मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाउन ४ घण्टा लाग्ने, यात्रुको सडकमै बास - Chaitanya News
  • 2026-11-21
  • 07:45:09
  • शनिबार,मंसिर ०६, २०८३
  • मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाउन ४ घण्टा लाग्ने, यात्रुको सडकमै बास

    मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो पन्छाउन ४ घण्टा लाग्ने, यात्रुको सडकमै बास

    काठमाडौं-  मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ।

    गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ।

    माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन चलाउन सकिने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

    उनका अनुसार तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खसिरहेको छ।चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङका अनुसार पहिरो पन्छाउन अझै ४–५ घण्टा लाग्छ।

    मुग्लिनतर्फबाट आएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको उनले बताए। यता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको पनि उनले बताए।

    उनले साना सवारीका लागि हेटौंडा–पालुङ–नौबिसे, हेटौंडा–भीमफेदी–दक्षिणकाली हुँदै काठमाडौं आउने वैकल्पिक बाटो भए पनि ठूला सवारीलाई विकल्प दिन नसकिएको बताए।

    जसका कारण लामो दूरीका यात्रुहरू मर्कामा छन्। गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।