काठमाडौं– राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पहुँचका आधारमा सरकारले बजेट विनियोजन गरेकोप्रति गुनासो गरेका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि गरिएको खर्च कटौतीको छलफलमा सहभागी सांसद शेर्पाले पहुँचवाला मन्त्री र सांसदले आफ्नो क्षेत्रमा बजेट लैजाने तर,सोझा र पिछडिएका क्षेत्रका नेता र सांसदले नपाउने गरेको गुनासो गरे।
सरकारले आर्थिक वर्ष ०८०–८१ को लागिविनियोजन गरेको बजेटले विकट क्षेत्रका सांसद र पहुँचवालाबीचको फरक स्पस्ट छुट्याएको बताएका उनले संघीयता आवश्यक रहेको महशुस गरेको चर्चा गरे।
उनले भने,‘संघीयता भनेको आवश्यकताहो भन्ने कुरा यो बजेट बाँडफाँटले पनि देखायो। त्यसकारण यो देशमा संघीयता आवश्यक छ। कस्लाई आवश्यक छ भने,पावरवाला ठूल्ठूला मन्त्री,सांसद र नेतालाई आवश्यक छैन्। म जुन ठाउँबाट आएको छु,त्यो ठाउँको लागि संघीयता आवश्यक छ। सगरमाथा,सोलुखुम्बु र हिमाली क्षेत्रको लागि संघीयता आवश्यक छ।’
युवा तथा खेलकुद मन्त्रालयको विनियोजन खर्च कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनि प्रस्ताव पेश गरेका उनले युवा जनशक्तिलाई शिपमूलक तालिमसहित नैतिक शिक्षा दिनुपर्ने जोड दिए।