्छन्। विगत केही समयदेखि बैंकहरूले अनुत्पादक क्षेत्रमा लगानी बढाएको कारण एकातर्फ कर्जाको भाखा नाघ्ने समस्या यथावत् छ भने अर्कोतर्फ तरलता व्यवस्थापनमा दिन प्रतिदिन समस्या थपिँदै गइरहेको छ।

    हालका दिनहरूमा विभिन्न कारण बैंकहरूको नाफा देखिएको र अपेक्षित भने छैन र नाफा कमाउने होडबाजी नै चलेको हुँदा राज्यको अर्थतन्त्र नै कमजोर रहेको बेला वित्तीय संस्थाको नाफाको आकार हेर्दा सूक्ष्म लेखापरिक्षणको टड्कारो प्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी छ।

    जनताको निक्षेप लिएर त्यसको सही परिचालन नगरी लगानीकर्ताको फाइँदालाई मात्र ध्यान दिँदा समाजमा वित्तीय अराजकता आउन सक्ने सम्भावना हुन्छ। यस्ता कार्यले बैंकप्रति सर्वसाधारणको विश्वसनीयतामा ह्रास ल्याउन सक्ने र देशकै समग्र आर्थिक अवस्थामा समेत नकारात्मक प्रभाव पार्न सक्छ। यस्ता कार्यलाई रोक्न र सम्बन्धित सरोकारवालालाई भरोसा प्रदान गर्न, आधुनिक समयमा भइरहेको बैंक तथा वित्तीय संस्था बीचको तीव्र प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थाहरूले अति नै धेरै जोखिम लिने प्रवृत्ति, कारोबारमा स्वार्थ बाझिएको खुलासा नगर्ने प्रवृत्ति, कामकारबाहीमा पारदर्शिता कायम नगर्नु, नियामक निकायहरू र रेटिङ एजेन्सी प्रभावकारी नहुनु र बदलिँदो गतिशील वातावरणले गर्दा बैंक सधैँ जोखिममा रहेका हुन्छन्। यस्ता जोखिमहरूले संस्थामा सानोतिनो असरले पनि नकारात्मक प्रभाव पार्न सक्छ र संस्थानै टाट पल्टन सक्ने अवस्था पनि आउन सक्छ भन्ने कुरा अमेरिकन बैंकहरू ढलेको घटनाबाट पाठ सिक्न जरुरी छ।

    हालका दिनहरूमा विभिन्न कारण बैंकहरूको नाफा देखिएको र अपेक्षित भने छैन र नाफा कमाउने होडबाजी नै चलेको हुँदा राज्यको अर्थतन्त्र नै कमजोर रहेको बेला वित्तीय संस्थाको नाफाको आकार हेर्दा सूक्ष्म लेखापरिक्षणको टड्कारो प्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी छ। जोखिमलाई न्यूनीकरण गर्न सकिए पनि शून्यमा राखेर व्यवसाय गर्न नसकिने हुनाले यसको उचित व्यवस्थापन गर्दै बैंकिङ क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सकेमा व्यवसायमा सफलता हासिल गर्न सकिने तथा कम्पनीसमेत स्वस्थ र दीर्घजीवी हुन गई त्यसबाट बढी प्रतिफल पाउन सकिने पक्षलाई कसैले बिर्सन हुँदैन। वास्तवमा बैंकिङ क्षेत्रमा आन्तरिक नियन्त्रणका लागी बनाइएका नियम कानुन, नीति निर्देशिका आफैँमा उत्कृष्ट छन्। तर, यसको कार्यान्वयन, निरन्तर अनुगमन र कर्मचारीलाई दिइने नियमित तालिमको अभाव, अनुभव प्राप्त गर्ने समय नै नदिई नियमित बैंकको आर्थिक कारोबारमा संलग्न गराउनु, नीति नियम र निर्देशिकाहरूको अध्ययन नगराउनुको साथै नेपाल राष्ट्र बैंकले निरन्तर गरेको बैंकिङ सुपरभिजनले औँल्याएका त्रुटिहरू समेतको कार्यान्वयनको कारण सञ्चालन जोखिम लगायतका जोखिम तथा बैंकिङ अपराधसमेतको वृद्धिले जोखिम व्यवस्थापनमा चुनौती थपिँदै गएको प्रति सम्बन्धित निकाय समयमै सचेत हुनु पर्ने देखिन्छ।

    (लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन्।)