काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताएका छन्।
मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताए।
प्रमुख सचेतक लेखकले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताए। उनले कांग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताए।
उनले भने, ‘सरकारले यो कुरा पटकपटक भनेको पनि हो। निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ। निर्वाचन आयोगका कुराहरु सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन। नेपाली कांग्रेसका लागि यो कुरा सह्य हुँदैन। हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ। कुनैपनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा काँग्रेस छ, काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ। त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन।
प्रमुख सचेतक लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताए।