भौतिक शरीर जहाँ होला तर आफ्नो जन्मभूमि जो कोहीलाई प्यारो लाग्छ। जीवनमा बाच्न पर्ने, परिवारको लालनपालन गर्न पर्ने र राम्रो शिक्षा दीक्षा दिनुपर्ने बाध्यताका कारण मानिसहरू कोही कतै कोही कतै पुग्छन्। तर, जन्मभूमिको मायाले बेला-बेला डोर्याउने गर्छ। र त हामी मौका मिलाएर जन्मभूमि पुग्ने गर्छौं। सायद यसैलाई भनिन्छ होला जन्मभूमि प्रतिको ममता। केही समय पहिले म पनि जन्मभूमि डोटीको चाल्स पुगेको थिए। त्यहाँ पुगेर काठमाडौं फर्किसकेपछि मलाई फेसबुक पोस्ट बनाएर यात्रा संस्मरण सामाजिक सञ्जालमार्फत बाँड्न मन लाग्यो। जन्मथलो डोटी बोगटान चाल्स यात्राका मुख्य अंश जोड्दै गए। लेखाइ लामै भएछ। फेसबुक वालमा पोस्ट गर्न मन लागेन। चैतन्य खबरलाई सम्झिए। चैतन्य खबरका समाचार संयोजक यज्ञराज जोशीले इमेल प्रदान गरे। प्रकाशित भए ठिकै छ, भएन भने पनि केही छैन, सोच्दै सामग्री इमेल गरिदिए। सम्पादन भएर उक्त सामग्री चैतन्यमा प्रकाशित भयो।
यात्राका सहयात्री दाजु भाइहरूले पढुन् भन्ने लागेर प्राप्त लिङ्क सबैलाई ट्याग गरी फेसबुकमा सेर गरे। छापिन्छ छापिँदैन भन्ने आशंका थियो। छापियो। पढ्न कस्लाई फुर्सद हुन्छ र भन्ने मेरो सोचाइ थियो। तर, लेख प्रकाशित भएको केही घण्टामै धेरैको माया पाए। धेरैले मलाई प्रतिक्रिया दिन थाले। धेरैले लेखलाई शेयर गर्नुभयो। धेरै जनाले त लेख खोलेर चैतन्य खबरमै ऊर्जाशील प्रतिक्रिया दिनुभयो। अनपेक्षित रूपमा लेखले चर्चा बटुलेपछि मन प्रफुल्लित भयो। धेरैले त्यसरी माया गर्दा हतार गरी यात्रासंस्मरण प्रकाशित गरेछु भन्ने पछुतो पनि लाग्यो। त्यसैले यात्रामा छुटेका केही पाटालाई लेखको रूपमा यो दोस्रो संस्मरणमा सम्झिने कोसिस गर्दै छु।
कुरो यही ज्येष्ठ ८ गतेको हो। कुलदेव पूजनको उद्देश्य लिएर काठमाडौंबाट डोटी चाल्स पुग्नु थियो। त्यसका लागि कैलालीसम्म रात्रीबसको यात्रा रोजे। बसको लामो यात्राको थकान मेट्न दुई दिन कैलाली बसेर ज्येष्ठ ११ गते बिहान अत्तरियाबाट पहाड जाने मोटर चढे। दिपायल-सिलगढी पिचरोड, गोदावरी जंगल चिर्दै भासुको भीर उक्लँदै सहजपुरसम्म सजिलै पुगियो। त्यहाँबाट बोगटान जाने बाटो छुट्टिन्छ। सुरुमा बाटो राम्रो अनि पिच नै थियो। विपिनगरको वरपर पहाड, तल बग्दै गरेका ठूलीगाड, सुन्दर दृश्यावलोकन मन आनन्दित अनि प्रफुल्लित हुँदै थियो। प्रकृतिका सुन्दर छ्टा उकाली ओराली पार गर्दै विपिनगर कैलाली डोटीको सिमानासम्म बीचबीचमा पानी र पहिरोले बिग्रिएको सडक पार गर्दै ठूलीगाड तरेर बडिकेदार गाउँपालिका डोटी जिल्लाको सिमाना सुरु भयो। मोटर उकालो चढ्न थाल्यो। माथि जाँदै गर्दा तलको प्राकृतिक सुन्दरता थप मनमोहक देखिँदै थियो। बिस्तारै सल्लेरी डाँडा काटेर अब विविध वनस्पतिले हराभरा देखिने डाँडा आउन थाले, बिस्तारै काफलका रुख देखिन थाले, मोटर रोक्दै काफल खाँदै बागछेडा पुगियो।
