मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो। उद्देश्यसहितको कुनै निश्चित कार्य निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध श्रोतको आवश्यकता पर्छ। यसमध्ये मानवश्रोत एउटा महत्त्वपूर्ण श्रोत हो। यसलाई मानवशक्ति, श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ। मानवशक्ति, श्रमशक्तिले अन्य साधनश्रोत पुँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने सम्वेदनालेयुक्त महत्त्वपूर्ण श्रोत हो। यसैले यसको व्यवस्थापन पनि अति नै महत्त्वपूर्ण मान्ने गरिन्छ। मुलुकको समग्र विकासका लागि मानव साधन सधैँ महत्त्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रूपमा रहने गर्छ। मानव संसाधनको महत्त्व राष्ट्रको सर्वाङ्गीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामबाट महत्त्वपूर्ण मानिन्छ। साधनको रूपमा यसको परिचालन बिना विकास निर्माण कार्य सम्भव हुँदैन भने साध्यको रूपमा मानव संसाधनको विकास नै राष्ट्रिय विकासको अन्तिम लक्ष्य हो।
राष्ट्रिय विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, संवर्द्धन र समुचित उपयोग अनिवार्य छ। मानव संसाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो। मानव संसाधन व्यवस्थापनको अभ्यास मानव सभ्यताको विकासक्रमसँगै हुँदै आएको हो। यद्यपि यसको व्यवस्थित विकास सुरु भएको भने केही दशकमात्र भएको छ। मानव श्रोतको प्रभावकारिताबाट अन्य साधनश्रोत, पुँजी, औजार, वस्तु, सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ। यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरू मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन्। यसर्थ मानव श्रोत व्यवस्थापन महत्त्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रूपमा चिनिने गरेको हो। मानव संसाधन व्यवस्थापनले मानिसहरूको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउँछ। मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरूको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक सम्भार, एकाकार, अवकाश, अवकाश पश्चात्को योजना र अवकाश व्यवस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ। मानव श्रोत व्यवस्थापन यी सबै कार्यहरूको श्रृड्खलाबद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरूप हो। यी सबै चरणबद्ध शृङ्खलाहरूको विवेकपूर्ण , दिगो र परिणाममूलक व्यवस्थापन कौशलता रणनीतिक व्यवस्थापन हो।
मानव संसाधनको रणनीतिक व्यवस्थापनको पक्ष प्रतिभा व्यवस्थापनको रूपमा पनि चिनिने गर्छ। प्रतिभा व्यवस्थापनको अवधारणा सन् १९९७ देखि प्रयोगमा आउन थालेको हो।
जनशक्तिलाई रणनीतिक साधनको रूपमा लिई मानव संसाधनसँग सम्बन्धित सबै कार्यबीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्त्वपूर्ण पक्ष हो। सरल रूपमा भन्ने हो भने सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्तिदेखि अवकाश सम्मका तह प्रचलनमा रहँदै आएकोमा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चात्को अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरूप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुँदै आइरहेको छ। मानव सभ्यता र समयको विकासक्रमसँगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तन भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रूपमा लिइएको र पछि क्रमशः मानवलाई पुँजीको रूपमा लिने चलन बढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाइन्छ। मानव संसाधन व्यवस्थापनमा भएको यो विकासले मानव संसाधनको रणनीतिक व्यवस्थापनमा जोड दिएको छ। रणनीतिक व्यवस्थापनले मानव संसाधन व्यवस्थापनका सबै चरणमा सबल, कमजोर, अवसर र चुनौतीका पक्षबीच सामन्जस्यता र सो अनुरूपको कार्ययोजनाको माग गर्छ।
मानव संसाधनको रणनीतिक व्यवस्थापनको पक्ष प्रतिभा व्यवस्थापनको रूपमा पनि चिनिने गर्छ। प्रतिभा व्यवस्थापनको अवधारणा सन् १९९७ देखि प्रयोगमा आउन थालेको हो। मानव संसाधनको विवेकपूर्ण व्यवस्थापन नै प्रतिभा व्यवस्थापन हो। प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पुँजीको रूपमा लिने गर्छ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यबाट अभिप्रेरित गर्ने गर्छ। साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो। प्रतिभा व्यवस्थापनको यो बुझाइले संगठनमा प्राप्त भइसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ। तर, प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्रसँग सम्बन्ध राख्ने विषय हो। मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषयसँग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेतसँग सम्बन्धित छ। प्रतिभा व्यवस्थापनका मूलतः निम्न चार चरणहरू रहने गर्दछन् यी चारै चरणको सुझबुझ र सबल र दुर्बल पक्षको व्यवस्थापन नै रणनीतिक व्यवस्थापन हो।
१. प्राप्तिपूर्वको चरण : श्रम बजार व्यवस्थापनको रणनीति
