काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको छ।
प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको हो।
बुधबार दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए।
प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ। भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’ दाहालले भने।
नेकपा एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन्।