युवा अवस्थामा पैदल हिँडेका स्थानहरू मोटर चढेर यात्रा गर्दा देखिने दृश्य नितान्त नौलो लागिरहेका थिए। पैदल यात्रा गर्दा देखिने दृश्य भन्दा मोटरबाट बेग्लै आनन्द दिने, झन् मनमोहक लाग्ने रहेछन्। सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिने, अनुभव गर्न सकिने तर व्यक्त गर्न कति गाह्रो। मन मस्तिष्कमा कैद यस्ता सुन्दर अनि मनमोहक दृश्य शब्दमा उतार्न कति कठिन। शब्दका आँखा हुने भएको भए अक्षरमा कसरी कैद हुँदा हुन् मनमोहक दृश्य। मैले त मस्तिष्कमा कैद दृश्यलाई शब्दमा उतारिरहेको छु। यिनको भाव पनि बेग्लै मज्जाको लागिरहेको छ। मनको अव्यक्त खुसी, आनन्द, छटपटी, उकुसमुकुस शब्दमा पोखिँदाको पल झन् सुन्दर, मिठो, मनमोहक हुन्छ। शब्द पढेर अनुभूत गरिने दृश्य र क्यामेरामा कैद भएको दृश्यको स्वाद नितान्त फरक कुरा हुन्।

मेरो मनमा यात्राका अनुभूति अमिट भई बस्छन् तर ठाउँको नाम भुल्छु। यात्रालाई म आनन्द र अवसरको रूपमा लिन्छु। त्यसैले तथ्यको बोझ बोक्न जाँगर लाग्दैन। तथ्य बिनाको लेखाइ खल्लो हुन्छ। कल्पना अनि फगत कोरा अनुभूतिले लेखाइ जीवन्त हुँदैन थाहा छ। सत्य जसरी टार्न खोजेँ पनि तथ्य टिपोट गर्ने जाँगर नभएकै हो। म व्यावसायिक लेखक होइन। त्यसैले लेखकीय गुण पनि छैनन्। आफ्ना कमजोरी आत्मसाथ गर्नुपर्छ। कुरा बिग्रने भनेकै कमी कमजोरी आफूसँग हैन अरूमा मात्र देखेर न हो। सत्य आत्मसाथ गर्न नसकी त्यसबाट उम्कने उपाय मात्र न हो।
उकालो उक्लँदै बागछेडा पुगियो यहाँबाट पिच बाटो सकियो। अबको यात्रा बिना कुनै पूर्वाधार एकसरो खनेर छोडेको कच्ची बाटो हुँदै तय गर्नु थियो। मोटर डरलाग्दा भिर छिचोल्दै कहिले यता कहिले उता ढल्याक ढुलुक गर्दै अघि बढ्न थाल्यो। त्यस बीचमा सडक खन्ने कार्य चलिरहेको थियो। त्यसका लागि केही घण्टा बाटो अवरुद्ध गरिने रहेछ। तर हामी समयमै त्यहाँ पुगेकाले बाटोको लागि पर्खनु परेन। जसो जसो यात्रा अघि बढ्न थाल्यो, अघिसम्मको आनन्द डरमा परिणत हुन थाल्यो। यात्रा त गर्नु नै थियो। गन्तव्यमा जसरी पनि पुग्नु थियो। यात्रा चढेको मोटर र त्यसका चालक माथि भरोसा राख्दै, भगवान् सम्झँदै अघि बढ्दै गयो। जन्मभूमि चाल्स चुम्ने उत्कन्ठ अभिलाषाले ती तमाम असहजता अनि डर भुलाई रहेको थियो। जसले गर्दा समय बितेको, बाटो कटेको थाहा नै भएन। दिउँसो १२ बजे अत्तरकाँडा पुगियो। अत्तरकाँडा पहिले नै खबर गरी खाना बनाई राख्न भनिएको ठाउँ भएकाले खाना खान मोटर रोकियो।
