सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न मिल्दैन : हिक्मत कार्की - Chaitanya News
  • 2026-11-16
  • 13:57:33
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न मिल्दैन : हिक्मत कार्की

    सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न मिल्दैन : हिक्मत कार्की

    विराटनगर– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएका छन। सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने कार्कीले बताए।

    उनले भने ‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र? संविधान मिच्छ दिन्छौं र हामी कसैलाई? संविधान मिच्न पाइदैन, एमालेले संविधान मिच्न दिदैन।’

    सरकारमा दाबी पेश गर्दा सभामुखको प्रयोग गर्न संविधानले नै परिकल्पना नगरेको कार्कीले बताए। ‘सभामुखको प्रयोग गर्नै मिल्दैन, गर्ने भए संविधान च्यात्नुपर्‍यो पहिला,’ अहिले संविधान च्यात्नका लागि उद्धव थापालाई, राजेन्द्र राईलाई अथवा इन्द्र आङ्बोलाई अधिकार छ र?त्यो सम्भव नै छैन, सम्भव नभएको कुरामा बहस गर्न आवश्यक छैन कार्कीले भने।

    उनले संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने पनि बताए।

    बहुमतको सरकारका लागि एमालेले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले भने बहुमतको सरकारमा दाबी नगर्ने बताए। ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु पर्‍यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो।’

    ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै छ। ४० सिटको एमाले प्रतिपक्षमा छ। ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ।