काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू राजतन्त्र वा पुँजीवादी व्यवस्थाका पक्षमा नभएको बताएका छन्।
एमालेका पूर्व महासचिव मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू समाजवादको पक्षमा रहेको बताए।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका वेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको ओलीले उल्लेख गरे। “नेपालको संविधानको प्रस्तावनामा हामीले जबजकै सचेत प्रयासमा समाजवादोन्मुख शब्दावली राखका हौं,” अध्यक्ष ओलीले भने, “हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौं। समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौं।”
उनले समाज रुपान्तरणका लागि अविचलित भएर लाग्नुपर्ने बताए। “कहिलेकाँही मोर्चामा हार खान सकिन्छ, तर आन्दोलनले हार्दैन र हामी अविचलितरुपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ। जबजको मार्गदर्शन पनि यही हो,” ओलीले भने।
उनले मुलुकमा भोकमरी र गरिबी कायमै रहँदासम्म विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने जिकिर गरे। आफू प्रधानमन्त्री हुँदा खान नपाएर र उपचार नपाएर कोही मर्नु नपरोस् भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प अघि सारेको उनको भनाइ थियो। मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) कै अनुशरणमा उक्त राष्ट्रिय सङ्कल्प आएको उनले बताए।
नेपाल ज्ञानभूमि र तपोभूमि भएको जिकिर गर्दै अध्यक्ष ओलीले पुर्खाको त्यो ज्ञान र योगदानको जगमा यस उर्बर र जीवनमय भूमि नेपाललाई समृद्ध बनाउन राजनीतिक दल र जनता लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत दिशाबोध पुस्तक विमोचन गरेकी छन्। फाउन्डेशनले यसको प्रकाशन गरेको हो।