हामी आँखा अघिको अवसर देख्दैनौँ। नदेखिने अवसरको खोजीमा भौतारिन्छौं। नजिकै मोटर चल्ने बाटो दिनहुँ सय दुई सय मानिस आवत जावत गरिरहेका हुन्छन्, ती खाना नास्ताको खोजी गर्छन् तर त्यहाँ कतै व्यवस्थित होटेल थिएनन्। जे जति थिए तिनमा पनि न राम्रो खाना पाइन्छ, न पिउने सफा पानी। ती फोहर अनि अस्तव्यस्त थिए। यहाँ अवसर छ तर हामी त्यो अवसरलाई अवसर मान्दैनौं। नाकै अघिको अवसर देखिँदैन। देखिए पनि त्यसका लागि हामी तयार हुँदैनौं। घर छेउ होटेल चलाउन हाम्रो नाकले दिँदैन। कतै पर अरूका जुठा भाँडा माझ्ने काम हाम्रो लागि अवसर हुन्छ। हामीलाई जीवन जिउन आडम्बरको खास्टो चाहिन्छ, हामी यथार्थ आत्मसात् गरी बाँच्न सक्दैनौं, बाँच्न चाहदैनौं।
जस्तो व्यक्तिको सोचाइ त्यस्तै समाज अनि राष्ट्र। हामी यस्तै छौं र त टाठाबाठा, राज्य अनि सम्बन्धित निकायको चतुर्याई, विकास र विनाश बीचको फरक छुट्याउन सक्दैनौं। त्यसैले त ती हामीले चाहे जस्तो होइन आफूले चाहे जस्तो गर्छन्। हामी तीनलाई प्रश्न गर्न सक्दैनौं, औला ठड्याउन सक्दैनौं। ती हाम्रा यिनै कमजोरीको फाइँदा उठाउँछन्। नचाहिँदो ठाउँमा बाटो घुमाउँछन् एकसरो डोजर लगाएर पहाड खोस्रिनुलाई सडक निर्माणको नाम दिन्छन्, नाम मात्रको बाटोमा मोटर कुदाउन अनुमति दिएर यातायातको सुविधा दियौं भन्छन्। हामीलाई नै दुःख, सास्ती, दुर्घटनाको भागीदार बनाउँछन्। हामी तिनैको जय गान गर्छौं। ठूला बनाउँछौं। तिनैलाई राज्य चलाउने जिम्मा दिन्छौं। दोष तिनको होइनन्, हाम्रो हो। हामी आफ्नो दोष देख्दैनौँ, दोष तिनैलाई लगाएर गाली गर्दै आफ्नै समय बर्बाद पार्छौ।

खाना खाइसकेर त्यहाँबाट पुनः यात्रा सुरु भयो। मोटर ओरालो झर्दै अघि बढ्दै थियो। तराईबाट हिँड्ने बेला कसैले भन्दै थियो पहाडको कच्ची बाटो ठाउँमा पुग्दासम्म चार पाथी धूलो साथ जान्छ। धुलोबाट बाँच्ने हो भने कोरोना कालको स्वास्थ्यकर्मीले लगाउने टाउको देखि खुट्टासम्म छोपिने पिपिई लिएर जानु। संयोग बस त्यस दिन धूलो खान लेखिएको रहेनछ। आकाशमा बादल मडारिन थाल्यो। केही बेरपछि हल्का हल्का पानी पर्न थाल्यो। धूलोबाट त बचियो। ठूलो पानी परेपछि हुने हिलो, हिलोमा मोटर फस्ने डरले ठाउँ लिन थाल्यो। बाटो तल-तल हुँदै खोला सम्म पुग्थ्यो। खोला पुगेर पुनः उकाला घुम्ती पार गर्दै झन्डै-झन्डै सेलरोटी बनाउन खोज्थ्यो। ओहो कति घुमेको बाटो। साँच्चै घुमेको हो कि? आफ्नो घर जसरी पनि छुवाउन घुमाइएको हो? पट्यार लाग्दो घुमाउरो बाटोमा मोटर अघि बढ्दै गयो, परिरहेको पानीको वेग पनि बढ्न थाल्यो। बाटो हिलाम्य हुन थाल्यो। हिलाम्य बाटोमा मोटर जसोतसो अघि बढिरहेको थियो। अब त पानी दर्किन थाल्यो, उकालोमा मोटरका पाङ्ग्रा अघि बढ्न अनकनाउन थाले। हुँदा-हुँदा अब त जति नै प्रयास गरे पनि मोटर अघि बढ्नै नसक्ने भयो। तान्नलाई अर्को मोटर छैन दुई/तीन जनाले धकेल्दा मोटर अघि बढ्दैन हेर फसाद! पानी झन् दर्किँदै छ। ओत लाग्ने ठाउँ छैन। हिँडौं, हिँडेर गन्तव्यसम्म पुगिँदैन। मोटर डेक चल्दैन। पछाडि आउने मोटर कुर्नु बिकल्प थिएन। पर एउटा मोटर ओरालो ओर्लँदै आइरहेको देखियो।
