के प्रचण्ड भारतले बनाएका प्रधानमन्त्री हुन्? - Chaitanya News
  • 2026-11-16
  • 13:56:02
  • सोमबार,मंसिर ०१, २०८३
  • के प्रचण्ड भारतले बनाएका प्रधानमन्त्री हुन्?

    के प्रचण्ड भारतले बनाएका प्रधानमन्त्री हुन्?

    काठमाडौं- यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै विवादमा छन्। आफ्नै अभिव्यक्तिका कारण नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड विवादमा तानिएका हुन्।

    सोमबार प्रधानमन्त्री प्रचण्डले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए। आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक भारत गएको भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डको विरोध भइरहेको हो।

    सोमबार सरदार प्रितम सिंहको ८८औं जन्मदिवस थियो। राजधानीमा उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड अलिक बढी नै भावुक बने।

    प्रधानमन्त्री दाहाल यति भावुक भए कि सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको समेत टिप्पणी गर्न भ्याए। उनले भनेका थिए, ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो।’

    प्रधानमन्त्रीको सो भनाइ राष्ट्रघाती भएको भन्दै एमालेले संसदका दुवै सदनका बैठक अवरुद्ध मात्रै गरेन, प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्नै नदिने घोषणा गरेको छ।

    त्यसअघि बुधबारै एक कार्यक्रममा सो विषयमा सोमबार प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिएका थिए। बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले प्रितम सिंहले बोलेको कुरामा आफूले बोलेको तर विपक्षीले त्यसमाथि नै बबण्डर मच्चाउन खोजेको बताए।

    प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा दिएको स्पष्टीकरणले एमालेको चित्त बुझेन। प्रधानमन्त्रीको स्पष्टीकरणप्रति संकेत गर्दै (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको स्पष्टीकरण होइन, राजीनामा चाहिएको बताए। संसद बैठक अवरोधपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको बताए।

    संसदमा एमालेसँगै प्रधानमनत्रीको विरोधमा रास्वपा पनि उत्रिएको थियो। सदन अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको र यसप्रति रास्वपाको प्रश्नहरू रहेको बताएका थिए।

    एमालेले प्रधानमन्त्रीको राजीनामा मागेपछि माओवादीले त्यसको कडा शब्दमा प्रतिवाद गरेको छ। माओवादीका सांसद लेखनाथ दाहालले प्रधानमनत्रीले राजीनामा नै दिनुपर्ने गरी कुनै राष्ट्रघात नगरेको बताए।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री प्रचण्डले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

    बिहीबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेका हुन्।

    ‘प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन । यसबारे म सँग कुरा पनि भएको छैन,’ उनले भने।

    प्रतिपक्षमात्र नभएर सत्ता पक्षकै सांसदले पनि प्रधानमन्त्रीको विरोध जनाइरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक-पटक दिल्ली गएको भनि अभिव्यक्ति दिनु उन्कै गल्ती भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आरोप छ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै शर्माले प्रधानमन्त्री जस्तो व्यक्तिले के बोल्ने भन्ने हेक्का नराख्नु उन्कै गल्ती भएको बताएका हुन्।

    ‘गल्ती प्रधानमन्त्रीकै हो! नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो। मित्र रास्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलत प्रधानमन्त्रीकै हो। आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ। सत्तारूढले नै प्रश्न गरेका छौं। प्रतिपक्षको त मूल कर्तव्यनै हो!’

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपाली राजनीतिलाई तरंगित बनाइरहेका बेला सरदार प्रितम सिंहले आफ्नो धारणा सार्वजनिक गरेका छन्। बुधबार सञ्चारकर्मीहरूमाझ उनले आफू नेपाल र भारतबीचको सम्बन्ध सुधारका निम्ति दिल्ली गएको प्रस्टीकरण दिएका छन्।

    उनले प्रधानमन्त्री दाहालले त्यसो भनेर आफूप्रति माया देखाएको स्पष्ट पारे। ‘उहाँले जे भन्नुभयो। हामीप्रति माया देखाउनलाई भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन,’ उनले भने। सोही क्रममा सिंहका छोराले आफूहरूबीच पारिवारिक सम्बन्ध रहेको बताए।

    उनले नेपालमाथि नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती भएको स्पष्ट पारे। ‘नाकाबन्दी गर्नु भारतको ठूलो गल्ती थियो। त्यही बेला म दुई देशबीचको सम्बन्ध सुधारका निम्ति भारत गएको हुँ। राजनीतिक विषयमा कुनै पनि छलफल भएको छैन,’ उनले भने।

    उनले भूकम्पका बेला आफूले भारतबाट खाद्यान्न ल्याएर सहयोग गरेको बताए। ‘भूकम्पका बेला पनि भारत गएर ५-७ करोडको खाद्यान्न ल्याएको हुँ। हामीले दिनहुँ खाना खुवाएर आपतकालमा सहयोग गरेका छौं,’ उनले भने। उनले आफ्नो जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल रहेको बताएका थिए।

    सिंहकै किताब विमोचनका क्रममा गत सोमबार प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए।

    उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार दुवै सदन अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन अवरोध गर्ने एमालेले जनाएको छ। यसरी विवाद भइरहँदा प्रचण्ड के भारतले बनाएका प्रधानमन्त्री हुन्? भन्ने प्रश्न आम जनतामा छाएको छ।