सानेपामा देउवालाई प्रश्न- गुट रूपान्तरण गर्ने कि पार्टी? - Chaitanya News
  • 2026-11-16
  • 13:55:22
  • सोमबार,मंसिर ०१, २०८३
  • सानेपामा देउवालाई प्रश्न- गुट रूपान्तरण गर्ने कि पार्टी?

    सानेपामा देउवालाई प्रश्न- गुट रूपान्तरण गर्ने कि पार्टी?

    काठमाडौं- कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज जिल्ला सभापतिहरूसँगको छलफल जारी छ। भेलामा पार्टीको रूपान्तरणबारे छलफल भइरहेको छ। जिल्ला सभापतिहरूले पार्टीको रूपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन्।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका संखुवासभा जिल्ला सभापति दीपक खड्काले पार्टीको रूपान्तरणबारे स्पष्ट खाका तयार पार्न माग गरे। भेलामा उनले अहिले रूपान्तरणको कुरा उठिरहेकोमा गुटको रूपान्तरण हो कि पार्टीकै? भन्ने प्रश्न गरेका छन्। उनले यो विषय आफूहरूलाई प्रस्ट पारिदिन आग्रह गरे।

    उनले कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न नसकेको गुनासो गरे। पार्टी सरकारमा भए पनि समन्वय हुन नसकेको र जनताले कांग्रेस सरकारमा भएको अनुभूति गर्न नसकेको बताए।

    त्यस्तै युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले अर्थमन्त्री प्रकाशशरण महतले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गरेको गुनासो गरे। मन्त्री लिम्बूले आफैंले पनि मन्त्रालयमा पर्याप्त बजेट नपाएको गुनासो गरे।

    त्यस्तै प्रतिनिधिसभा सदस्यसमेत रहेका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङले पनि सरकार र पार्टीबीच समन्वय हुन नसकेको बताए। उनीहरू जस्तै अन्य जिल्ला सभापतिहरूले पनि कांग्रेसमा गुडगत राजनीति निकै मौलाएको गुनासो गरेका छन्। यसले पार्टी खतरनाक मोडमा पुगेको उनीहरूको गुनासो छ।