त्यो युएनको ग्रामीण भेकको कार्यक्रमका लागि हिँडेको मोटर रहेछ। हाम्रो मोटर फसिरहेको देखेर मोटरमा भएका सबै ओर्लिएर हाम्रो मोटर धकेल्न लागिपरे। ठूलो प्रयासपछि हाम्रो मोटरले त्यो अप्ठ्यारो उकालो पार गर्यो। यात्रा भरी त्यो मोटर हाम्रो पछिपछि नै हिँड्यो। करिब ४ बजे छिडीखान पुगियो। त्यहाँसम्म सजिलै पुगियो होला जस्तो लाग्ला तर बीचमा पहिले जसरी नै हाम्रो मोटरले चार पाँच ठाउँमा त्यसरी नै घुँडा टेक्यो। त्यसरी नै भए भरको बल लगाउँदै मोटर ठेल्दै, हिलोले पुरै नुहाए जस्तो भई त्यहाँ पुगिएको हो। अब गन्तव्य नजिक थियो। प्यारो चाल्स नजिक थियौं। अबको पौने घण्टाको बाटोमा डरलाग्दो उकालो र घुम्ती थिएन। केही ओरालो अनि सिधा सिधै पुगिन्थ्यो। धन्य भगवान्! सहयोगी हातहरू पठायौं। धन्य जन्मभूमि! आजै तिमीलाई छुने अवसर जुरायौं। अघिको दुःख कता हरायो कता, मन असीम आनन्दले भरियो। खुसीले नाच्यो। वा रे मेरो जन्मभूमि! वा रे मेरो चाल्स! सायद यसैले भनिन्छ आनन्द अनि खुसीको कुनै सीमा हुँदैन। त्यस्तै भयो।
मोटर यहाँ बाट अघि बढ्यो, अघि सम्म दर्किएको पानी सिमसिमे भैसकेको थियो, आकाश बिस्तारै उघ्रिएर घाम लागिरहेको थियो। धाम पानीको मिश्रण पर खोलाबाट सुरु भई माथिसम्म इन्द्रेणी देखिँदै थियो। त्यो पल त्यो सुन्दरता, त्यो मनमोक दृश्यको केही बेर श्वादन गरी त्यहाँबाट बिस्तारै अघि बढ्दै गयौं। अब त्यहाँ बाट मेरो प्यारो चाल्स प्रस्ट देखिँदै थियो। आनन्दित मन चाल्स छुन हतारिँदै थियो। चाल्स पुग्नपुग्न लाग्दा रातो चिप्लो माटो भएको उकालो आयो। फेरि मोटर फस्यो, अघि बढ्न सकेन। त्यहाँ हामीलाई सहायता गर्ने कुनै मोटर वा मान्छे थिएनन्। मोटर मै चाल्स छुने इच्छा अधुरै रह्यो। मोटर मोडेर हामी केही सदस्य तल्लो चाल्स गयौं त केही पैदल हिँडेर गुग्यौं।
सुन्दर चालीस ओटा घरहरूको बस्ती चाल्स, जीवनको पहिलो पाइला टेकेको भूमि चाल्स, जीवनका १२ वर्ष हुर्की बढेको भूमि चाल्स, पढ्नका लागि कैलाली टीकापुर जाँदा छुटेको चाल्स, उच्च शिक्षाको लागि काठमाडौं आउँदा छुटेको चाल्स, जीवन जिउन काठमाडौंलाई कर्मथलो बनाउँदा छुटेको चाल्स, जीवन धान्न कठिन हुँदा विदेशीदा छुटेको चाल्स। आज २७ वर्षपछि पाइला टेक्न लागेको चाल्स, जति उपेक्षा गरे पनि उस्तै माया, स्नेह, प्रेम दिन लालायित मेरो प्यारो चाल्स। तिमी जननी, तिमी देवी, तिमी माता, तिमी अप्सरा, त्यो भन्दा पनि माथि तिमी स्वर्गकै एक टुक्रा, मेरा लागि भनेर धर्तीमा झरेकी। हैन हैन तिमी त मेरो साक्षात् स्वर्ग! वा रे मेरो चाल्स! वा रे मेरो स्वर्ग!