जनशक्ति योजना प्रतिभा व्यवस्थापनको प्राप्तिपूर्वको चरणमा पर्छ। सांगठनिक उद्देश्य प्राप्तिद्वारा राष्ट्रिय उद्देश्य प्राप्तिका लागि प्रतिभावान् मानव श्रोत सबभन्दा महत्त्वपूर्ण पक्ष हो। यस चरणमा संगठनको लागि आवश्यक पर्ने उमेर समूह, योग्यता र सीपको क्षेत्र, विज्ञताको क्षेत्र आदिको विश्लेषण गरिन्छ र सो अनुरूप त्यस्ता जनशक्तिको उत्पादन गर्ने रणनीति लिइन्छ।
जनशक्ति योजना सांगठनिक र राष्ट्रिय तह गरी दुई तहमा निर्माण हुने गर्छ। यी दुवै तहको आवश्यकताको आधारमा विभिन्न शैक्षिक संस्थाहरूले लामो समयको अन्तराल पछि श्रम बजारमा क्षमतावान् र प्रतिभावान् जनशक्ति तयार गर्ने गर्छन्।
२. प्राप्तिको चरण : योग्यता र क्षमताको चयन गर्ने रणनीति
क्षमतावान् जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको अर्को महत्त्वपूर्ण चरण हो। श्रम बजारमा उपलब्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान् जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्छ। यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्तिलाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यमद्वारा क्षमतावान् जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ। संगठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया निम्न आधारमा आधारित हुनु पर्छ :
जनशक्ति प्राप्तिको लागि अपनाइने प्रक्रियालाई व्यवस्थापकीय भाषामा पदपूर्ति भन्ने गरिन्छ। पदपूर्ति सम्बन्धमा लुट प्रणाली, योग्यता प्रणाली र मिश्रित प्रणाली चलन चल्तीमा रहेका छन्। योग्यता प्रणालीमा संगठनमा आवश्यक पर्ने जनशक्ति लाई निष्पक्षता र प्रतिस्पर्धाको आधारमा छनौट गरिन्छ। सर्वसाधारणको सहज पहुँच र निष्पक्ष छनौट प्रणालीको कारणले योग्यता प्रणाली पदपूर्तिको लागि उचित मानिएको छ।
३. उपयोग र विकासको चरण: क्षमताको उपयोगको रणनीति
श्रम बजारमा उपलब्ध क्षमतावान् जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुँदैन यस्तो क्षमतावान् जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको महत्त्वपूर्ण चरण हो। विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा निम्न आधारहरू लिने गरिन्छ:
– जुन कामको लागि लिइएको हो सो काममा लगाउने
– योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा कार्य विनियोजन गर्ने
– कार्य विवरणको आधारमा काममा लगाउने
– कुन काम के कसरी कुन प्रक्रियाद्वारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने
– कार्य सम्पादन मूल्यांकन प्रणाली
– योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने
– सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने
– आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतीकरण, कार्य पुष्टीकरण आकर्षक तलबमान र उत्प्रेरणा (मौद्रिक तथा गैर मौद्रिक)का माध्यमद्वारा क्षमतावान् जनशक्तिलाई संगठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने
– आकर्षक , पूर्वानुमानयुक्त र पारदर्शी वृत्ति मार्ग,
– क्षमतावान् जनशक्ति आकर्षण गर्ने र टिकाइराख्ने रणनीति
४. बहिर्गमनको चरण : योगदानको सम्मानको रणनीति
– अनिवार्य अवकाशको हद
– पदावधिको आधारमा अवकाश
– बाध्यात्मक अवकाशक
– स्वैच्छिक अवकाश
– निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलब वृद्धिको आधारमा निवृत्तिभरणमा थप
– विज्ञताको अनुभव लिन सकिने व्यवस्था
संगठनमा उपलब्ध सबै जनशक्ति संगठनका पुँजी तथा अमूल्य निधी हुन्। तथापि केही जनशक्ति को क्षमता संगठनमा अन्य जनशक्तिको क्षमता भन्दा निकै बढी हुन्छ र यिनीहरू संगठनको दैनिक कार्यलाई व्यवस्थित गर्न अपेक्षित परिणाम निकाल्न र संगठनको साख अभिवृद्धि गर्न प्रखर साबित भएका हुन्छन्। यसर्थ यिनीहरूलाई समूहगत कार्य, टोलीगत कार्य, विशेष भूमिका, समन्वयकारी भूमिका आदि द्वारा उनीहरूको क्षमताको अधिक भन्दा अधिक रूपमा प्रयोग गर्न सकिन्छ। साथसाथै अन्य तुलनात्मक रूपमा मध्यम वा निम्न क्षमताका कर्मचारीहरूलाई विकासको तालिम जस्ता अन्य उपागमद्वारा उनीहरूको क्षमतालाई सामयिक रूपमा तिखारी राख्नुपर्ने हुन्छ। साथै संगठनमा ऊर्जाशील, उत्पादनशील र सृजनशील जनशक्ति को अन्यत्र पलायनलाई पनि रोक्नु पर्ने हुन्छ।यी सबै विषयलाई समेट्नु पर्ने विषय रणनीतिक व्यवस्थापनको पक्ष हो। मानव लाई मानव पुँजीमा परिणत गर्न सुरुमा त्यसमा लगानी गर्ने र त्यसबाट अधिकतम प्रतिफल लिन तयार पारिने रणनीति र सो रणनीतिको कार्यान्वयन व्यवस्थापन नै रणनीतिक व्यवस्थापन हो। यसका लागि माग पक्ष बजार, उत्पादन पक्ष शैक्षिक संस्था, उपयोग पक्ष रोजगारदाता संस्थाहरू, विकास पक्ष तालिम प्रदायक संस्थाहरू, जनशक्तिलाई संगठनमा टिकाइरहने पक्ष सेवा सर्त सम्बन्धी कानुन र सुविधा, श्रमशक्तिको अत्यधिक आपूर्ति र कमीको अवस्थामा यसको व्यवस्थापन गर्ने पक्षको बीचमा समेत रणनीतिक दृष्टिकोणको आवश्यकता पर्छ।
(डा. दामोदर रेग्मी कुशल प्रशासक गीतकार तथा सुपरिचित लेखक हुन्)