स्वास्थ्य सेवामा समायोजन भएका कर्मचारीले ११ महिनादेखि पाएनन् तलब - Chaitanya News
  • 2026-11-16
  • 13:56:43
  • सोमबार,मंसिर ०१, २०८३
  • स्वास्थ्य सेवामा समायोजन भएका कर्मचारीले ११ महिनादेखि पाएनन् तलब

    स्वास्थ्य सेवामा समायोजन भएका कर्मचारीले ११ महिनादेखि पाएनन् तलब

    काठमाडौं – धनुषाको मिथिला बिहारी नगरपालिकामा स्वास्थ्यतर्फ ३३ कर्मचारीको दरबन्दी छ । तर, अहिले ४६ जना कार्यरत छन्, तीमध्ये ११ कर्मचारी संघबाट समायोजन भएर गएका हुन् ।

    संघबाट पठाइएका ११ कर्मचारीले २०७९ जेठयता तलब पाएका छैनन् । संघ सरकारले पठाएका कर्मचारी फाजिलमा रहेको र उनीहरूको नाममा स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट नै रकम नपठाइएकाले तलब दिन नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव बताउँछन् ।

    सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा दरबन्दीभन्दा ५१ जना बढी कर्मचारी काजमा छन् । संघबाट समायोजन भएर गएका उनीहरूले पनि लामो समयदेखि तलब पाएका छैनन् ।

    संघ सरकारले दरबन्दीभन्दा बढी भएका कर्मचारीको नाममा नपठाएका कारण तलब दिन नसकिने विरेन्द्रनगरको पनि दाबी छ ।

    यी दुई पालिकाजस्तै १६ जिल्लाका विभिन्न पालिकामा संघबाट समायोजना भई दरबन्दीभन्दा बढी भएका कर्मचारीले लामो समयदेखि तलब पाएका छैनन् ।

    झन्डै ११ हजार कर्मचारीको तलब अपुग
    समायोजनपछि झन्डै ११ हजार कर्मचारीलाई तलब अपुग भएको नेपाल स्वास्थ्यकर्मी युनियनको तथ्यांक छ । लामो समयदेखि तलब नपाउनेमा स्थानीय तहमा समायोजन भएका कर्मचारी छन् ।

    सरकारले २०७५ सालपछि तत्कालीन समयमा कर्मचारी कार्यरत र कमर्चारी राख्न चाहने स्थानीय तहको दोहोरो सहमतिमा समायोजन मिलान गरेको थियो ।

    तर, संघ सरकारले खटाएको स्थानमा नगएका, र गएपनि स्थानीय तहले पहिले नै पदपूर्ति गरेको भन्दै नराखेका कर्मचारी अहिले तलबविहीन बनेका हुन् ।

    प्रदेश लोकसेवा आयोग र स्थानीय तहहरूले मनोमानी ढंगले कर्मचारी नियुक्त गर्दा पनि संघबाट पठाइएका कर्मचारी फाजिलमा पर्न गएको र तलबबाट वञ्चित भएको युनियनका अध्यक्ष उज्वलकुमार शर्मा बताउँछन् ।

    “कतिपय अवस्थामा त स्वास्थ्यकर्मीहरू अध्ययन र विभिन्न बिदामा बसेको बेला स्थानीय तहहरूले पदपूर्ति गरिदिँदा स्थायी दरबन्दीकै कर्मचारी पनि संघले पठाएको तलब नपाउने अवस्था आएको छ,” शर्मा भन्छन् ।

    समायोजनका क्रममा स्थानीय तह र संघ सरकारको समन्वय नहुँदा कर्मचारीको तलब भत्तामा विकराल समस्या निम्तिएको उनको बुझाइ छ । चालु आर्थिक वर्षका लागि अहिले भएका सबै कर्मचारीलाई तलब पुर्‍याउन अनुरोध गर्दै ट्रेड युनियनहरू अर्थ र स्वास्थ्य मन्त्रालय धाइरहेको शर्मा बताउँछन् ।

     

    स्थानीय र संघ सरकारको समन्वयबिना आँखा चिम्लिएर कर्मचारी समायोजन गर्दा सरकारलाई गरुङ्गो आर्थिक भार थपिएको सरोकारवालाहरूको बुझाइ छ । स्थानीय तहमा पठाइएका कर्मचारी स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा नै पनि काजमा रहँदा दोहोरो तलब भुत्तानी गर्नुपर्ने अवस्था आएको बताउँछन् नेपाल स्वास्थ्यकर्मी संका अध्यक्ष रामजी घिमिरे ।

    “कतिपय स्थानीय तहमा पठाइएका कर्मचारी विभागमै बसेका छन्, उता खटाइएको स्थानीय तहमा नयाँ कर्मचारी राखेर संघबाटै तलब पठाउनुपर्ने अवस्था छ, यसले सरकारलाई दोहोरो भार थपेको देखिन्छ” घिमिरे भन्छन् ।

    मन्त्रालयका कर्मचारी समायोजनका विषयमा बलियो निर्णय नगर्दा स्वास्थ्य सेवामा नै समस्या निम्तिएको उनको बुझाइ छ ।