मेरो चाल्समा टोल बाडा हुन्छ, अलिपर तोलबाडा, बीचमा मेरो धानबाडा, त्यसमाथि बायाँ (गहिरो) गैरबाडा, त्यसमाथि कुलमिड, सिरानमा ठूलाघर, त्यसमाथि (माथिको) मल्लो बाडा। घरसङ्गै जोडिएका धान खेत, नजिकै मूलको कलकल बग्ने पानी, सङ्गै जोडिएका ठूला-ठूला चट्टान, तिनै चट्टान मध्य दायाँतिरको एक टाकुरामा अवस्थित माता काली, मानौँ यो साक्षात् देव भूमि हो। बायाँ तिर माथि मुख धुने खोला तल आउँदै खेतको बीचबीच बगेर सिँचाइ दिइरहेको, त्यसको अलि तल तेलपेल्ने कोल अनि ‘कोलको’ डाँडो। दायाँ डाँडाको टुप्पामा समथर भाग भएको जमघट रमाइलो गर्ने थलो ‘अन्तेडाडाँ’। त्यसमा तल-तल लहरै स्वास्थ्य केन्द्र, अलि तल स्कुल, अझ तल वडा कार्यालय। त्यो सङ्गै जोडिएको बमहरूको बाक्लो बस्ती ‘तल्लोबाडा’। त्यो भन्दा तल बोहराहरूको बस्ती ‘बोरबाडा’, बोरबाडा भन्दा तल गाड। मेरो चाल्समा ठूलो खोलालाई गाड भनिन्छ। गाड हाम्रो औल हो। पारिलो ठाउँ। यहाँ माथि भन्दा उब्जनी बढी हुन्छ। गाडको पानीले घट्ट चलाइन्छ, जसले हाम्रो पिसानी सहज बनाउँछ। मेरो चाल्समा नजिकै औल छ, नजिकै लेक छ, त्यसैले त हाम्रो चाल्स स्वर्ग हो। मेरो प्यारो चाल्स! मानौँ यो सुन्दरताको खानी हो। साँच्चै स्वर्गबाट झरेको स्वर्गकै एक टुक्रा हो।
यहाँ प्रकृतिले दिएको सबथोक छ। ज्येष्ठ महिना दिउँसो पारिलो घाम लाग्छ, साँझ परेपछि चिसो बतास चल्छ। मूलको मिठो पानीले सामान्य खाना पनि स्वादिष्ट परिकार झैं लाग्छ। जति खाए पनि मजाले पच्छ। अलिकति माथि लेक छ। मजाले काफल ऐँसेलु, किनभडा फलेका भेटिन्छन्। सबथोक भएर पनि मेरो चाल्स हिजो आज रित्तो छ। अहिले त्यहाँ तेल पेल्ने कोल रहेन, अन्त्तेडाँडा सुनसान छ, उहिले जस्तो त्यहाँ जमघट हुँदैन, रमाइलो हुँदैन। जीवन जिउने अवसरको खोजीमा हुनेखाने सबै तराई झरिसके, म जस्तै काठमाडौं पुगिसके। त्यसैले होला मेरो चाल्स आज उपेक्षित छ।
जसोतसो तीनमास (हिउँद, गर्मी) मा मोटर त पुग्छ तर बिजुली पुगेको छैन। मिलेका खेत त छन्, खेती गर्ने मान्छे छैनन्। कुनै समय ढुङ्गाले बनेका ढुङ्गाकै छाना भएका घर जब कमेरो र रातो माटोले पोतिन्थे, आहा कति सुन्दर देखिन्थे। तर आज ती घर अनि त्यो बस्तीमा दिउँसै अँध्यारो जस्तो लाग्छ। किनकि ती भित्र बस्ने मान्छे छैनन्। तिनको हेरचाह गर्ने कोही छैनन्। रित्ता घर केही जीर्ण हुँदै छन्, केही भत्किँदै छन्। केही भत्केर भग्नावशेषमा परिणत हुँदैछन्। कठै मेरो चाल्स! हिजो कतिलाई जीवन, सहारा अनि आश्रय दियौं, आज आफै अलपत्रमा परेकोछौं, सहारा खोज्दैछौं। आज हामी देउताको खोजीमा तिमीसम्म पुग्यो भोली मात्र तिम्रो खोजीमा पुग्न सकौं। हे चाल्स! हे जन्मभूमि! हामीलाई सद्बुद्धि अनि शक्ति दिनु। तिमीलाई सम्झी भेट्न स्याहार्न, आड भरोसा, सहारा दिन आउन सकौं। तिम्रो जय होस्। हामी सबैको जय होस्। अस्तु! शुभम् भवन्तु!
यो पनि पढ्नुहोस्,