काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन शोधन गर्नुपर्ने बताएका छन।
बिहीबार बसेको अर्थ समितिको बैठकलाइ सम्बोधन गर्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए। उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिनपनि आवश्यक रहेको बताए।
छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए।
भुसालले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ। यसमा तपाईँहरूले सहयोग गर्नुपर्नेछ। त्यसमा मान्यज्युहरुको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि। तदनुरुप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रुपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ। जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ। यो भएमात्रै तदनुरुप मागको आँकलन गरेर बजेट खरिदका लागि सुनिश्चित हुनुपर्छ। खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाउन्, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ।’