विराटनगर– कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज (बिहीबार) साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन लिएर थापा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले सभामुखसहित ४७ जना सांसदको समर्थनकम साथै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको बताए।
कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी थापालाई ४७ प्रदेशसभा सदस्यको समर्थन छ। तर राप्रपाले भने समर्थन गरेको छैन।
बिहीबार विहानसम्म राप्रपालार्ई गठबन्धनमा ल्याउन प्रयास गरेपनि राप्रपाले समर्थन गर्न नसक्ने बताए। राप्रपा सांसद सविना बजगाईले सरकारलाई समर्थन नगर्न निर्देशन आएको बताइन्। ‘सरकारका बारेमा निर्णय गर्न हामीले केन्द्रीय अध्यक्षलाई जिम्मेवारी दिएका छौं, सरकारमा सहभागी नहुने कुराहरु आइरहेको छ’ ‘माथिबाट आधिकारिक निर्णय भने आइसकेको छैन उनले भनिन्,।’
कांग्रेसका एक सांसदले पनि राप्रपाले सहयोग गर्न नमानेको पुष्टि गरे। ‘राप्रपाले तत्काल सहयोग गर्न मानेन, विश्वासको मत लिने दिनसम्म हेरौं’, कांग्रेसका एक सांसदले भने,‘पुरानो सम्बन्ध बिर्सिएर राप्रपाले सहयोग गर्यो भने सरकार टिक्छ नत्र ३० दिनपछि ढल्छ।’
बिहीबार गठबन्धनको तर्फबाट सभामुखसहित ४७ समर्थन देखाएपछि प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। थापाको शपथ ग्रहण र मन्त्रिरिषद विस्तार भने शुक्रबार हुनेछ।