मेलम्ची खानेपानी काठमाडौंं बाह्रै महिना नियमित वितरण हुन्छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 11:39:09
  • सोमबार,मंसिर ०१, २०८३
  • मेलम्ची खानेपानी काठमाडौंं बाह्रै महिना नियमित वितरण हुन्छ : प्रधानमन्त्री

    मेलम्ची खानेपानी काठमाडौंं बाह्रै महिना नियमित वितरण हुन्छ : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रै महिना मेलम्ची खानेपानी काठमाडौंं उपत्यकामा नियमित वितरण हुने बताएका छन्।

    बुधबार प्रतिनिधिसभाका बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गर्दै आयोजनाको आवश्यक संरचना निर्माण गरि नियमित वितरणको सुनिश्चितता गरेको बताएका हुन्।

    उनले विभिन्न आयोजनामार्फत १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूत गरिएको पनि जानकारी दिए।

    ‘मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाहरुको मर्मतसम्भार सम्पन्न भई बाह्रै महिना नियमित पानी वितरणको सुनिश्चितता गरिएको छ, यो अवधिमा विभिन्न आयोजनामार्फत १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूत गरिएको छ,’ उनले भने।

    पहिलो पटक मेलम्चीको पानी उपत्यकाभित्र २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

    क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। तर सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गर्‍यो। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो।

    क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेर िमेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द गरेको थियो। उक्त मर्मतपछि अहिले उपत्यकामा नियमित मेलम्चीको पानी वितरण भइरहेको छ।