चैतन्य पाठशालाले गर्‍यो भवन शिलान्यास - Chaitanya News
  • 2026-07-16
  • 05:21:01
  • बुधबार,आषाढ ३१, २०८३
  • चैतन्य पाठशालाले गर्‍यो भवन शिलान्यास

    चैतन्य पाठशालाले गर्‍यो भवन शिलान्यास

    धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले सुविधा सम्पन्न भवन निर्माणका लागि शिलान्यास गरेको छ। बुधबार सनातन वैदिक परम्परा अनुसार भवन निर्माणका लागि शिलान्यास गरिएको हो।

    पाठशालाले २५ कोठे र ९ कोठे गरी दुई ओटा सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ। विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यार्थीहरूको सुविधा र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै भवन निर्माण गर्न थालिएको बताए।

    ‘विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै भन्दा पहिला भौतिक पूर्वाधार बलियो हुनुपर्छ। विद्यार्थीमैत्री संरचनाको निर्माण हुनुपर्छ’, उनले भने, ‘आधारभूत पूर्वाधार हुनुपर्छ। सफा र चिटिक्क परेका कक्षाकोठा हुनुपर्छ। बालबालिकाका लागि पर्‍याप्त खेल सामग्री हुनुपर्छ। हामी आफ्नै फुटसलसमेत निर्माण गर्दै छौं। स्विमिङ्ग पुलको निर्माण हुँदैछ। आफ्नै ठूलो सुविधासम्पन्न मिटिङ कक्ष पनि निर्माण गरिने छ।’

    उनले विद्यार्थीको संख्या बढाउने भन्दा पनि शिक्षा र विद्यालयको जग बलियो बनाउनु पर्ने बताए। ‘विद्यालयले विद्यार्थी खोज्ने होइन। विद्यार्थी र अभिभावकले राम्रो विद्यालय कुन छ भनेर विद्यालय खोज्ने अवस्था सिर्जना गर्नुपर्छ,’ जोशी भन्छन्।

    अहिले प्रतिस्पर्धाको समय भएकाले समय सापेक्ष शिक्षा प्रदान गर्नुका साथै आफूहरूले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको जोशी बताउँछन्। शिलान्यास समारोहमा पण्डित वासुदेव जोशी, विद्यालयका प्राचार्य हरि जोशी, संस्थापक प्राचार्य उदयप्रताप सिंह, सन्चालक पदम धानुक, टंकप्रसाद जोशी, खगेन्द्र पन्त, सहायक प्राचार्य कटक सिंह, पिटिए अध्यक्ष ईश्वर गिरी, व्यवस्थापन समिति सदस्य गोरख खाती र चैतन्य पतञ्जलि योग समिति सदस्यलगायतको सहभागिता रहेको थियो।

    चैतन्य पाठशाला शिक्षा र संस्कारको सङमको रूपमा मानव मूल्यमा आधारित शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो।